बेलायती सांसद नेपाल भ्रमणमा


एजेन्सी, प्रकाशित मिति : २०७५ ,बैशाख , २० 16:44:30

34107-20180503165041.jpg

काठमाडौँ  l लन्डन। बेलायती सांसदहरुले आगामी साता नेपाल भ्रमण गर्ने भएका छन् । 

ब्रिटिस संसद्‌का सांसदहरु तथा ब्रिटिस ग्रुप अन इन्टर पार्लियामेन्ट्री युनियनका सदस्य नाइजल इभान्सको नेतृत्वमा अन्य सांसद सदस्यहरु डेभिड मोरिस, केरी म्याकार्थी, वीरेन्द्र शर्मा, लर्ड बाल्फ डलिच, लर्ड ढोलाकिया र युनियनकी इन्टरनेशनल प्रोजेक्ट म्यानेजर इमिली डेभिज सम्मिलित एक उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल जान लागेको हो । उनीहरुले ६ देखि १२ मे, २०१८ सम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

उक्त प्रतिनिधिमण्डलले नेपाल भ्रमणका सिलसिलामा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कामु प्रधानन्यायाधीश, परराष्ट्र, उर्जा, समाज कल्याणमन्त्रीलगायत विशिष्ट व्यक्तिसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बुधबार (मे २ का दिन) ब्रिटिससंसद् सदस्य नाइजल इभान्स तथा प्रतिनिधिमण्डलका सांसदहरु केरी म्याकार्थी, लर्ड ढोलाकिया र युनियनकी इमिली डेभिससँग उनको कार्यकक्षमा शिष्टाचार भेट गरी सांसदहरुको नेपाल भ्रमणको तयारीबारे जानकारी गराए । भेटमा राजदूत सुवेदीले ब्रिटिस सांसदहरुको नेपाल भ्रमणले द्विपक्षीय सहयोग र सम्बन्ध थप मजबुत बनाउन उल्लेखनीय भूमिका रहने धारणा व्यक्त गरे ।

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भई संविधान कार्यान्वयन भएको र निर्वाचित सरकारले आर्थिक विकासलाई मूल लक्ष्य निर्धारण गरेको वर्तमान परिप्रेक्ष्यमा बेलायती सांसदहरुको आसन्न भ्रमण सार्थक र उत्प्रेरक हुने विश्वास व्यक्त गर्दै राजदूत सुवेदीले दुई मुलुकका सांसदहरुबीचको सम्बन्धले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिनिधिमण्डलका नेता इभान्सले तीन तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न भई नयाँ सरकार निर्माण भएका बेला नेपाल भ्रमण गर्न पाउनु सुखद् संयोग रहेको बताए । आफ्नो भ्रमणपश्चात् नेपालको आर्थिक र सामाजिक विकासमा थप सहयोगका निम्ति ब्रिटिस सरकारलाई सिफारिश गर्ने बताउँदै इभान्सले दुई सय वर्षभन्दा पुरानो घनिष्ट सम्बन्ध रहेको नेपालसँग ब्रिटिस सरकार र जनताको सधैं सद्भाव र सहयोग रहने विश्वास समेत व्यक्त गरे ।

प्रतिकृया दिनुहोस