बिर्तामोडमा गर्भवती महिलालाई क्यालसियम चक्की निःशुल्क प्रदान गर्ने कार्यक्रम सुरु 


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २० 19:17:14

35063-20180603191714.jpg

बिर्तामोड । आमाको गर्भबाटै बच्चाले आवश्यक तत्वहरु पाउन सकुन् भन्ने ध्येयले सम्भवतः नेपालमै पहिलो अभ्यासका रुपमा गर्भवती महिलालाई क्यालसियम चक्की निशुल्क प्रदान गर्ने अभियान आजबाट सुरु गरिएको छ । 

बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख महिला सुरक्षा कार्यक्रम मार्फत् नगरपालिका भरिका गर्भवती महिलालाई क्यालसियम चक्की निशुल्क वितरण गर्ने अभियान सुरु गरेको हो । गत नगरपरिषद् बैठकले निर्णय गरेको कार्यक्रम अन्तरगत हालसम्म ८० जना गर्भवती महिलाले सेवा लिइसकेका छन् । 

आज अनारमनी स्वास्थ्य चौकीमा आयोजित विशेष कार्यक्रममार्फत् नगरपालिका अन्तरगतका आठबटै स्वास्थ्य केन्द्रलाई औषधी हस्तान्तरण गरिएको छ । यसैगरी कार्यक्रमकै बीच केही सेवाग्राही गर्भवती महिलाहरुलाई पनि नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंले क्यलसियम चक्की प्रदान गरिन् ।

नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले मन्त्रालयबाट प्राप्त हुने आइरन चक्कीको बजेटमा नगरपालिकाले रकम थप गरी क्यालसियम चक्की पनि निशुल्क उपलब्ध गराउन थालिएको जानकारी दिए ।

उनले नेपाल सरकारले पनि निशुल्क प्रदान गर्न नसकेको क्यालसियम चक्की उपलब्ध गराउन नगर कार्यपालिका दृढ रहेकोले सेवाग्राहीलाई निश्चिन्त हुन आग्रह गरे । 

नगरप्रमुख शिवाकोटीले बिर्तामोड नगरपालिकासँगै जोडिएका छिमेकी स्थानीय तहका छिमेकी वडाका गर्भवती महिलाका लागि पनि यो सेवा लिन रोकतोक नगरिने बचनवद्धता प्रकट गरे । 

कार्यक्रमको प्रमुख आतिथ्य गरिरहेकी उपप्रमुख प्रसाईले महिला सुरक्षा कार्यक्रम सुरु गर्नुपर्ने पृष्ठभूमि सुनाउँदै भावी दिनमा आमाको गर्भमा रहेका कुनैपनि बालबच्चा कुपोषणबाट प्रभावित हुन नपरोस् भनेर क्यालसियम प्रदान गर्ने कार्यक्रम बनाएको प्रष्ट पारिन् । 

उनले नगर क्षेत्रका बाटो, कल्भर्ट, पूल, बिजुली बिस्तारलाई मात्र विकास ठान्न नहुने बरु जनस्वास्थ्य राम्रो हुनु चाहिँ ठूलो विकास हो भन्ने सोचको प्रत्याभूति गराउन प्रारम्भमा गर्भवती महिलालाई क्यालसियम चक्की प्रदान गर्ने कार्यक्रम ल्याएको सुनाइन् । 

नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख दिपेन्द्र चौधरीले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत पशुपति खतिवडाले जनप्रतिनिधिले काम सुरु गरेपछि बिर्तामोड नगरपालिकामा सेवारत महिला स्वास्थ्य स्वयम् सेविकाहरुले थोरै भएपनि पारिश्रमिक पाउन थालेको सुनाए । 

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नगेन्द्र संग्रौला, महेन्द्ररत्न माविका प्रधानाध्यापक मोहनबहादुर पाहिमलगायतले आफ्ना विचार राखेका थिए । 

प्रतिकृया दिनुहोस