बिर्तामोडमा वैशाख ३० गतेदेखि ‘टाइमलेस मोमेन्ट्स’ 


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , २८ 16:16:52

34335-20180511161652.jpg

बिर्तामोड । पूर्वी नेपालको मुख्य व्यापारिक नगरी बिर्तामोडमा ठूलो आर्थिक लगानीमा ‘स्टार लेभल’को होटल सञ्चालनमा आउने भएको छ ।

बिर्तामोडका पुराना घराना जितेन्द्र बस्नेत परिवारको एकल लगानीमा करिब १२ करोड रुपैयाँ हाराहारीको लागतमा ‘टाइमलेस मोमेन्ट्स’ नामक होटल सञ्चालन गरिन लागेको हो । 

होटल सञ्चालकले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् दिइएको जानकारीअनुसार यही वैशाख ३० गते परिवारका ज्येष्ठ सदस्य ९६ वर्षीय टुङ्गबहादुर बस्नेतको बाहुलीबाट रिबन काटेर होटल उद्घाटन गरिनेछ ।

करिब १४ कठ्ठा पैत्रिक जमिनमा निर्माण भइरहेको होटलमा स्वदेशी एवम् विदेशी पाहुनाहरुले गुणस्तरीय एवम् स्वास्थ्यवद्र्धक खाद्य बस्तुबाट तयार गरिएका परिकारहरु उपभोग गर्न पाउने सञ्चालकको दावी छ । 

पर्याप्त पार्किङ स्थल भएको, स्वीमिङ पूल, बार, सेमिनार हल, एसी र नन–एसी स्वीट रुमहरुबाट सेवा प्रवाह गर्न लागिएको प्रबन्ध निर्देशक रोचक बस्नेतले जानकारी दिए । 

निरन्तर विकासको चरणमा रहेको बिर्तामोडमा यो प्रकृतिका सुविधा सम्पन्न होटलको परिकल्पना गरेर नै प्रोजेक्ट अघि बढाइएको प्रबन्ध निर्देशक बस्नेतको कथन छ । 

पत्रकार सम्मेलनमा होटल सञ्चालक जितेन्द्र बस्नेतले आफूले र समाजले नै झण्डै माया मारिसकेको आफ्नो छोरा रोचकले गरेको यस प्रकृतिको कामको प्रशंशा गर्दै समाजका अघिल्तिर रोचकको नयाँ परिचय बन्दै गएको बताए । 

प्रतिकृया दिनुहोस