सहकारीमा ठगी मुद्दा : आरोपीलाई अढाइ वर्ष जेल र सवा २ करोड जरिवाना


प्रकाशित मिति : २०७५ ,जेष्ठ , २५ 17:31:01

35218-20180608173101.jpg

लमजुङ l लमजुङकै एक प्रतिष्ठित सहकारीमा भएको ठगीको मुद्दामा अदालतले पूर्वप्रमुख कार्यकारी अधिकृतलाई अढाइ वर्ष जेल र २ करोड १७ लाख ९३ हजार ४ सय ८१ रूपैयाँ जरिवाना फैसला गरेको छ । कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) रामबहादुर बस्नेतविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले यस्तो फैसला गरेको हो ।

२ वर्षदेखिको सहकारीमा ठगीको मुद्दामा जरिवानाको २ करोड १७ लाख ९३ हजार ४ सय ८१ रुपैयाँ ३८ पैसा सहकारी संस्थालाई बिगो भराउन आदेश दिइएको छ। गत बैशाख ३० मा अन्तिम बहस भएपछिको लिखित बहस नोटका आधारमा न्यायाधीश आचार्यको इजलासले बिहीबार मुद्दा फैसला गरेको हो।

अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माका अनुसार बस्नेतकी पत्नी सहकारीका तत्कालीन आर्थिक विभाग प्रमुख चिजालाई भने सफाई दिइएको छ। उक्त मुद्दामा तत्कालीन न्यायाधीश अर्जुन अधिकारीको इजलासले पूर्वकार्यकारी अधिकृत बस्नेतलाई १ करोड २१ लाख रुपैयाँ र उनकी पत्नी चिजालाई १० लाख रुपैयाँ धरौटी लिएर २०७३ भदौ १६ मा रिहा गरेको थियो। जिल्ला अदालतले दिएको धरौटी आदेशलाई घटाएर पूर्वकार्यकारी प्रमुख बस्नेतलाई उच्च अदालत पोखराले २०७३ माघ २७ मा ५० लाख धरौटी राख्न आदेश दिएको थियो। पत्नी चिजाको धरौटी रकम यथावत् राख्न आदेश दिएको थियो।

कृषक जागरणको कार्यकारी प्रमुख पदमा रहँदा बस्नेत दम्पतीले ३ करोड ९५ लाख हिनामिना गरेको भन्दै बिगो असुल उपरसहित कारबाहीको माग गर्दै सहकारी संस्थाको सञ्चालक समितिले प्रहरीमा २०७३ वैशाख २४ मा निवेदन दिएको थियो। अदालतमा भने असार ५ मा मुद्दा दर्ता भएको थियो।

जिल्लाकै ठूलो र चर्चित मानिएको उक्त सहकारी ठगी मुद्दामा वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यादवप्रसाद पौडेल, मुद्दा जाहेरवालाका तर्फबाट अधिवक्ता लिलामणि पौड्याल, राजेश्वर अधिकारी र कृष्णप्रसाद अधिकारी साथै प्रतिवादी बस्नेतका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, अधिवक्ताद्वय ज्योति बानियाँ र प्रवल शर्माले बहस गरेका थिए। सहकारीका अध्यक्ष प्रेमबहादुर घलेले सञ्चालक समिति र लेखा समितिले स्वतन्त्र अडिटर सीए अभय पौडेलबाट गराएको लेखापरीक्षण प्रतिवेदनमा करिब ४ करोड रुपैयाँ हिनामिना भएको पाइएपछि उजुरी दिएको बताए। ‘यो मुद्दाको फैसलाले सहकारी क्षेत्र नियम कानुनका अधिनमा रहनुपर्छ भन्ने पाठ सिकाएको छ,’ घलेले भने।

दोषी ठहर्‍याइएका बस्नेतले आफूमाथि अन्याय भएको भन्दै मुद्दाको पुनरावेदन गर्ने प्रतिक्रिया दिए। ‘मैले मुद्दा पुनरावेदन गर्ने ३५ दिनको म्याद पाउँछु। म अन्यायमा परेको छु। जिल्ला अदालतको निर्णय मलाई चित्त बुझेन,’ उनले भने। मुद्दाको फैसलाको पूर्णपाठ आएपछि पुनरावेदनको लागि माथिल्लो तहको अदालत जाने उनले बताए। कृषक जागरण बचत तथा ऋण सहकारी संस्था जिल्लाका वित्तीय संस्थामै सबैभन्दा बढी आर्थिक बारोबार गर्ने वित्तीय संस्थामा दरिन्छ।

प्रतिकृया दिनुहोस