दमक गोल्ड कपः आर्मीलाई उछिन्दै मनाङ फाइनलमा


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , २६ 20:58:38

34295-20180509205838.jpg

दमक । दमक गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । उसले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरेको हो । 

बुधबँरको खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकर खेलाइएको थियो । 

टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरेका थिए । आर्मीका भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे । पेनाल्टीमा आर्मीका दीपक गुरुङ गोल गर्न चुकेका थिए ।
 
खेलको ३०औं मिनेटमा टंक बस्नेतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । सो को १७ मिनेट पछि मनाङका दीपक राईले मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थिए । 

खेलको १०औं मिनेटमा आर्मीका कप्तान भरत खबासको क्रस प्रहारलाई मनाङका विदेशी डिफेण्डर फ्लोरेन्टले हेडमार्फत क्लियर गरेका थिए । मनाङका विमल रानाको क्रस पासलाई सुजल श्रेष्ठले गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । 

५३औं मिनटमा आर्मीका गोलकिपर विकेश कुथुको हातबाट फुत्किएको बललाई मनाङका अन्जान विष्टले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । ६१औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पाएको अवसरलाई पुनः चुकाएका थिए । उनलाई मनाङका डिफेण्डरले बल प्रहार गर्न रोक्दै बल क्लियर गरेका थिए ।

खेलमा मनाङका गोलकिपर विशाल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । 

मनाङले उपाधिको लागि शुक्रबार नेपाल पुलिस क्लबसँग फाइनल खेल खेल्नेछ ।
 
गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डकप दमक नगरपालिकाले आयोजना गरेको हो । वैशाख १९ गतेदेखि सुरु भएको गोल्डकपमा ए डिभिजनसहित १० टिमको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस