रोहिंग्या शरणार्थीहरु काम खोज्दै शिविर बाहिर 


शम्भु कट्टेल, प्रकाशित मिति : २०७५ ,जेष्ठ , ९ 08:27:12

34672-20180523082712.jpg

काठमाडौ । म्यान्मारको रखायन प्रान्तबाट विस्थापित भई नेपाल आएका रोहिंग्या शरणार्थीहरू काम खोज्दै काभ्रेदेखि गोरखासम्म पुगेका पाइएका छन् । 

रोहिंग्या समुदायका अगुवाले नै राजधानी काठमाडौंलगायत काभ्रे र गोरखासम्म पुगेर आफूहरूले काम गरेको स्वीकारेका हुन् ।

उनीहरू गैरकानुनी ढंगले काम खोज्दै शिविरबाट बाहिरिएका हुन् । गृह मन्त्रालय र अध्यागमन विभागले भने रोहिंग्याहरूले काम गरेको बारे थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

कपनस्थित शिविरमा बस्दै आएका रोहिंग्या समुदायका अगुवा जाफर आलमले आफ्नो समुदायका व्यक्तिहरू काम गर्न बाहिर जाने गरेको स्विकारे । ‘मेरो टोलीले काभ्रेको लामीडाँडामा घर बनाउने काम गर्दैछ’ आलमले भने, ‘हामी दैनिक ज्यालादारीमा मजदुरी काम गर्छौं।’

काठमाडौँको कपनमा झण्डै ३३८ रोहिंग्या मुस्लिमहरू शिविर खडा गरेर बस्दै आएका छन् । उनीहरूमध्ये अधिकांश काभ्रेको लामीडाँडा, गोरखा र काठमाडौंका विभिन्न स्थानमा मजदुरका रुपमा घर बनाउने र अन्य काम गर्दै आएको पाइएका छन् ।

कुल ३३८ मध्ये नेपालस्थित शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्च आयोग (यूनएचसीआर) ले २४३ जना रोहिंग्या शरणार्थीलाई प्रमाणीकरण गरेको छ । बाँकी ९५ जनालाई प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

युएनएचसीआरले म्यानमारबाट आएका रोहिंग्याका ससाना छोराछोरीको शिक्षा र स्वास्थ्यमा केही रकम खर्चिंदै आएको छ ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले गैरकानुनी आप्रवासीहरूले कुनै पनि काम गर्न नपाउने बताए । सुवेदीले भने, ‘रोहिंग्यालगायत गैरकानुनी आप्रवासीको गतिविधिहरू निगरानीमा राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छौं । काम गर्दै गरेको पाइए नियन्त्रण गरेर कानुन बमोजिम कारवाही गछौं ।’

अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले युएनएचसीआरको रिपोर्टले बर्मेलीहरू आएको सूचना दिएको बताए । उनले गैरकानुनी आप्रवासीले काम गर्न नपाउने जिकिरसमेत गरे ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका अधिकारीहरूले यसअघि रोहिंग्या समुदायका व्यक्तिहरूलाई अत्यावश्यक काम बाहेक शिविरबाट बाहिर ननिस्कन र अनावश्यक व्यक्तिहरूसँग कुरा नगर्न सुझाव दिएको थियो । 

गैरकानुनी ढंगले नेपाल भित्रिएका रोहिंग्याहरू कपनमा दुईवटा शिविर संचालन गरी बसोबास गर्दै आएका छन् । तीमध्ये झण्डै १०० जना रोहिंग्या सन् २०१७ मा नेपाल प्रवेश गरेको सुरक्षा स्रोतहरूले बताएका छन् ।

– अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस