स्थानीय स्तरमा प्रभावकारी बन्दै आयुर्वेद चिकित्सा


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , १३ 21:58:42

33945-20180426215842.jpg

दूधे । पछिल्लो समय आयुर्वेद चिकित्सा प्रभावकारी बन्दै गएको पाइएको छ ।  दिर्घ रोगहरुलाई आयुर्वेद चिकित्सा पद्धतीको औषधीले प्रभावकारी ढंगले काम गरेको पाइएको हो । मानिसहरु फेरी पुरानो पद्धतिमा फर्किका छन् ।

झापा शिवसताक्षीमा बसोबार गर्ने ज्येष्ठ नागरिकहरुले आफुहरुले पहिल्यैदेखि आयुर्वेद औषधी सेवन गर्ने गरेको बताए । उनीहरुले विशेष गरेर जन्डिस, रुखा खोकी, बाथ, दम, पिनास जस्ता रोगहरुमा आफ्नै घर गाउँमा भएको जडिबुटीको प्रयोग गर्ने गरेको बताएका छन् ।

शिवसताक्षी नगरपालिकाको आयोजना दूधे आयुर्वेदको सहकार्यमा भएको आयुर्वेद सम्बन्धी जनचेतना मुलक कार्यक्रमा आएका स्थानीयले आफुहरुले अघिदेखि नै प्रयोग गरेपनि औषधीलाई कति दिनसम्म सेवन गर्ने भन्ने कुरा थाहा नभएको बताए । कार्यक्रममा आएका अधिकांशले आयुर्वेद सम्बन्धी किताबहरु अध्ययन गरेकाले त्यसको प्रभावकारिताबारे थाहा भएको बताएका छन् ।

उनीहरुलाई दूधे आयुर्वेद औषधालयका निरिक्षक तथा कविराज टेकनाथ अर्यालले रोग पहिचान गर्ने, कुन रोगलाई कसरी औषधी चलाउने भन्ने विषयमा जानकारी गराएका छन् ।उनले आफ्नै गाउँघरमा भएका सर्पगन्धा, आश्वगन्धा, कुरिलो, पुर्नरनवा, तुलसी, गुर्जो लगायतका जडिबुटीहरुबाट  विभिन्न खालका रोगहरुको निवारण गर्न सकिने बताए । उनका अनुसार रोगको पहिचान र औषधी चिनेर प्रयोग गर्न सके घरमै बसी विभिन्न खालका रोगहरुको निवारण गर्न सकिने छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका उप प्रमुख भोजकुमारी नेपालले आयुर्वेद पद्धतिले जटिल रोगहरुपनि समाधान गर्ने भएकाले यसको प्रयोग गर्नु पर्नेमा जोड दिएकी छिन् । उनले शिवसताक्षी नगरपालिका भित्र सामुदायिक बन, निजी बन रहेकाले त्यसमा रहेका धेरै जडिबुटीहरुको प्रयोग गर्न नसक्दा खेर गइरहेको जानकारी दिइन् । नगरपालिकाले अन्य विकास सँगै यहाँ भएका जडिबुटीहरुलाई नगर स्तरमै जडीबुटी खेती सञ्चालनमा ल्याई आवश्यक पर्ने औषधी आफै उत्पादन गर्न सकिने बताइन् ।

सहजकर्ता कविराज वेदप्रसाद शर्माले दूधे आयुर्वेदमा आवश्यक पर्ने औषधी यही भएका जडिबुटीको प्रयोग गर्ने पर्ने बताए । यहाँका कृषिलाई जडिबुटी खेतीमा प्रेरित गराई औषधी तयार गरी बाहिर पनि औषधी विक्री वितरण गर्न सकिने जानकारी दिए ।

नेपालमा संस्थागत रुपमा झण्डै ३५० वर्षपूर्व मल्लकालदेखि नै वैद्यखाना सञ्चालन आएको भनाई छ ।  वि.सं. १९७४ देखि आयुर्वेद चिकित्सालय स्थापना एवं सञ्चालनमा आएको हो ।आयुर्वेद चिकित्सामा सल्यक्रिया गर्नुपर्ने अवस्था बाहेक अन्य रोगहरु जस्तै ग्याष्ट्राइटिस, अल्सर, हेपाटाइटिस, बाथ, दम, पिनास, नसासम्बन्धीका रोगहरु, स्त्री रोग, बालरोग, चर्म रोग, नाक, कान, घाँटीको रोग, पाइल्स, फिष्टुला, मधुमेह, रक्तचाप, पत्थरीलगायत रोगहरुको पूर्ण सफल एवं प्रभावकारी उपचार हुने कविराज टेकनाथ अर्याल बताउँछन् ।
 दूधे आयुर्वेदले नगरका ११ ओटै वडाहरुमा आयुर्वेद सम्वन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिकृया दिनुहोस