मेचीनगरमा सहकारी संस्थाले सुरु गर्यो चिया प्रशोधन कारखाना


डम्मरु बराल, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २४ 15:20:28

35184-20180607152028.jpg

मेचीनगर । मेचीनगर ५ मा रहेको सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाले १ करोड १६ लाख रुपैयाँको लागतमा चिया प्रशोधन कारखाना निर्माण कार्य शुरु गरेको छ ।

हरियो चियापत्तीको उचित मूल्य नपाएपछि संगठित बनेका सुरेन्द्रनगर क्षेत्रका चिया किसानहरु सहकारी मार्फत चिया प्रशोधन कारखाना निर्माणमा जुटेका हुन् । 

सहकारी मन्त्रालय, सहकारी विभागबाट ६९ लाख ९० हजार रुपैयाँ अनुदान स्वीकृत भएपछि किसानको ४६ लाख १० हजार गरी कुल १ करोड १६ लाख रुपैयाँको लागतमा उक्त कारखाना निर्माण कार्य शुरु गरिएको हो ।

हरेक वर्ष हरियो चियापत्तीको सिजन शुरु भएपछि मूल्यको विषयमा उद्योगपति र किसानहरुबीच संघर्ष शुरु हुने गरे पनि किसानले कहिल्यै न्यायोचित मूल्य पाउन सकेका छैनन् । 

शुरुमा ३० रुपयाँसम्ममा बेचेको हरियो चिया पत्ती वर्षको अन्त्यतिर ७ रुपयाँमा बेच्नु पर्छ । उत्पादन राम्रो हँुदा उद्योगपतिले मूल्य घटाउने र उत्पादन कम भए मूल्य बढाउने परिपाटी पुरानो भइसकेको छ । 

‘ग्रेडिङमा एकरुपता छैन’, सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष दिलिपजङ सुब्बाले भने ‘गे्रडिङ गर्ने तरिका ठीक नहुँदा किसान ठगिएका छन् । त्यसैले ठूलो संघर्ष पछि आपm्नै चिया कारखाना निर्माण गर्न जुटेका हौँ ।’ 

सरकारले चिया प्रशोधन कारखाना निर्माणमा आर्थिक सहयोग गरेको अध्यक्ष सुब्बाले बताए । तर, किसानहरुको जीवनस्तर उकास्ने हो भने योसँगै नेपालमा चियाको अक्सन बजार हुन अति आवश्यक रहेको जनाइएको छ ।

यदि अक्सन बजार भएन भने कारखाना निर्माणमा अनुदान दिए पनि किसानको जीवनस्तर उक्सन सक्दैन । त्यसैले अक्सन बजारको लागि सरकारले गम्भिर भएर सोच्न जरुरी रहेको सुब्बाको भनाई छ । 

सहकारी संस्थाले एक वर्ष अघि करखाना निर्माणका लागि १० कठ्ठा जमिन खरिद गरेको थियो । ‘हाम्रो १० वर्ष अघि देखिको फ्याक्ट्री बनाउने सपना पूरा हुने भएको छ’ संस्थाका सचिव कनकबहादुर कार्कीले भने ‘तर, सञ्चालन गर्दा थप चुनौतीको सामना गर्नुपर्ने हुन्छ । 

हामी साना किसानहरुमात्र सहकारीमा छौँ त्यसैले आर्थिक संकट सधै भइरहन्छ । फ्याक्ट्री निर्माण पछि प्रशोधन र बजारीकरणमा निक्कै चुनौती देखेका छौँ ।’  

सचिव कार्कीका अनुसार त्यसको तयारीमा समेत समिति बेलैदेखि जुटेको छ । आपm्नो उत्पादन अग्र्यानिक, अर्थोडक्स र ग्रीन टी हुने कार्कीले बताए ।  

सहकारी संस्थाले पछि बजारीकरणमा आउन सक्ने सम्भावित समस्याहरुका बारेमा समेत विभिन्न क्षेत्रमा छलफल गरिरहेको छ । १०० फुट लम्बाई र ४० फुट चौडाई क्षेत्रफल रहेको उक्त फ्याक्ट्री निर्माणको ७० प्रतिशत कार्य पूरा भएको निर्माण समितिका उपाध्यक्ष रामप्रसाद ढुंगानाले बताए । उनले निर्माण कार्य असार मसान्तभित्र सकिने बताए ।

निर्माणाधिन चिया प्रशोधन कारखानाको केही दिन अघि प्रदेशसभाका सदस्य गोपालचन्द्र बुढाथोकीले अवलोकन गरेका थिए । चिया क्षेत्रका विज्ञहरुले समेत स्थलगत अनुगमन गरेर सुझाव दिइरहेको समितिले जनाएको छ । 

सरकारले पछिल्लो समय किसान र उद्योगपति बीच मूल्यको लडाईंलाई हल गर्न चिया किसानहरुलाई चिया प्रशोधन निर्माणका लागि अनुदान दिन थालेको हो । 

प्रतिकृया दिनुहोस