दूधे आयुर्वेदमा पञ्चकर्म सेवा सञ्चालन


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , १ 22:02:29

34460-20180515220229.jpg

दूधे । शिवसताक्षीको दूधेमा रहेको दूधे आयुर्वेद औषधालयले सेवा विस्तार गर्दै पञ्चकर्म सेवा सञ्चालनमा ल्याएको छ ।

आयुर्वेद चिकित्सा प्रभावकारी बन्दै गएपछि विरामीलाई मध्यनजर गर्दै औषधालयले पञ्चकर्म सेवा सञ्चालनमा ल्याएको हो । मंगलबर औषधालयमा विस्तारित सेवा कार्यक्रमको उद्घाटन गरेको छ ।

कार्यक्रममा जिल्ला आयुर्वेद जनस्वास्थ्य कार्यालय झापाका डा. केनिन राईले शरिरमा भएको दोष, चोटपटक र किटाणुबाट गरी तीन प्रकारले रोग लाग्ने बताए । उनले हरेक मानिसले आहार विहारमा ध्यान दिनु पर्ने र जुनसुकै प्रकारका रोगहरु आयुर्वेद चिकित्साबाट पद्धतीबाट निको हुने समेत जानकारी दिए । आयुर्वेदमा विरामीलाई पञ्चकर्म अन्तर्गत वमन क्रिया, विरेचन क्रिया, वस्ती कर्म, नश्य कर्म र रक्त मोचन गरी विरामीको उपचार गरिने डा. राईले बताए ।

आयुर्वेदले आवश्यक्ता अनुसार प्राकृतिक चिकित्सा, जीवन शैली व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आयुर्वेद सम्बन्धी कार्यक्रम गरी सेवालाई प्रभावकारी बनाउने लक्ष्य लिइएको बताइएको छ ।

कार्यक्रममा नगरप्रमुख चन्द्रकुमार सेर्माले नगरबासीले रोग लाग्न नदिन आग्र्यानिक साग सब्जी आफ्ना लागि आफै उत्पादन गरी खानु पर्ने बताए । आयुर्वेद पद्धतीले दीर्घ रोगहरुको प्रभाकारी उपचार हुने भएकाले प्रत्येक नगरबासीले घर घरैमै जडीबुटी उत्पादन गरी औषधीको रुपमा सेवन गर्नु पर्ने जानकारी दिए ।

नगर प्रमुख शेर्माले शिबसताक्षी नगरपालिकाको प्रथम नगर सभाबाट दुधे आयुर्वेद औषधालयलाई रु ५ लाख उपलब्ध गराइसकेका र अव आउने नगरसभाले पुनः औषधालयलाई व्यवस्थित बनाउन थप बजेट छुट्याइने प्रतिवद्धता व्यक्त गरे । शेर्माले औषधालय व्यवस्थापन समितिको वैठकबाट आगामी (वार्षिक) कार्यक्रमसहितको योजना बनाएर ल्याउन सुझाए ।

हाल आयुर्वेदमा थेरापी पद्धतीबाट उपचार गर्न थालिएपछि दिनहुँ ४० देखि ५० जनासम्म विरामी आउने गरेका छन् । दूधे आयुर्वेदका निरिक्षक तथा कविराज टेकनाथ अर्यालले आयुर्वेद औषधालयले दिएको सेवामा विरामी सन्तुष्ट भए सँगै आयुर्वेदमा सर्वाङ्ग स्वेदन बक्स आवश्यक रहेको जानकारी दिए । आयुर्वेदलाई हाल ल्याव, कर्मचारीको पनि आवश्यक छ । उनले भने, आवश्यक सामाग्री परिपूर्ति हुने हो भने उच्च स्तरीय सेवा दिन सकिन्छ । उनका अनुसार झापा, इलाम, ताप्लेजुङ्ग लगायत स्थानबाट विरामी आउने गरेका छन् । विशेष गरी नशा, बाथ, चर्मरोग, कर्ण रोग, अम्लपीत्त आदि रोगहरुका विरामी आउँछन् ।

ताप्लेजुङ्गबाट बाथको उपचार गर्न आएकी दिलकुमारी राईले दुई महिना थेरामी विधीबाट गरिएको उपचारबाट सन्तुष्ट भएको बताईन् । उनी विगत दुई महिनादेखि दूधेमा बसेर उपचार गराई रहेकी छिन् । लक्ष्मीपुरकी छत्रमाया लिम्बु, हर्कमाया कटुुवाल लगायत दैनिक २५ जना थेरापी विधीबाट उपचार गराइ रहेको कविराज अर्यालले जानकारी दिए ।

कार्यक्रमा शिवसताक्षी नगरपालिकाका प्रशासकीय अधिकृत पंकज भुर्तेल, वडा नं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठ, नकपा एमालेका अध्यक्ष धनबहादुर थेवे, माओवादी केन्द्रका अध्यक्ष महेन्द्र भट्टराई मन्तव्य राखेका थिए ।

 

प्रतिकृया दिनुहोस