“उपयुक्त सरसफाई सुविधा नभएको विद्यालय यातना–गृहजस्तै”


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , १५ 07:54:34

34858-20180529075434.jpg

सन्दर्भ : अन्तर्राष्ट्रिय महिनावारी व्यवस्थापन दिवस 

झापा । कचनकवल गाउँपालिकामा पर्ने मोती माध्यमिक विद्यालयमा अध्ययनरत ६०० हाराहारी विद्यार्थीका लागि दुई वटामात्र चर्पी छन् । १२८ जना छात्राहरु महिनावारी उमेर समूहका छन् । विडम्वना, विद्यालय समयमा न उनीहरुको स्यानिटरी प्याडमा पहुँच छ, न त सफा र उपयुक्त चर्पी नै । “महिनावारीको समयमा कहिलेकाहीं दिनभरि एउटै प्याड लगाएर पनि बस्नुपर्ने हुन्छ”, कक्षा ९ मा अध्ययनरत निशा राजवंशी भन्छिन् ।
 
कक्षा ९ कै डोलमाया राजवंशी विद्यालयमा दिसा लाग्दा घरमा पुग्छिन् । “स्कूलमा दिसा गर्ने चर्पी नै छैन, घरमा नगएर के गर्नु ?”, उनको भनाई छ, “महिनावारी भएको बेलामा स्कूलमा बस्नै सकिँदैन । हाजिर गरेपछि घरमा जान्छौं ।”

शिक्षिका देवकी राजवंशीलाई समेत महिनावारीको समयमा निकै कष्ट हुन्छ विद्यालयमा । गाउँमा प्याड किन्न पनि पाइँदैन, न त विद्यालयमा प्याड फेर्ने ठाउँ नै छ । “हामीले विद्यालयमा रहेको एउटा चर्पी शिक्षिकाका लागि बन्द गरेर राखेका छौं”, उनी भन्छिन्, “महिनावारी भएको समयमा प्याड फेर्नका लागि त्यसको प्रयोग गर्छौं ।”

दुर्गम भेकमात्र होइन, झापाको सदरमुकाम भद्रपुर नगरपालिका, वडा नं. २ का छात्रा कल्पना र बसन्ती लिम्बूको पनि समस्या उस्तै छ । “विद्यालयमा स्यानिटरी प्याड फेर्ने ठाउँ नै छैन”, हिमाली माविमा अध्ययनरत लिम्बू भन्छिन्, “चर्पीमा गएर प्याड फेर्ने हो भने पनि पुरानो प्याड विसर्जन गर्ने ठाउँ नै छैन ।”

सार्वजनिक विद्यालयमा चर्पी नाजुक

झापा जिल्लाभर नै सार्वजनिक विद्यालयहरुको चर्पीको अवस्था ज्यादै कमजोर छ । विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि २०७४ मा विद्यालय सरसफाई उत्कृष्ट हुनका लागि ४० छात्रका लागि एक चर्पी र २५ छात्राका लागि एक चर्पीको व्यवस्था हुनुपर्ने प्रावधान छ । तर, झापाको एउटा पनि विद्यालयमा यस मापदण्ड अनुसारको चर्पी छैन । 

पुराना, श्रोत केन्द्र भएका र दश जोड दुई कक्षा सञ्चालन गरिएका विद्यालयमा दिसा गर्नका लागि एउटा पनि चर्पी छैनन् । यसैमध्येको एक पर्छ गौरीगञ्ज गाउँपालिकाको गौरीगञ्ज माध्यमिक विद्यालय । जिल्ला शिक्षा कार्यालयको श्रोत केन्द्रसमेत रहेको सो विद्यालयमा छात्रहरुले दिसा गर्नका लागि एउटा पनि चर्पी छैन । 

१ हजार ३० विद्यार्थी रहेको गौरीगञ्ज माध्यमिक विद्यालयमा छात्राहरुका लागि पुरानो यूरिनल र एउटा चर्पीको व्यवस्था छ । यूरिनल पुरानो र फोहर छ । 
सरसफाई दूत र वर्तमान अर्थमन्त्रीको गृहनगर गौरादहको भद्रकाली माध्यमिक विद्यालयमा विद्यार्थीलाई दिसा पिसाव गर्नका लागि एउटा पनि चर्पी छैन । प्रधानाध्यापक रेवलाल श्रेष्ठले नयाँ शौचालय बनाउने तयारी भइरहेको बताए । विद्यालयमा रहेको पुरानो शौचालय मर्मत सम्भार भइरहेको छ । 

एक सर्वेक्षण अनुसार झापा जिल्लामा महिनावारी उमेर समूहका ४७ प्रतिशत छात्राहरु महिनावारीको समयमा विद्यालयमा अनियमित हुन्छन् ।
विद्यालयमा उपस्थितमध्ये पनि उचित सरसफाई सुविधाको कमीका कारण शारीरिक, मानसिक र संवेगात्मक पीडा भोग्नुपरेको र प्रजनन् स्वास्थ्य नै जोखिममा पर्न सक्ने बताउँछिन् डाक्टर विद्या पोखरेल । गौरीगञ्ज माध्यमिक विद्यालयमा छात्राहरुसँगको छलफलमा डा. पोखरेलले महिनावारी महिलाको मात्र नभई पुरुष र सिंगो समुदायको सरोकारको विषय भएको बताइन् । 

सरसफाई सुविधाका लागि छात्राहरुको ज्ञापनपत्र

यसै सन्दर्भमा, अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारी झापाका सार्वजनिक विद्यालयमा अध्ययनरत छात्राहरुले विद्यालयमा सरसफाइमैत्री सरसफाई सुविधा निर्माणका लागि विद्यालय व्यवस्थापन समिति, सम्बन्धित वडाअध्यक्ष र प्रधानाध्यापकलाई लिखित मागपत्र बुझाएका छन् । 

शिक्षिकालाई सल्लाहकार राखी उनीहरुले महिनावारी सरसफाई व्यवस्थापन सरोकार समूहसमेत गठन गरे । “अब त अति भयो”, मोती माध्यमिक विद्यालयमा गठन गरिएको सरोकार समूहकी संयोजक अनामिका दंगाल भन्छिन्, “त्यसैले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई लिखित मागपत्र पेश गरिएको हो ।”

देवीका राजवंशी समूहकी सल्लाहकार शिक्षिका छिन् । “जुन स्कूलमा छात्राहरुले महिनावारीको समयमा प्याड फेर्ने ठाउँ हुँदैन, दिसा पिसाव गर्ने व्यवस्था हुँदैन”, देवीका भन्छिन्, “त्यो, वास्तवमा छात्राहरुका लागि विद्यालय होइन, यातनागृह हो ।”

मोती माविमा पुगेकी जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मीना पराजुलीले छात्राहरु महिनावारी सरसफाई व्यवस्थापन र विद्यालय शौचालयको बारेमा चुप लागेर बस्न नहुने बताइन् । “मौन बस्नु भनेको झनै पछाडि पर्नु हो”, उनले भनिन्, “अब त अति भयो, त्यसैले सबै मिलेर मौनता तोड्नुपर्छ ।”

प्रधानाध्यापक उत्रनारायण राजवंशीले वडा, गाउँपालिका र जिल्लास्थित सरोकारवालासँग समन्वय गरी विद्यालयको सरसफाई सुविधा वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे । 

गौरादहका जनता माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय, प्रगति माध्यमिक विद्यालय र मोती माध्यमिक विद्यालयका छात्राहरुले सरसफाई कार्यविधि अनुसारको सरसफाई सुविधाको माग गर्दै ज्ञापनपत्र पेश गरे । 

यसैगरी शिव माध्यमिक विद्यालय बालुबाडी, हिमाली मावि पृथ्वीनगर, आदर्श मावि कनकाईका छात्राहरुले समेत महिनावारीमैत्री सरसफाई सुविधाका लागि विद्यालयमा ज्ञापनपत्र पेश गरे । 

गौरीगञ्ज मावि, खजुरगाछी मावि र आदर्श मावि कोरोबारीका छात्राहरुले सरोकार समूह गठन गरी विद्यालय प्रशासनलाई ज्ञापनपत्र पेश गरे । गौरीगञ्ज गाउँपालिका, वडा नं. ३ का अध्यक्ष मखना महतोले विद्यालय सरसफाई सुविधा व्यवस्थापनका लागि आवश्यक साधन श्रोतको व्यवस्था गर्ने बताए । 

सामाजिक रुपान्तरणको कोसेढुंगा : सरोकारवालाहरु 

खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा क्रियाशील सरोकारवालाहरुले बालिकाहरुले गरेको प्रयासलाई सामाजिक रुपान्तरणको कोसेढुंगाको संज्ञा दिएका छन् । विद्यार्थीहरुले खुलेर महिनावारीको बारेमा कुरा गर्नु र विद्यालय प्रशासनलाई सरसफाई सुविधाको सूचीसहित मागपत्र पेश गर्नु सामाजिक रुपान्तरणको एउटा महान् खुड्किलो हो ।

जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति झापाका उपाध्यक्ष एवम् जिल्ला समन्वय समितिका उपप्रमुख मीना पराजुलीको भनाई छ, “लुकेर बसेका सामाजिक सवालहरुमाथि छलफल र बहस चलाउन सकेमा मात्र सामाजिक कुरुति र बेथितिहरुको अन्त्य हुन सक्छ ।”

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्मा झापाका विद्यालयहरुले सरसफाइलाई प्राथमिकतामा पार्न नसकेको बताए । “दुई चारलाई अपवाद मान्ने हो भने सबैजसो विद्यालयमा पर्याप्त चर्पी छैनन्, न त भएका चर्पीको प्रयोग र उचित मर्मतसम्भार नै भएको छ ।” । शर्मा भन्छन्, “विद्यालय सम्पूर्ण समाजको सरोकारको विषय बनाउने अभियानमा छात्राहरुको यस किसिमको प्रयासले गहन महत्व राख्छ ।”

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका रुद्र्रबहादुर न्यौपाने गाउँपालिका, नगरपालिका र सामाजिक संस्थाहरुको निरन्तर सहजीकरण र सहयोग भएमा सामाजिक विभेदहरुमा कमी आउने बताउँछन् ।

सगरमाथा सामुदायिक विकास केन्द्रका अभियानकर्ता सोमनाथ आचार्यले महिनावारी व्यवस्थापनको विषयलाई मानवअधिकारको गम्भीर सवालको रुपमा लिंदै सम्पूर्ण विकासका क्रियाकलापसँग जोडेर लैजानुपर्ने बताउँछन् । 

प्रतिकृया दिनुहोस