५० कृषकलाई ३५ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २२ 08:43:14

35104-20180605084314.jpg

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ५० कृषकलाई ३५ लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको छ । बिर्तामोड-८ स्थित गरामनीमा आइतबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले घरेलु विषादी निर्माणका लागि कृषकलाई कृषि सामग्री वितरण गरेको हो ।

‘मेयर विषादीमुक्त नगर कार्यक्रम’ अन्तर्गत बिर्तामोड २, ६, ७, ८, ९ र १० नम्बर वडाका कृषकलाई नगरपालिकाको शत प्रतिशत अनुदानमा जैविक तथा प्राङ्गरिक विषादी निर्माणका लागि आवश्यक कृषि सामग्री वितरण गरिएको हो ।

नगरपालिकाले बिर्तामोड नगरलाई बिषादीमुक्त बनाउने अभियान अन्तरगत पहेंलो पासो, हरित घर, प्लाष्ट्रिक मल्चिङ, जैविक तथा वनस्पति विषादी निमको झोल, पुतली पासो, हाते पन्जा, कम्बाइन पावर स्पे्रयर र घरेलु बिषदी निमार्णकालागि पाँच सय लिटर क्षमताको प्लाष्टिकको टयाड्ढी लगायत सामग्री वितरण गरेको हो । कुल ३५ लाख रुपैयाँ बराबरको कृषि सामग्री कृषकलाई वितरण गरिएको नगर कृषि अधिकृत राजेन्द्र कडरियाले जानकारी दिए । उनले कृषकलाई सामग्री उपयोग बारे १३ दिने तालिम पश्चात सामग्री वितरण गरिएको बताए ।

कार्यक्रममा कृषि सामाग्री पाउने कृषकका तर्फबाट अमरबहादुर पौडेलले किसानले उत्पादन गरेको खाद्यान्नको भण्डारणको सुविधाका बारेमा पनि नगरपालिकाले सोच्नुपर्ने बताए । त्यस्तै, इन्दिरा पाण्डेले तालिममा सिकेका कुरा आफूमा मात्र सीमित नराखी छरछिमेकमा बाँड्नुपर्ने बताइन् ।

कार्यक्रममा बिर्तामोड २, ३, र १ का वडाध्यक्ष क्रमश नगेन्द्र संग्रौला, भोजराज सिटौला र अग्नि पाण्डेले धारणा राखेका थिए । बिर्तामोड कृषि शाखा प्रमुख राजेन्द्र खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख धुव्र शिवाकोटी रहेका थिए ।

उनले नगरको अनुदानमा वितरण गरिएको सामाग्रीलाई सहि तबरबाट उपयोग गरी कृषिमा फड्को मार्नका लागि कृषकलाई अनुरोध गरे । कार्यक्रमको सञ्चालन नगर कृषि अधिकृत कडरियाले गरेका थिए ।

प्रतिकृया दिनुहोस