चारपानेमा एनएमसीको आँखा शिविर, ३०० ले लिए सेवा


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २२ 18:23:06

35122-20180605182306.jpg

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्नो नयाँ कार्यालय चारपानेमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । रजत वर्ष मनाइरहेको संस्थाले यसवर्ष आँखा शिविरलाई अभियानको रुपमा सञ्चालन गर्दै आएको छ ।
 
आँखा शिविर सञ्चालन गर्दै मोतियाबिन्दुको पहिचान गरी पूर्ण तथा आंशिक सहुलियतमा अपरेसन गर्ने संस्थाले लक्ष्य लिएको छ । यसैक्रममा मंगलबार संस्थाको नयाँ सम्पर्क कार्यालय चारपानेमा सञ्चालित आँखा शिविरमा ३०० भन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए । 

बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोग तथा एनएमसी बिर्तामोड कार्यालयको स्थानीय व्यवस्थापनमा आँखा शिविर सम्पन्न भएको हो । शिविरमा ३० जनामा मोतियाबिन्दुको पहिचान गरिएको थियो । 

एनएमसी बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक सदस्य डम्बरबहादुर बस्नेत, भगवती घिमिरे मैनाली, समितिका सदस्य सचिव जीवनमणि कटुवाल, बिर्तामोड आँखा अस्पतालका नेत्ररोग चिकित्सक रज्जाक खानलगायतको उपस्थिति थियो । 

कार्यक्रमको सञ्चालन एनएमसी बिर्तामोड कार्यालयका प्रमुख कमलप्रसाद कट्टेलले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस