बिर्तामोडको मुसहर बस्तीमा विकासका योजना पुग्दै 


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , २८ 18:13:12

बिर्तामोड । अनेकन समस्यामा जेलिएको बिर्तामोड ३ को मुसहर बस्तीको मुहार अब फेरिने भएको छ । 

राज्यको कुनै पनि आधारभूत सुविधा नपाएका ११ घर परिवार मुसहरका लागि बिर्तामोड नगरपालिकाले ट्यूवेल, शौचालय र पूल बनाइदिने भएको हो । 

अन्धुवा खोलाको बगरमा बसोबास गरिरहेका ती मुसहरहरु वर्षेनि डुबानमा पर्दै आएका छन् । अन्धुवा खोलाको बाढीले चारैतिर डुबानमा पारी मुसहर बस्ती टापुमा परिणत हुने गरेको छ । 

वर्षायाममा मात्र नभएर हिउँदमा समेत उनीहरुलाई आवतजावत गर्न गाह्रो हुने गरेको छ । सोही समस्यालाई दृष्टिगत गरी बिर्तामोड नगरपालिकाले मुसहर बस्तीका लागि अन्धुवा खोलामा फलामे पूल बनाइदिने भएको हो ।

बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले सात लाखको बजेटमा निर्माण हुने सो पूलको आज शिलान्यास गरेका छन् । खोलामा पूल नहुँदा आवतजावत गर्न र बालबालिकालाई विद्यालय पठाउन अप्ठ्यारो परिरहेको छ । 

पूल नहुँदा वर्षायामभर नै आफूहरुका बालबालिका विराट आधारभूत विद्यालय विराटपोखर पढ्न जान पाउँदैनन् पूर्णी ऋषिदेवले समस्या सुनाइन् । 

अत्यन्त आवश्यक रहेको पूल बनेपछि मुसहरसँगै अरु बासिन्दालाई पनि सुविधा मिल्ने स्थानीय रामजी बुढाथोकीले बताए ।

यसअघि मुसहर बस्तीमा पाँच वटा ट्युववेल र चारवटा शौचालय निर्माण गरिसकिएको वडाध्यक्ष सिटौलाले जानकारी दिए । 

पूर्णरुपमा शौचालयविहीन सबै मुसहरहरुले एउटै ट्युववेलबाट निर्वाह गर्नुपर्ने अवस्था देखेर लक्षित समूहको बजेटबाट सो सहयोग गरेको उनले बताए । 

धुर्मुस—सुन्तली फाउण्डेशनले महोत्तरीमा गरेको कामजस्तै आफूहरुले पनि मुसहरहरुका लागि विभिन्न काम गर्दै आएको मुसहर बस्ती विकास निर्माण समितिका अध्यक्ष इन्द्रसिंह राजवंशीले बताए ।

विगत चार वर्षदेखि मुसहरहरुका लागि राहत र उद्धार गर्दै आएको बताउने राजवंशीले गतवर्ष प्रत्येक परिवारलाई सोलार र फिल्टर वितरण गरिएको जानकारी दिए ।

वर्षेनि हुने डुबानको समस्याबाट जोगाउन केही दिनमै तटबन्ध गर्ने समितिको योजना रहेको उनले बताए । जनमजदूरी गरी दुःखले जीवनयापन गरिरहेका निमुखा मुसहरहरुलाई आवासको ब्यवस्था समेत मिलाउने योजना रहेको राजवंशीले सुनाए ।

प्रतिकृया दिनुहोस