झापा जिल्लास्तरीय महिला फुटबल जेठ ५ गतेदेखि 


साझामञ्च, प्रकाशित मिति : २०७५ ,जेष्ठ , १ 18:04:29

34457-20180515180430.jpg

झापा । महिला खेलाडीलाई प्रोत्साहित तथा फुटबलको विकास गर्ने उद्देश्यले जेठ ५ गतेदेखि प्रथम सनसाइन झापा जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक सनसाइन महिला फुटबल क्लब ज्यामिरगढीले मङ्गलबार धुलाबारीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

मेचीनगर १५ स्थित ज्यामिरगढी माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ८ वटा टीमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष अस्मिता खबासले बताइन् ।

१२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टीमले नगद ५५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । 

यसैगरी उपविजेता टीमले नगद ३० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने अध्यक्ष खबासले बताइन् ।

प्रतियोगितामा आयोजक सनसाइनसहित झापाका जुनतारा एफसी, बाह्रदशी एफसी, झापा एफसी, जलथल एफसी, सतासीधाम एफसी, पारिजात एफसी र कनकाई स्पोर्टस एकाडेमीका महिला खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजक समितिका सचिव अशोक सिवाकोटीले बताए ।

आयोजकले प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ लागत पूर्वानुमान गरेकोमा मेचीनगर नगरपालिका कार्यालय र मेचीनगर १५ नम्बर वडा कार्यालयले ३ लाख रुपैयाँ सहयोग गरेको छ । 

यसैगरी विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफी काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ र उत्कृष्ट खेलाडीलाई दिइने नगद ५ हजार ५०० रुपैयाँ पत्रकार देबु बानियाँले प्रदान गर्ने भएका छन् । 

साथै अन्य दाताहरु समेत खोजी गरिरहेको क्लबका सल्लाहकार तथा समाजसेवी रविन बस्नेतले बताए । काँकरभिट्टा भेट्रान एफसीका अध्यक्ष गंगालाल गुरुङ्गले फुटबललाई विकास गर्नका लागि एकजना महिलाले गरेको हिम्मतलाई थप हौसला दिनका लागि आफू र आफ्नो क्लबबाट सक्दो सहयोग हुने बताए ।

पूर्व महिला राष्ट्रिय खेलाडीसमेत रहेकी अध्यक्ष खबासको सभापतित्व तथा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’को प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन भएको थियो । 

प्रतिकृया दिनुहोस