दमक गोल्डकपमा कसले मार्ला बाजीः दावी यस्ता छन् 


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , २७ 18:27:21

34322-20180510182721.jpg

दमक । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि शुक्रबार मनाङ मस्र्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लब आपसमा भिड्ने भएका छन् । 

पुलिसले पहिलो सेमीफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र मनाङले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । पुलिसले एपीएफलाई १–० ले तथा मनाङले आर्मीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको थियो । 

गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । गोल्डकप वैशाख १९ गतेदेखि सुरु भएको थियो । गोल्डकपमा ए डिभिजनका टिमसहित १० टोली सहभागी थिए । 

फाइनल खेलअघि बिहीबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मनाङका कोच पूजा टोपुले फाइनल खेल आफ्नो टिमले जित्नेमा विश्वस्त रहेको बताए । उनले आफ्नो टोली लगातार गोल्डकप खेलिरहेकाले यहाँको उपाधि जित्न गाह्रो नहुने दाबी गरे ।

यस्तै मनाङका कप्तान विराज महर्जनले दमकको ग्राउण्ड राम्रो लागेको बताए । उनले फाइनल खेलमा आफ्नो टिम जित निकाल्ने गरी प्रस्तुत हुने बताए । 

पुलिसका प्रशिक्षक अनन्त थापाले फाइनल खेलमा जित्ने र हार्ने दुवै अवस्था रहेपनि आफ्नो टिमले राम्रो खेल्ने बताए । उनले आफ्नो टिममा युवा खेलाडीहरु रहेकाले फाइनल खेलमा पनि विगतका खेलहरुजस्तै मेहेनत गर्ने बताए । 

पुलिसका कप्तान हेम तामाङले फाइनलमा आफ्नो टिमले राम्रो फिनिसिङ खेल्ने बताए । उनले दमकमा आफ्नो टोलीले राम्रै खेलिरहे पनि फाइनलमा थप मेहेनत गर्ने बताए ।   
 

प्रतिकृया दिनुहोस