प्रहरी टोलीलाई आक्रमण गरी विप्लव समूहले आफ्ना कार्यकर्ता छुटायो


एजेन्सी, प्रकाशित मिति : २०७५ ,बैशाख , ३१ 13:48:49

 डोल्पा  l राकोट पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी साेमबार छुटाएर लगेका छन् । 

अाइतबार नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो।

सोमबार बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर सदस्य शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा ठूलीभेरी नगरपालिका–९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा उक्त दलका जिल्ला इन्चार्ज अजित बिष्टको नेतृत्वमा आएको पाँचजनाको समूहले प्रहरी हवल्दार धनसिंह कठायत र प्रहरी जवान जयलाल बस्नेतमाथि आक्रमण गरी छुटाएर लगेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए।

आक्रमणबाट हवल्दार कठायत र जवान बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ।

आक्रमणकारीलाई पक्राउ गर्न त्रिपुराकोट जुफाल, कालागौडा र दुनैबाट प्रहरी परिचालन गरिएको पनि प्रहरी नायब उपरीक्षक शर्माले बताए। शाहीसंगै पक्राउ परेका विवश शाही र दिनेश सिंहलाई भने प्रहरीले आइतबार साँझ नै छाडेको थियो।

प्रतिकृया दिनुहोस