विद्यार्थीहरुसँग पहाडतिर बरालिँदा घेवा खाएर फर्कियौं


राजेन्द्र प्रसाई , प्रकाशित मिति : २०७५ ,बैशाख , २३ 13:21:42

34184-20180506132142.jpg

यात्रा कसलाई मात्र रमाइलो नहोला र ? हाम्रो पनि त्यस्तै रह्यो । फागुन २५ गते धुलैधुलोको पाउडरले एक आपसमा नचिनिने भएका हामी रात्रीको रमाइलो बास बस्न पाउँदा राहतको श्वास फेर्न पाएका थियौं । झमक्क साँझ पर्दा बसन्तपुरका पाहुना भएर हामी ताप्लेजुङ होटलमा टुप्लुक्क बास माग्न पुग्यौं ।

हामी सबै त्यहाँ नअटाउने भएपछि अर्को बासको खोजी गर्दा अलिपर दार्जेलिङ होटल भेटियो । गोपाल सर र म अनि ताप्लेजुङमा बास नपाएका केही विद्यार्थीहरु दाजीलिङमा बास पायौं । बेलुका नाचगान गर्ने रमाउने पूर्वयोजना भए पनि छुट्टिएर दुई बास हुनुपर्दा हामी नाच्न रमाउन सकेनौं । भोलिपल्ट थाहा भयो ताप्लेजुङमा बास पाएका विद्यार्थीहरुले बेलुका अबेरसम्म नाचगानमा रमाएर सुतेछन् ।

बिहान चाँडै उठेर बजार घुम्ने सल्लाह भए पनि थकानका कारण अलिढिलो उठियो । गोपाल सर एक्लै भए पनि अल्छी नगरीकन पूरै तेह्रथुम बजार परिक्रमा गरेर आउनु भयो । त्यसपछि म पनि बजारको ओल्लो छेउदेखि पल्लो छेउसम्म घुमेर चिया नास्ता खाइसके पश्चात सबै भेला भयौं । 

हामी पुनः बस चढ्यौं । हामी सबै त्यस ठाउँमा नौलो हुनाले बाटो देख्ने कोही थिएनौं । तीनजुरे मिल्के जलजले हिंडेका हामीहरु अर्कै बाटो पो लागेछौं । त्यसपछि लगत्तै गाडी फर्काएर उकालो बाटो लाग्यौं । बढो अप्ठ्यारो बाटो, चालक रमेशले रिसाएजस्तो गरी थकित मुडमा बस अघि बढाए । पहाडको बाटो भएका कारण बस उकालो नचढेपछि सबै मिलेर बस ठेल्दै ठेल्दै माथि पुरयायौं । संखुवासभाको सीमानामा बस राखेर हामी गुराँसे वनतर्फ उक्लिन थाल्यौं । 

देउरालीको माथि संरक्षित क्षेत्रमा रक गार्डेन (ढुङ्गाको बगैंचा) रहेछ । हामीलाई उत्सुकता बढ्यो । साँच्चै प्रकृतिक ढुङ्गालाई विभिन्न आकृतिमा कुँदेर आकर्षक बनाइएको रहेछ । जङ्गलका बीचमा ठूलो सम्मपरेको मैदान निकै रमाइलो रहेछ । 

त्यही हिमाली चउरमा हामी फोटो खिच्दै रमाउँदै बस्यौ केहीबेर । त्यसकै छेउमा सानो पोखरीमा पानी रहेछ । वनभोजस्थल पनि त्यही रहेछ । तीनजुरे पहाड काटेर डरलाग्दो ठाउँमा पनि बाटो बनाइएको रहेछ । फलामका बारले छेकेर घुमाउरो बाटो कडा चट्टान माथि पर्यटकहरुका निम्ति निकै आकर्षक रहेछ । 

वनका ठूल्ठूला ढुङ्गामा हात्ती, घोडा, छेपारो, बाघ, भालु आदिका विभिन्न आकारमा कुँदिएका देखिए । त्यही रहेछ रक गार्डेन अर्थात् ढुङ्गाको बगैंचा । त्यसमा रमाउँदा रमाउँदै हामीलाई फर्कन ढिलो भइरहेथ्यो । भोक छिप्पिँदै थियो, विद्यार्थीहरु फर्कन मान्दै मान्दैनन् । गाली गर्दागर्दा एक समूहलाई अघि लायौं । 

अर्काे समूह वनमा कता पसे कता ! कोही रुखमा चढेर सोइसोइला खेल्ने, कोही ठूलो ढुङ्गामा उभिएर होस् वा सुतेर नै किन नहोस्, सेल्फी खिच्ने गरिरहेका थिए । मानौं उनीहरुलाई भोक प्यासले छोएकै छैन । पिन्जडामा थुनेर राखेको चरालाई छाडिदिँदा कस्तो गर्छ ! उनीहरु त्यो चरीजस्तै भएका थिए । हाँस्न, नाच्न र फोटो खिच्न पाए उनीहरुलाई पुग्यो । 

कता कता अलिअलि गुराँसका फूल देखे पनि प्रशस्त मात्रामा थिएनन् । गुराँस फूल्ने मौषम भए पनि सिमित मात्रामा देख्दा अलि नरमाइलो भयो । गाई वस्तु वनमा चरिरहेका थिए । लामा लामा जाडो छेल्ने रौं भएका ती बस्तु राति पनि वन मै बस्छन् भन्ने बुझियो । कहिले काहीँ ती पशुका धनी आएर  सकुशल भएको पाएपछि सन्तोषले फर्कन्छन । 

गाई ब्याउँन आँटेपछि र गोरु जोत्ने बेलामा घर लैजाने गरेका भए पनि अरु दिन प्रकृतिकै काखमा दिनरात बस्दा रहेछन् । यो कुरा यस अघि थाहा नपाउने विद्यार्थीहरु बडो अच्चममा परे ।  रमाइलो ठाउँ, रमाईलो यात्रा, सुन्दर प्रकृतिको चित्रणले गर्दा विद्यार्थीहरु फर्कन नमाने पनि हामी उनीहरुलाई फर्काउँ बाध्य थियौं ।

यता ताप्लेजुङ होटलमा हाम्रो लागि तयार गरिएको खाना सेलाइसकेको थियो । पेटमा मुसा दौंडदै थिए । हामीले त्यहाँ आइपुग्न झण्डै एक घण्टा पर्खनु पथ्र्यो । संखुवासभा र तेह्रथुमको सीमानाको सानो बजारमा गाडी राखिएको थियो । 

त्यहाँ आएर हामीले धित मर्ने गरी चिया र बिस्कुट खायौं, त्यो पनि सित्तैमा । चिया खाने रहरले पसलमा पुग्नु भएका गोपाल सरको पछि हामी लाग्यौं । पसलेले ठूलो कपमा त्यो पनि भरिभरि चिया दिए । अनि नाङ्लामा बिस्कुट बोकेर आए । उनीहरुले आग्रह गरे, एउटा एउटा त खाइदिनोस् ।  हामीले पनि आग्रह स्वीकार गर्यौं, पेटमा मुसा दौडिरहेका जो थिए । 

हिड्ने बेलामा पैसा दिन पर्स निकालेको पर्दैन, आज हामाी पैसा लिँदैनौं पो भन्छन् । पहिले त हामी अचम्मित भयौं, पछि थाहा भयो त्यो पसलका मुख्य मान्छे मृत्यु भएको आख बर्खान्त रहेछ । भर्खरै घेवा गरेकाले प्रसादस्वरुप चिया बिस्कुट हामीलाई दिइएको रहेछ ।

प्रतिकृया दिनुहोस