प्रथम शिवसताक्षी राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि प्रदेश नं. १ ले हात पार्यो


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २६ 20:49:26

35254-20180609204926.jpg

दूधे । शिवसताक्षीको दूधेमा भएको प्रथम शिवसताक्षी राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि प्रदेश नं. १ ले हात पारेको छ । प्रतियोगितामा प्रदेश नं. १ ले ८ स्वर्ण, ४ रजत र १ कास्यसहित उपाधि हात पारेको हो । जीतसँगै प्रदेश नं. १ ले नगद रु ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रदेश नं. ४ ले दोस्रो स्थान हासिल गरेको छ । उसले २ स्वर्ण, २ रजत र ५ काश्यसहित दोस्रो स्थानमा चित्त बुझायो भने नगद २० हजार प्राप्त गर्यो ।
त्यसैगरी प्रेदश  नं. ७ ले २ स्वर्ण, १ रजत र ३ काश्यसहित तेस्रो स्थानमा सम्म आइपुग्यो भने नगद १० हजार प्राप्त गर्यो ।

आयोजक शिवसताक्षी नगर सितोरियो कराँते संघ दूधे डोजोले १ स्वर्ण, १ रजत र ११ कास्य पदक जित्न सफल भयो ।
प्रतियोगितामा प्रदेश नं. १ को काता महिला तर्फ रोस्मा राई, ५० केजी तौल महिला कराँतेमा प्रिती बस्नेत, ५५ केजीतर्फ विद्याकला राई, ६१ केजीतर्फ जस्मिन राई र ६८ केजी माथीतर्फ मिसडोना राईले स्वर्ण पदक प्राप्त गरेका थिए ।

त्यसैगरी पुरुष ४५ केजीतर्फ महेश यादव, ६० केजीतर्फ सन्तोष राई, ६७ सम्म रोहिहाङ्ग दुनीले स्वर्ण पदक प्राप्त गरेका हुन् ।
प्रदेश नं. ४ काता पुरुषतर्फ विष्णु नेपाल, ५५ केजीतर्फ सुरज नेपालीले स्वर्ण पदक हासिल गरेका थिए ।

प्रदेश नं.७ ले ६७ केजी माथि पुरुषतर्फ सागर साही र ५० केजी माथि उमेर समूहमा सन्देश बास्कोटाले स्वर्ण पदक प्राप्त गरेका छन् ।
आयोजकका तर्फबाट कुमुतेमा शिक्षा राईले स्वर्ण पदक प्राप्त गरेकी आर्थिक सचिव सूर्य योङ्याले बताए । प्रतियोगितामा ७ प्रदेश र १ आयोजक गरी ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा जापनाको आकिनिमामा भएको ४५ राष्ट्र सहभागी १७ औं विश्व जुनियर क्याडेट यू–२१ कराँते प्रतियोगिता विजेता एस्तर राईलाई नगद १० हजारसहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ । त्यस्तै १९९४मा जापानको हिरोसिमामा सम्पन्न १२ औं एसियन खेलकुद प्रतियोगितामा नेपाललाई पहिलो अन्तराष्ट्रिय मेडल दिलाउन सफल सीता राई, नेपालको पहिलो एसियन रेफ्री राजु महर्जन, प्रशिक्षक जमुना राईलाई सम्मान गरिएको आयोजक समितिका अध्यक्ष प्रविन लिम्बु (पशुपतिले) बताए ।

त्यस्तै प्रतियोगिता सफल बनाउन ५० हजार राशी  सहयोग गर्ने सिंहविर थाम्सुहाङ्ग,२० हजार राशी सहयोग गर्ने दाता शिवकुमार  योङ्यालाई पनि सम्मान गरिएको थियो । प्रतियोगिताको समापनमा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, जिल्ला खेलकुद विकास समिति झापा उपाध्यक्ष भेषराज भण्डारी, नेपाली कांग्रेसका देउमान थेवे, नेकपा का राधाकृष्ण खनाल, शिवसताक्षी वडा नं. ९ का वडाध्यक्ष छविलाल पाठक लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा आयोजकका उपाध्यक्ष दर्शन तुम्बापोले स्वागत र सन्त फेउदेनले सञ्चालन गरेका थिए । प्रतियोगिता २५ र २६ गते सञ्चालन भएको थियो ।

प्रतिकृया दिनुहोस