सिम्रिक साकोस समृद्ध सदस्यको अभियानमा


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , २७ 07:29:03

34306-20180510073326.jpg

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले सहकारी व्यवसायका क्षेत्रहरु फराकिलो भएकाले आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारी अभियान भरपर्दो र विश्वासिलो बन्दै गएको बताएका छन् । 

बिर्तामोडमा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र भएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मेचीनगर क्षेत्रका सदस्यहरुमाझ बुधबार गरेको सहकारी सदस्य शिक्षा कार्यक्रमको उद्घाटन मन्तब्यमा नगरप्रमुख आचार्यले यस्तो बताएका हुन् ।

सहकारीले आफ्ना सदस्यहरुलाई आर्थिकरुपमा समृद्ध बनाउन जसरी काम गरिरहेको छ त्यसरी नै समाज रुपान्तरणमा पनि सकारात्मक अभियान चलाउँदै आएको आफूले पाएको उनले बताए ।

सदस्य स्वास्थ्य बीमा, स्वास्थ्य उपचार राहत, बिना धितो कर्जा, बैंकहरुभन्दा छिटो छरितो आर्थिक कारोबारजस्ता विविधताले नै हरेकजसो मानिसहरु कुनै न कुनै सहकारीमा सदस्य बनेको नगरप्रमुख आचार्यले सुनाए । 

उनले भने, ‘यी सबै अवसरहरु लिन सदस्य नै सक्रिय बन्नुपर्ने हुन्छ, सञ्चालकहरुले नीति बनाइदिने हुन्, सबैले यसको उपभोग गर्न सकियो भनेमात्र सहकारी फस्टाउँछ ।’

कार्यक्रमका प्रमुख आतिथि नगरप्रमुख आचार्यले एक महिना अघि डिभिजन सहकारी कार्यालयले मेचीनगरलाई कार्यक्षेत्र बनाएका सहकारीको अभिलेख आफूहरुलाई हस्तान्तरण गरिसकेको स्मरण गर्दै अब चाँडै सहकारी अभियानलाई कसरी थप सशक्त बनाउन सकिन्छ भनी छलफल आयोजना गर्ने जानकारी पनि दिए ।

संस्थाका सचिव एवम् शिक्षा तथा तालिम समितिका संयोजक सुवास भट्टराईको अध्यक्षतामा आयोजित सदस्य शिक्षा तालिम कार्यक्रममा यसको आवश्यकता र औचित्यबारे अध्यक्ष कमलबहादुर बस्नेतले प्रकाश पारेका थिए ।


 
अध्यक्ष बस्नेतले समाजका अघिल्तिर संस्थाका सञ्चालकहरु चिनिए पनि यसका मुख्य खम्बा सम्पूर्ण सदस्यहरु भएकाले सहकारी अभियानका बारेमा बुझ्न बुझाउन तालिम आयोजना गरिएको प्रष्ट पारे । 

उनले झापाको दमक नगरपालिका बाहेक सबै स्थानीय तहमा सिम्रिक सहकारीले सेवा प्रवाह गरिरहेको जानकारी गराउँदै १२ प्रतिशत हाराहारी शेयर बोनस पाउँदै गरेका आफ्ना सदस्यले अब नयाँ ऐनअनुसार सोको दुई गुनासम्म पाउनसक्ने पनि जानकारी दिए ।

शिक्षा तथा तालिम समितिका सदस्य गणेशप्रसाद सुवेदीले आमन्त्रित तथा सहभागीहरुलाई शब्दले स्वागत गरेको तालिम कार्यक्रममा सहकारी निरीक्षक डिल्ली दाहालले सहजीकरण गरेका थिए । 

सदस्य शिक्षा तालिम कार्यक्रमको सञ्चालन तालिम संयोजक विजय बस्नेतले गरेका थिए ।

तालिम उद्घाटन समारोहकै बीचमा संस्थाको सदस्य स्वास्थ्य कार्यक्रम अन्तरगत राहत एवम् उपचार सहयोग पनि हस्तान्तरण गरियो ।

आफ्ना पति रमेश भण्डारीको गत चैत २९ गते भएको असामयिक मृत्युको शोकमा रहेकी मेचीनगर ७ की पुनम भण्डारीलाई संस्थाको सदस्य राहत कार्यक्रम अन्तरगत १७ हजार ७०० रुपैयाँ प्रदान गरिएको छ । 

यसैगरी, संस्थाका सदस्य राधा कार्की पौडेलको पित्तथैलीको शल्यक्रिया गर्नका लागि उपचार सहयोग वापत ८ हजार रुपैयाँ प्रदान गरियो । 

ती दुवै राहत सुविधा रकम नगरप्रमुख आचार्यले हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस