भारतीय पाठ्यपुस्तक पढाएको भन्दै सूर्योदय बोर्डिङमा तालाबन्दी


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , २ 17:39:40

34481-20180516173940.jpg

झापा । झापाको दमक स्थित सूर्यदय बोर्डिङ स्कूलमा युवा संघ नेपालले तालाबन्दी गरेको छ । नेपालको संविधानलाई नै चुनौती दिँदै विद्यालयले भारतीय प्रकाशनको पाठ्य सामाग्री पढाइरहेको तथ्य सार्वजनिक भएपछि युवा संघले बोर्डिङ स्कूलमा तालाबन्दी गरेको हो ।

स्कूलमा प्रधानमन्त्री, राष्ट्रपति र राजधानी भनेर सबै भारतिय नेता र ठाउँका बारेमा लेखिएको पाठ्यपुस्तक सो बिद्यालयले पढाइरहेको तथ्य फेला परेको थियो ।

स्कूलले कक्षा १ देखी ५ सम्म पढाई हुने दुई वटा पुस्तक भारतीय प्रकाशन कम्पनीको पढाई रहेको छ । यो बिद्यालयमा पढाई हुने कक्षा १ को न्यू एजुकेशन कन्भर्ससेन नामको पाठ्य पुस्तकमा त हाम्रो देशका राष्ट्र प्रमुख, हाम्रो देशका राजधानी र प्रमुख शहर भन्दै भारतीय नेता र ठाउँका बारेमा लेखिएको पाठ्य सामाग्री भेटिए पछि अभिभावकले त्यसको बिरोध गरेका छन् । दमक नगरपालिका वडा नं. ६ निवासी सन्तोष पौडेलले बिद्यालयको शोषण र ज्याद्धती बिरुद्ध बिद्यालय प्रशासनलाई पटक पटक कुरा गर्न खोज्दा कुरै सुन्न नमानेकोे बताए । उहाँका तीन छोरा छोरी सो स्कूलमा अध्ययरत छन् ।  

नेपाली राष्ट्रियता माथि गम्भीर आँच पुग्ने गरी भारतीय राष्ट्रियताको पाठ पढाएकाले विद्यालयमा तालाबन्दी गरेको युवा संघका जिल्ला अध्यक्ष शम्भु भण्डारीले बताए । युवा संघले विद्यालयका प्रिन्सिपल र प्रशासन कक्षमा ताला लगाएको छ । युवा संघले विद्यालयकी प्रिन्सिपल म्याकडिलिङ सिंहलाई नेपालको झण्डा चिनाउँदै उक्त झण्डा हस्तान्तरण गरेको थियो ।

बिद्यालयले यसरी गलत पाठ्य सामाग्री रहेको पाठ्य पुस्तक यहाँ अध्यनरत बिद्यार्थीलाई पढाएपछि नेपाल बिद्यार्थी सघं, अखिल नेपाल राष्ट्रिय बिद्यार्थी यूनियन क्रान्तिकारी, परिवर्तनका लागी यूवा लगायत संघ संगठनले त्यसको बिरोध गरेका छन् । नेपाल बिद्यार्थी सघं झापाका सभापति रोषन बिष्टले नेपालको राट्रियतामै असर पुग्ने गरि बिद्यालयले पठन पाठन गरिहरकोमा सघंको गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको बताए । उनले बिद्यालयले सार्वजनिक रुपमा माफी नमागे आन्दोलन नै गर्ने चेतावनी दिए ।

नगरपालिकाले प्रकाशन गरेको राजपत्रको शिक्षा सम्बन्धिको परिच्छेद ६ को ३ दशमलब ३ नम्वर बँुदामा उल्लेख भए अनुसार स्थानीय तहका बिद्यालयमा पठन पाठन हुने पाठ्यक्रम मन्त्रालयले निर्धारण गरे बमोजिम हुने छ भनेर स्पष्ट लेखिएपनि सूर्यदय इंङलिस बोर्डिङले राजपत्रकै धज्जी उडाएको छ ।

यसरी नियम विपरित पाठ्यपुस्तक पठाउने बिद्यालयको दर्ता समेत खारेज गर्न सकिने नगरपालिकाले जनाएको छ । नियममा दर्ता नै खारेज गर्न सक्ने अधिकार स्थानीय सरकारसँग भएको पनि बिद्यालयलाई सोधिएको स्पस्टिकरणका आधारमा थप थप कार्वाही अघि बढाइने नगर शिक्षा अधिकृत शालिग्राम काफ्ले जानकारी दिए ।

दमक नगरपालिकाले माग्यो स्पष्टिकरण
बिना स्विकृती भारतिय पाठय् सामाग्री रहेका पुस्तक पठन पाठन गराएको सार्वजनिक भए पछि दमक नगरपालिकाले सुर्योदय इङलिस बोर्डिङ स्कुलसँग स्पष्टिकरण माग गरेको छ ।

नगरपालिकाले स्पष्टिकरण माग गरेपछि बिद्यालय प्रशासनले मंगलबार भारतिय प्रकाशनका पुस्तक अध्यायन गराउन त्रुटिपूण भएको भन्दै लिखित रुपमा स्थानीय सरकार समक्ष माफी मागेको छ । नगरपालिकाका शिक्षा अधिकृत शालिग्राम काफ्लेले सो विषयमा नगर शिक्षा परिषदमा छलफल पछि आवश्यक कार्वाही अगाडी बढाइने जानकारी दिए ।

तर बिद्यालयले नगरपालिकामा बुझाएको स्पस्टिकरणमा नेपालको राष्ट्रियतामा पुगेको आँचका बारेमा भने कुनै पनि कुरा उल्लेख गरेको छैन । बिद्यालयले उक्त पुस्तक आफ्नो विद्यालयबाट हटाएको भनी जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस