नमूना ऐन हस्तान्तरण गरी झापाको सहकारीमा नयाँ अभियानको सुरुवात


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २६ 16:52:55

35246-20180609165255.jpg

अर्जुनधारा । झापा जिल्ला सहकारी संघले स्थानीय सरकारले बनाउने सहकारी ऐनको मस्यौदामा सहजीकरण सुरु गरेको छ । 

सहकारी विभाग र सहकारी महासंघले प्रस्ताव गरेको नमूना ऐनलाई आधार मानेर झापा जिल्ला सहकारी संघले स्थानीय ऐनको तर्जुमा गरी स्थानीय सरकारलाई हस्तान्तरण थालेको हो । 

आज शनिबार अर्जुनधारा नगरपालिकामा आयोजना गरिएको विशेष कार्यक्रममा संघले तयार गरेको सहकारी ऐनको नमूना नगरप्रमुख हरिकुमार रानालाई हस्तान्तरण गरिएको हो ।

स्थानीय सरकारले सहकारीको दर्ता, अनुगमन, नियमन, नियन्त्रण र खारेजीसम्मको अधिकार पाए पनि ऐनको अभावमा कार्यान्वयन हुन सकिरहेको छैन ।

सहकारी ऐन २०७४ मा स्थानीय तहले स्थानीय ऐन बनाएर सहकारी डेक्समार्फत् नियमन तथा नियन्त्रण गर्ने प्रावधान राखिएको छ । तर कार्यान्वयन नभएकाले जिल्ला संघले नै ऐनमा एकरुपता दिन एवम् ऐन बनाउन पनि सहजीकरण सुरु गरेको हो ।

तत्कालीन क्षेत्रीय समन्वय समितिका इन्चार्ज तथा जिल्ला संघका सदस्य टंकप्रसाद बरालको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सहकारी ऐनको नमूना हस्तान्तरण कार्यक्रम गरिएको हो । 

कार्यक्रममा नगरप्रमुख रानाले अर्जुनधारा नगर क्षेत्रभित्र सञ्चालन गरिएका ४६ वटै सहकारीले दर्ताका बखत रोजिएको विषयगत क्षेत्रमा सेवा सञ्चालन गर्न निर्देशन गरे ।  उनले भने ‘कृषि सहकारीको नाममा दर्ता हुने तर बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरु खारेजीमा पर्न सक्छन्, सच्याउनुस् ।’

अर्जुनधारा नगरलाई मात्र कार्यक्षेत्र बनाएर सञ्चालन गरिएका सहकारी संस्थाको प्रवद्र्धनका लागि आफूहरुले यथेष्ट सहयोग गर्ने बताउँदै उनले तर ती सबै विषयगत क्षेत्रमा काम गरिरहेको हुन आवश्यक रहेको अथ्र्याए ।

स्थानीय तहले बनाउनुपर्ने सहकारी ऐनको नमूना उपलब्ध गराएर जिल्ला संघले जनप्रतिनिधिलाई सहयोग पुर्याएकोमा धन्यवाद दिँदै नगरप्रमुख रानाले पूँजी कम भएका सहकारीहरु मर्ज गर्न सल्लाह पनि दिए । 

उनले भने ‘नगरका ११ वटा वडामा हरेक विषयगत सहकारीका एक–एकवटा मात्र संस्था बनाउन मेरो सुझाव छ, यसो भयो भने सहकारीको प्रवद्र्धनका लागि नगरपालिका पनि सक्रिय हुन सक्दछ ।’

नमूना ऐन हस्तान्तरण कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सहकारी संस्थाको विकासका लागि ब्राण्डिङको अवधारणा अघि सारेको बताउँदै ‘झापा कुप्स स्टेण्डर्ड’ पूरा गर्न सहकारी संस्थाहरुलाई आग्रह गरे । अबको सहकारी संस्थाहरु सानो समूहबाट सञ्चालित हुनाको साटो व्यवस्थित, व्यवसायिक एवम् वित्तीय हिसाबले सक्षम हुनुपर्नेमा उनको जोड थियो । 

जिल्ला संघका सञ्चालक सदस्य कृष्णप्रसाद मिश्रले सहकारी ऐन २०७४ का सकारात्मक नकारात्मक पक्षहरुको चर्चा गर्दै स्थानीय तहले निर्माण गर्ने ऐन सहकारी अभियानमैत्री हुनुपर्ने आवश्यकता औंल्याए । 

उनले केन्द्रमा सहकारी विकास बोर्ड रहेजस्तै सबै स्थानीय तहमा पनि विकास बोर्ड रहनुपर्ने र सोहीबाट काम अघि बढाउँदा जनप्रतिनिधिलाई सघाउ पुग्ने र अभियानमा पनि बल पुग्ने सुझाब दिए ।

कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष भैरव खड्काले जिल्ला संघले प्रस्ताव गरेको नमूना सहकारी अभियान मैत्रीजस्तै लागेकाले यसलाई तत्कालै अध्ययन गरी नगरपालिकाले बनाउने ऐनमा आवश्यक बुँदाहरु परिमार्जन गर्नुपर्ने बताए ।

अर्जुनधारा नगरपालिकाका सबैजसो वडाध्यक्षहरुको सहभागिता र अर्जुनधारा क्षेत्रका सहकारी अभियन्ताहरुको उपस्थितिमा भएका नमूना ऐन हस्तान्तरण कार्यक्रमको सञ्चालन कृष्णप्रसाद चापागाईंले गरेका थिए ।

प्रतिकृया दिनुहोस