कौडीको भाउमा बेचियो मेचीनगरको सरकारी सम्पति


अर्जुन कार्की, प्रकाशित मिति : २०७५ ,बैशाख , २० 17:52:26

मेचीनगर । मेचीनगर १० धुलाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको पुराना भौतिक सामग्री कौडीको भाउमा बिक्री गरिएको पाइएको छ ।

सो वडाका वडाध्यक्ष सुदय पनेरुको अगुवाईमा कानूनी रित नपुर्याई ती सामग्रीले पाउने मूल्यभन्दा एक चौथाई हाराहारी मात्र नगदै लिई भौतिक सामग्री बिक्री भएको पाइएको हो । 

धुलाबारी स्वास्थ्य केन्द्र परिसरमा रहेको पुरानो बिल्डिङ केही वर्ष अघि भत्काइएको थियो । भत्काइएको बिल्डङको सामग्री अस्पताल परिसरमा छाप्रो बनाएर राखिएको थियो । 

सखुवाका काठ, जस्ता पाता, अस्पतालका इकुप्मेन्ट, फर्निचर लगायत सामग्री छाप्रोमा राखिएका थिए । उक्त पुराना भौतिक सामग्री १५ दिन अघि अस्पताल व्यवस्थापन समितिले कानूनी प्रक्रियाको धज्जी उडाउँदै बिक्री गरेको हो ।

अघिल्ला तीन वटा अस्पताल व्यवस्थापन समितिले ती सामग्री बिक्री गर्न खोजे पनि कानूनी प्रक्रियाका कारण रोकिएको थियो । ५ वर्षदेखि उक्त सामग्री छाप्रोमा राखिएको थियो । अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेपछि वडाध्यक्ष पनेरुले सरकारी भौतिक सामग्री समितिमा मात्र निर्णय गराएर बिक्री गरेका हुन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुदन कोइरालाका अनुसार सरकारी कार्यालयको जुनसुकै भौतिक सामग्री बिक्री गर्नुपर्ने अवस्था आए कानूनी प्रक्रिया नपुर्याई छुन पनि मिल्दैन । धुलाबारी स्वास्थ्य केन्द्रका पुराना सामग्री बिक्री गर्ने भनी आफूसँग कुनै सल्लाह नभएको तथा परिपत्र पनि नआएको कोइरालाले बताए । 

प्रक्रिया पूरा गर्नका लागि पत्रिकामा सूचना प्रकाशन गर्ने, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र नगरपालिकाबाट अनुमति लिनु पर्ने प्रमुख कोइरालाले बताए ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि सरकारी सम्पती बिक्री गर्न नपाइने बताए । ‘पुराना होस् वा नयाँ हस्तान्तरण गर्न मिल्छ’ दाहालले भने ‘बिक्री गर्न चाहिँ पाइँदैन । ‘कानूनी प्रक्रिया पुर्याएर अन्य सरकारी निकायलाई हस्तान्तरण गर्न पाइन्छ, बिक्री गरे कारबाहीको प्रक्रियामा जानेछ’ उनले भने ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले सरकारी सामग्री बिक्री गर्दा कानूनी प्रक्रिया पूरा गर्नै पर्ने बताए । प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीको व्यवस्थापन समितिले सरकारी सामग्री बिक्री गर्दा कानूनी प्रक्रिया पूरा गरेको छैन । 

सुवेदीले भने, ‘पहिले लिलाम गर्नु पर्यो, त्यसपछि सूचना प्रकाशित गर्नुपर्छ, कतिमा बिक्री गर्ने हो मूल्याङ्कन समिति बनाएर मूल्य तोक्नु पर्छ, अनिमात्र बिक्रीको प्रक्रियामा जानुपर्छ । कानूनी प्रक्रिया पुगेन भन्ने मलाई पनि लागेको छ ।’ मेचीनगर नगरपालिका कार्यालय अन्तरगत नै धुलाबारी स्वास्थ्य केन्द्र पनि पर्दछ । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुदय पनेरुले चाहिँ समितिले पुराना सरकारी सामान बिक्री गर्ने निर्णय गरेर अस्पतालको सूचना पाटीमा टाँस गरेको बताएका छन् । 

स्थानीय तहको निर्देशिका अनुसार मेची नगरपालिका अधिनमा रहेको उक्त अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा सोहि ठाउँका वडा अध्यक्ष स्वत समितिको अध्यक्ष हुने व्यवस्था छ । सोहि अनुसार मेचीनगर—१० का वडा अध्यक्ष पनेरु धुलाबारी स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति अध्यक्ष हुन् । यसअघिका व्यवस्थापन समिति अध्यक्ष खड्ग धिमाल थिए । दुई महिना अघिमात्र पनेरुले उक्त अस्पतालको अध्यक्षको जिम्मेवारी समालेका हुन् । 

अध्यक्ष पनेरुले वडाको १० लाख रुपैयाँ बजेटमा अस्पताल परिसरमा चिकित्सकका लागि आवास गृह बनाउन शुरु गरिएकाले पुराना भौतिक सामग्री बिक्री गर्नु परेको जिकिर गरेका छन् । उनले बोलकबोल विधिबाट सबभन्दा बढी मूल्य १ लाख ५० हजार रुपैयाँ हाल्ने मेचीनगरकै बासिन्दालाई ती भौतिक सामग्री बिक्री गरिएको बताए । 

‘मैले जानेसम्मको विधि लगाएर खस्किँदो अस्पताललाई राम्रो बनाउन यसो गरेको हुँ’ वडाध्यक्ष पनेरुले भने ‘अस्पतालका कर्मचारीसँग सल्लाह लिएर समितिमा निर्णय गराएको छु ।’ 

५ लाख रुपैयाँभन्दा बढीमा बिक्री हुने सामग्री डेढ लाख रुपैयाँमा बिक्री गरिएकोमा स्थानीयले पनि आपत्ति जनाएका छन् । अस्पतालको पुराना सामग्री बिक्री गर्नु परे सार्वजनिक सूचना प्रकाशित गरी टेण्डर आवह्न गर्नुपर्नेमा कानूनी प्रक्रिया पूरा नगरै वडाध्यक्षले मनोमानी गरेको स्थानीयको बुझाई छ । 

अस्पताल प्रमुख डा. एलिजा गौतम पनि व्यवस्थापन समितिले उक्त सामग्रीको बिक्री गर्ने निर्णय गरेकोले सोही अनुसार सूचना बोर्डमा सूचना टाँसेर एक लाख ५० हजार रुपैयाँमा बिक्री गरिएको बताइन् ।

प्रतिकृया दिनुहोस