पुँजी बजार विस्तारको लागि नियामक निकाय बलियो बन्नुपर्ने : अर्थमन्त्री खतिवडा


एजेन्सी, प्रकाशित मिति : २०७५ ,बैशाख , २६ 16:43:47

34288-20180509164348.jpg

 काठमाडौं l नेपालको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पहिलोपटक पुँजीबजार प्रदर्शनी सुरु गरेको छ। १५ लाख लगानीकर्ता भएको पुँजी बजारमा यसप्रतिको चासो बढ्दै गएको छ। बुधबारबाट सुरु भएको प्रदर्शनीमा लगानीकर्ताको निकै उत्सुकता पाइयो।

११ बजे उद्‍घाटनसत्र राखिएकोमा साढे १० बजे नै प्रर्दशनीस्थल भृकुटीमण्डपमा धेरै लगानीकर्ताहरूको भिड रहेको थियो। विभिन्न जनचेतनामूलक स्टलहरूमा लगानीकर्ताहरूको उपस्थिति त थियो नै। उद्‍घाटनसत्रमा नियामक निकायका प्रतिनिधिसहित सम्बद्ध अधिकारीहरूको मन्त्व्य भएका कारण लगानीकर्ताहरूको ध्यान भने मञ्‍चमा थियो।

आर्थिक वर्षक ०७५/७६ को बजेटको लागि बुधबार संसदमा पूर्वबजेट सार्वजनिक गर्नुपर्ने भएका कारण अर्थमन्त्री युवराज खतिवडाले सुरुवाती मन्तव्य राखे। उनले रियल सेक्टर पुँजी बजारमा नभएको कारण यसको विश्‍वसनियता बढ्न नसकेको प्रतिक्रिया दिएका थिए। शेयर बजार आफ्नै गतिमा चल्ने भएका कारण यस विषयमा कसले के बोल्यो भनेर टिप्पणी नगर्नको लागिसमेत उनले लगानीकर्ताहरूलाई आग्रह गरे।

बढ्दा नाफा खाने, तर घट्दा किन घट्यो के के बोल्यो भन्दै टिप्पणी गर्ने प्रवृत्ति देखिएको समेत टिप्पणी गरे। पुँजी बजार विस्तारको लागि नियामक निकाय बलियो बन्नुपर्ने खतिवडाको तर्क छ। उनले आगामी आर्थिक वर्षदेखि अर्बौं नाफा कमाउने कम्‍पनीलाई पुँजी बजारमा ल्याउने काम हुनेसमेत बताएका छन्।

यसको लागि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिनेसमेत बताएका छन्। धेरै व्यक्ति थोरै समय सबैका कुरा लगानीकर्ताहरू उत्तिकै मानेर सुनेका थिए। सम्बद्ध अधिकारीकरूको एउटा बोलीले नै बजारमा प्रभाव पार्ने भएको कारण पनि उनीहरूले निकै चासोका साथ सुनेको देखिन्थ्‍यो।

जब नेपाल राष्ट्र बैंकका गभर्नर तथा बोर्डका पूर्वअध्यक्ष डा. चिरञ्जीवी नेपाल बोल्न थाले लगानीकर्ताहरू भिड जुरुकजरुक गर्न थाले अगाडि उनी बोल्दै जान्छन् पछाडिबाट कहिले एक स्वरमा ‘हो, हो’ को आवाज आउँछ, कहिले गटट्ट ताली बज्छ त कहिले हासोका खित्का छुट्छन्।

नेपाल पुँजी बजारमा लगानी नगर्ने नागरिक आधुनिक नागरिक नभएको मात्रै टिप्पणी गरेनन् एक पुस्ता पछाडिको भएको समेत प्रतिक्रिया दिए। ‘पुँजी बजारमा लगानी नगरेको नागरिकलाई आधुनिक नागरिक भन्नै मिल्दैन, २१ औ शताब्दीको नागरिकजस्तै पनि बन्दैन,’ नेपालले भने।

उनले संसारका जति पनि देश पुँजी बजारको विस्तारबाट मात्रै भएको बताउँदै नेपालमा पनि पुँजी बजार जति ठूलो र फराकिलो बन्दै जान्छ देशको विकास पनि सोही गतिमा अघि बढ्ने बताए। ‘मलाई कसैले भन्न सक्छ यो देशमा पुँजी बजार राम्रो छैन, तर देशको विकास चाँहि राम्रोसँग भएको छ?’ नेपालले भने, ‘यस्तो कोही पनि छैन देश विकासको लागि पुँजी बजारको विकास हुनैपर्छ, छिमेकी देशहरू चीन हेर्नुस् भारत हेर्नुस् अथवा लन्डन अमेरिका जहाँको उदाहरण हेरे पनि हुन्छ।’ उनले कुनै नागरिकले राष्ट्रप्रति केही गर्छु भन्ने ध्यये राख्ने भए पुँजी बजारमा लगानी गर्नको लागिसमेत आग्रह गरे।

‘पुँजी बजारमा लगानी गर्न राष्ट्रको लागि लगानी गर्ने रकम हुनु हो, नागरिकको लागि भविष्य सुरक्षित गर्ने हो,’ नेपालले भने। गभर्नर नेपालले जनतामा चेतना वृद्धि नभएसम्म बजारको विस्तार नबढ्ने समेत प्रतिक्रिया दिएका छन्। अहिले राष्ट्र बैंकले १० प्रतिशत ब्‍याजमा वैदेशिक ऋणपत्र निकाल्दा पनि नबिक्नु त्यसैको कारण भएको प्रतिक्रिया दिँदै लगानीकर्तालाई जागरूक बनाउनु पनि नियामक निकायको काम भएको बताए।

आफू बोर्डमा हुँदा पुँजी बजार विकास धेरै समस्या खेपेर काम गरेको र त्यसको प्रभाव अहिले देखिन थालेको नेपालको दाबी छ ‘जापानमा भोलिका लगानीकर्ताहरूलाई अहिले नै जानकारी गराउनुपर्छ, तालिम दिनुपर्छ भनेर विद्यार्थीहरूलाई प्लेकार्ड बोकाएर जनचेतनाका कार्यक्रम गर्ने रहेछन्, नेपालमा पनि यसै गर्नुपर्‍यो भनेर अघि बढेको बालश्रम गर्‍यो भनेर मविरुद्ध खनिएको थियो,’ नेपालले भने।

उनले नेपाल स्टक एक्सस्चेन्जमा धेरै सुधारका कार्यक्रमको आवश्‍यक रहेको र पूर्ण प्रविधिमैत्री बनाउनुपर्ने बताए। अहिले सेमिअनलाइन प्रणाली रहेको अवस्थामा अब पूर्ण अनलाइन प्रणाली बनाउन नेपालको आग्रह छ। नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्विका पौडेलले बजार सामान्य गतिमा उतारचढाव हुनु स्वाभाविक पक्ष भए तापनि तीव्र गतिमा केही दिनमै उतारचढाव हुनु सरकारी नीतिको अस्थिरता भएको बताए।

उनले नीतिगत स्थिरताको लागि सरकारी अधिकारीलाई आग्रह गरेका छन्। त्यस्तै, बैंकिङ क्षेत्रले पुँजी बजारलाई भेदभाव गरेको समेत टिप्पणी पौडेलको छ। बैंकिङ क्षेत्रमा पैसा थुप्रिँदा हामीले उठाउनुपर्छ, जब कम हुन्छ हामीलाई वास्तै गरिँदैन’ पौडेलले भने। शेयर लगानीकर्ता नवराज अधिकारीले ब्रोकर कमिसन दिन लगानीकर्ता तयार नरहेको भन्दै आगामी आर्थिक वर्षदेखि हटाउन आग्रह गरे। दुई दिनसम्म चल्ने प्रदर्शनीमा जनचेतनामूलकसहितका १७० स्टलहरू राखिएका छन्। साथै विभिन्न विषयमा चारवटा बहस कार्यक्रम पनि राखिएको छ।
 

प्रतिकृया दिनुहोस