दमक गोल्डकपः नेपाल पुलिस क्लब फाइनलमा प्रवेश


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , २५ 20:37:09

34263-20180508203709.jpg

दमक । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले एपीएफ क्लबलाई १–० गोलले पराजित गर्दैै जीत हासिल गरेको हो ।

जीतसंगै पुलिस गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पुलिसका लागि खेलको ३८ औं मिनेटा निरकुमार राईले गोल गरेका थिए । उनको गोल नै मंगलबारको खेलमा निर्णायक बन्यो । खेलको १२ औं मिनेटमा पुलिसका दिनेश राजवंशीले दिएको पासलाई अजित भण्डारीले हेडमार्फत गोलको प्रयास गरेका थिए । उनको हेडबल क्रसबारमाथिबाट बाहिरिएको थियो ।

२१ औं मिनेटमा पुलिसका अभिषेक रिजालको प्रहार पनि गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । ६७ औं मिनेटमा एपीएफका बिकु लामाको पासमा हरि कार्कीले गरेको प्रहारलाई पुलिसका गोलकिपर किरण चेम्जोङले पञ्च गरेर बचाएका थिए । ७३ औं मिनेटमा एपीएफका सुदीप शिखाकारले गरेको प्रहार पनि गोलकिपर किरणले उत्कृट बचाऊ गरेका थिए ।

खेलमा एकमात्र गोलकर्ता निरकुमार राई म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे । गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिसले बुधबारको खेलको विजेतासंग शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको उपाधि विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्नेछ । गोल्डकप दमक नगरपालिकाले आयोजना गरेको हो । बैशाख १९ गतेदेखि सुरु भएको गोल्डकप बैशाख २८ गतेसम्म चल्ने छ ।

 

प्रतिकृया दिनुहोस