कनकाई नगरको लक्ष्मी मार्गमा उच्चस्तरको ग्राभेल 


रामप्रसाद निरौला, प्रकाशित मिति : २०७५ ,बैशाख , १९ 20:41:02

34084-20180502204102.jpg

सुरुङ्गा । कनकाई नगरपालिकाको वडा नं. ५ मा पर्ने लक्ष्मी मार्गको स्तरोन्नति गरी आज उद्घाटन गरिएको छ ।

वडा नं. ५ मा रहेको सिंहदेवी आधारभूत विद्यालयदेखि दक्षिण झापा गाउँपालिका जोड्ने ५ किलोमिटर सडक खण्डको पुनः निर्माण कार्य सम्पन्न गरी आज उद्घाटन गरिएको हो । 

आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन भएको नगरपालिकाको १० लाख रुपैयाँ र वडा नं. ५ को ५ लाख गरी १५ लाख रुपैंयाँको बजेटमा काम सुरु गरिएको थियो । सडक स्तरोन्नतिका लागि अपुग बजेट आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट थप गरी ४१ लाख ७८ हजार ३०० रुपैंयाँको लागतमा काम सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष इन्दिरा अधिकारीले बताएकी छन् ।

सडकको चौडाई ६५ फिट कायम गरी उच्चस्तरको ग्राभेल गरिएपछि वडाबासीमा पनि खुशी छाएको छ । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व सम्हालेसँगै जनतालाई घरघरमा सिंहदरबारको अनुभूति हुन थालेको हो । 

आज आयोजित उद्घाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्र पोखरेलले अब हरेक वडाका सबै बाटोहरुलाई मापदण्ड अनुसार स्तरोन्नति गरेर दुई वर्षभित्रमा उच्च स्तरको ग्राभेल गरेर आवश्यक्ता अनुसार कालोपत्रे गर्दै जाने बताएका छन् । 

जनताको सपना पूरा गर्न कनकाई नगरपालिकाको नेतृत्व नै सक्रिय रहेको भन्दै नगरप्रमुख पोखरेलले कनकाईलाई उज्यालो र समृद्धिको नमूना नगर बनाउन भाषणभन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता दोहोर्याए ।

प्रतिकृया दिनुहोस