समृद्धिका भाषणवाजी र वस्तुस्थितिको यथार्थ


नकुल काजी, प्रकाशित मिति : २०७५ ,बैशाख , १० 08:27:05

33853-20180423082705.jpg

प्रधानमन्त्रीदेखि मन्त्री–राज्यमन्त्रीहरु सबैले नियुक्ति सँगसँगै भ्रष्टाचार नगर्ने र गर्न नदिने बाचा जप्न थालेर त्यसलाई अटुट निरन्तरता दिइराखेका छन् । तर, भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरु चाहिँ तदर्थ स्थितिमै चलिरहेका छन् । तिनलाई पूर्णता दिनु भ्रष्टाचार नियन्त्रणका अत्यावश्यक छ भने प्रधानमन्त्री र मन्त्रीहरुलाई अनुभूत हुनसम्म सकेको पाइँदैन । भ्रष्टाचार विरोधी वाचाले प्रधानमन्त्रीय—मन्त्रीय भाषणमा जति व्यापकता पाउँदै गइरहेको छ, “भ्रष्टचार” उति नै बढिरहेको जानकारी प्रकाशमा आइरहेका छन् । 

अघोषित ‘बामपन्थी गठबन्धन’को नाममा देशका दुई ठूला कम्युनिष्ट पार्टीले हल बाँधेर निर्वाचनमा प्रस्तुत भएकाले नै सायद “बहुमत” हातलागी भएको हुनसक्छ । जे होस्, कानूनी औपचारिकता बमोजिम बामपन्थी गठबन्धनले तीनवटै तहमा बहुमत ल्याएकै हो । अतः बामपन्थी गठबन्धनको बहुमत प्राप्त सरकार बनेयता देशको समृद्धि, शान्ति–सुरक्षा, जन—अपेक्षित ‘सुशासन र भ्रष्टचारमुक्त’ सर्वांगको व्यवस्थापन आदिका हाँकलाई भाषणको ‘स्थायीबोल’ बनाई ‘अन्तरा’मा चाँहि, नेपालको नितान्त वर्तमान लथालिङ्ग स्थितिका हकमा, आकाश खसाल्ने भन्नेजस्ता शब्द श्रृंगारित वाक्यहरु बखानिएका प्रशस्तै सुन्न पाइँदैछ । 

तर, यसै सेरोफेरो अन्तर्गत महालेखा परीक्षकले थोक बेरुजूका रुपमा थोक भ्रष्टचारका थुपै्र फेहरिस्त प्रकाशमा ल्यायो । जसमध्ये नेपाल आयल निगमले जग्गा खरीदमा गरेको भ्रष्टाचार र निर्वाचन आयोगले गत तीन निर्वाचनकालमा गरेको भ्रष्टाचार प्रकरणहरु उदेकलाग्दा मात्र नभएर सदाचारप्रेमी कुनै पनि नेपालीका लागि अपूर्व दुःखद र रिँगटा लाग्ने किसिमका छन् । अझ आश्चार्य त केमा लाग्दैछ भने– उत्रो भ्रष्टचार विरोधी हाँक गर्जिरहेका प्रधानमन्त्री–मन्त्रीहरुले बनेको सरकारले चुँसम्म गरेको छैन । त्यसो भए वर्तमान सरकारले “भ्रष्टचार” के लाई भनिरहेको छ त ? एउटा आधारभूत प्रश्न उभिएको छ ।  

रुमानियामा राष्ट्रपतिको हैसियतले २४ वर्ष अटुट कम्युनिष्ट शासन हाँकेका निकोलाइ चाउचेस्कुको स्नानगृहका भित्ता र भुईं सुनका इँटा र टायलले बनेको थियो । सुनकै पाइप र टुटी भएका धाराहरु, सुनकै चुठुवा र शौचालयमा समेत प्यान–फ्लक्स आदि थिए, उनको निवासमा । उनी प्रायः हरेक रात भिन्न भिन्न देशका कन्या—कुमारीसँग राम रमाइलोमा बिताउने लतसंक्रमित पनि थिए । उनकी पत्नी एलेना चाउचेस्कुलाई संसारकै छैला र कामुक महिलामध्ये एउटी मानिथ्यो । एलेना बलैले साक्षरसम्म थिइन् । तर महङ्गा भाडामा लेखाइएका ठूलठूला ग्रन्थ उनका नाममा छापिन्थे र निकोलाइ चाउचेस्कुले कम्युनिष्ट राष्ट्रपतीय हैकमका बलमा पत्नी एलेनालाई ‘यूगिन महिला’ घोषित गरी तिनै ग्रन्थहरुलाई प्रमाण राखी भ्याए जति देशहरुमा प्रचारप्रसार गराएका थिए । 

अतः चाउचेस्कु दम्पत्ती रुमानियका नागरिक सबै सुखी र खुसी छन्, आफूहरु जस्तै रइस एवम्  सम्पन्न तुल्याउने क्रममा छन् भनेर विदेशी पाहुनाहरुसित ढ्वाँस पिट्थे । तर, जब उनीहरुका खलक र उनीहरुद्वारा पालितपोषित हनुमान चालिसेहरुद्वारा शोषित पिडीत र प्रताडित जनताले विद्रोह गरे, उनीहरुलाई सत्ताच्यूत गराए र मृत्युदण्ड दिनैपर्ने हदमा पुर्याए तब आश्चर्य के भयो भने– लगभग ३० हजार आक्रोशित अगुवा नागरिकले ‘अत्याचारी अधिनायकवादी क्रूर निकोलाइ दम्पत्तीलाई मैले नैै गोली हान्न पाउनु पर्छ’ भन्दै उखरमाउलो मच्चाएका थिए । 

गोलाप्रथाबाट तीमध्ये दुईजनालाई त्यो अधिकार दिने सहमति जुटाएपछि सो अनुसार गोला विजयी दुईले उनीहरुलाई गोली हानेका थिए र मृत्युदण्ड स्थलामा उपस्थित लाखौं रुमानियायी जनताले हर्साेल्लास ती दूईलाई  ‘भाग्यशाली’ घोषित गर्दै बधाई दिएका थिए । यो विश्वचर्ची घटना प्रसंग यहाँ किन जोडियो भन्ने प्रश्नको उत्तरपनि यसै कैरनभित्रै संश्लिष्ट छ । थप अभिप्राय के भने, निकोलाइ चाउचेस्कुजस्ता चरम निर्विवेकी, चरम सामन्ती र जनपिराहा चरित्रधारी पनि विश्व चिन्हित कम्युनिष्ट हुँदा रहेछन् । कुनै देशमा २४ वर्षसम्म मनमौजी कम्युनिष्ट शासन हाँक्न सक्तारहेछन् भन्ने उदाहरण हो यो । 

त्यसो त अन्यत्र पनि, धनवान सम्भ्रान्तको विरोध गर्ने तर धन र ऐश आरामको जीवन भोग्न चाहने चारित्रिक कम्युनिष्ट अगुवाहरुको अभ्यास देखिन्छन् । गरिब र बिपन्न कित्ताका नागरिकलाई धनीको बिरोधमा संगठित बन्न उकास्ने तर त्यस कित्ताका नागरिक स्वयम्लाई चाहिँ सम्पन्न बन्ने बाटामो हिँड्न प्रेरित नगर्ने राजनीति निर्दिष्ट अभ्यास कसरी कम्युनिष्ट सिद्धान्तको विकृत रुप होइन भन्ने प्रश्नको जवाफ खोज्न सोक्रेटस र माक्र्स–लेनिनसम्म पुगिरहनै पर्दैन । भनाई र गराइको परस्पर विरोधी दृश्यहरु पर्गेले पुग्दछ । 

यद्यपी, कम्युनिष्ट भनेको कुनै पार्टी  संगठन वा समूहको नाम होइन, सिद्धान्त हो । यो सिद्धान्त गरीब, सर्वंहारा, निर्धा–निमुखाहरुले मात्र अंगिकार गर्न पाउने नभएर धनी धनाढ्य, चाउचेस्कु जस्ता क्रुर शोषक सामान्त, दलाहा—पेलाहा, उदरम्भी, जाली—प्रंपचकारी, दम्भी–अहंकारी, वकवेदान्ते आदि जसले पनि अंगिकार गर्न सक्छ । हाम्रै देशको अभ्यासभूमि निरपेक्षभावले निरुपण गरे वहुधा यस्तै दृश्यहरु नदेखिने होइनन् ! 

भुसुनामा ‘अहिंसा परमोधर्म’ प्रयोग गर्ने र आफू चाहिँ छाकै नबिराई सिङ्गै उँट निल्ने वकवृत्ति नेपालको यो वर्तमानमा चलिरहेको छ । वकवेदान्तमा एक–से–एक पारंगतहरु राज्याधिकारको मूल भौलोका रखवाला बनेका छन् । जहाँ देशको कूल जनसंख्याको दूई तिहाई ओगटिरहेका सर्वसाधारणको आशा अपेक्षाको छेदन हुने गर्दछ । जीविकोपार्जनका लागि रातोदिन तनावमा रहन बाध्य यस तप्काका नागरिकमा अपुरणीय प्रकृतिका प्रतिवद्धताहरु र गुलिया–रसिला आश्वासनहरु वाकचातुर्यको टुना—मुनामा लचेपै्र घोलेर प्रक्षेपण गर्ने कर्मकाण्ड यस बखत लटरम्मै भइराखेको छ ।

देशका दुई तिहाई जनसङ्ख्या ओगटेका जनतामा  कहिले चिनियाँ रेलवे मार्फत हिमालपारिको समृद्धि ल्याइदिने र कहिले भारतीय रेलवे मार्फत दक्षिणको समृद्धि ओसार्ने, कहिले राजधानीमा मेट्रो रेल कुदाउने त कहिले समुन्द्रमा आफ्नै नेपाली पानी जहाज तैराउने इत्यादि कुराहरु रसिक शैलीमा हाँकिइरहेको छ । यस्ता विषय, नेपालजस्तो विपन्न बाहुल्य मुलुकबासीका लागि स्वैरकल्पनासम्म बन्नसके धन्य छ । अन्यथा, आजका औसत नेपालीका समस्या अगणित छन्, जसप्रति राज्य व्यवस्था चलाउने जिम्मावारी पाएको सरकारका आँखा पुगेका छैनन् । 

सरकार शान्ति सुरक्षा र सुशासन जपिरहेको छ, तर दैनिक हत्या र बलात्कारका घटना सार्वजनिक भइरहेका छन् । सरकार रोजगारी व्यवस्थाको धक्कु लगाइरहेको छ, तर सक्कली नक्कली पुगनपुग तीन करोडमध्ये घटीमा सत्तरी लाख उर्जाशील नेपाली विदेशी भूमिमा श्रम बेच्न बाध्य छन् । कुम्लोकुटुरो बोकेर विदेश पलायन हुनेहरुको लस्कर बढ्दो छ । सरकार स्वयम श्रम तालिम केन्द्र खोलेर स्वदेशी जनशक्ति विदेशिउन भन्नेमा जुटेको छ । विदेशी जनशक्ति अतिक्रमणको प्रकोप बढेर भूगोल टुक्रने टुक्र्याउने खतराको घण्टी बज्न थालिसकेको छ । 

बढ्दो धार्मिक, सामाजिक र साँस्कृतिक प्रदुषणले यो राष्ट्रलाई अन्तराष्ट्रिय सीमारेखाभित्रको माटोमा मात्र सीमित तुल्याई कालान्तरमा नेपाली जातीय मौलिकता नै लोप गराउने अंदरुनी षड्यन्त्रहरु सक्रिय बन्दै गएका छन् । भ्रष्टाचारको नङ्ग्रामा देश जकडिसकेको छ । भारेभुरे भ्रष्टाचार पक्रेर कारवाही गरेको प्रचार—प्रसारका छाँयामा ठूला भ्रष्टाचारीलाई छेलेर छाली—कुराउनीको भागबण्डामा राज्याधिकारमा पुगेकाहरु नै लाम लागेको आभाष हुँदैछ ।

भाषण बासेका भरमा देशमा समृद्धि आउन सक्तैन भन्ने स्वयम् भाषण बास्नेहरुलाई थाहा नभएको हुन सक्तैन । तर, सिंहदरबारको वातानुकूल कोठामा नरम गलैंचा टेकेर मुलायम कुर्सीमा बस्न पुगेकाहरुले हाँक्ने गरेका समृद्धिका भाषणमा तिनले भोगिरहेका सुखकर मस्तीबाहेक महंगी, भ्रष्टाचार, अविकास र नैराश्यको प्रकोप भोगिरहेका हरदर जनताका निश्छल आधारभूत अभीप्सा सन्निहित हुन सकिरहेका छैनन् । 

कालो बजार, मिलावटखोरी, सामाजिक अनुशासनहिनता, दण्डहिनता आदिजस्ता विधिको शासनको भावभूमिलाई जनघाती कृयाकलाप बेरोकटोक बढिरहेका छन् । यही शैलीको शासकीय लापर्वाहीको थिचोमिचो बरकर्रार राखिराख्ने हो भने, कसको के लाग्छ र ! वर्तमान सरकार पाँच वर्षका लागि मात्र होइन, सधैंका लागि स्थिर सरकार बन्न सक्छ । तबसम्म, जबसम्म सर्वसाधारण नागरिकले आत्मघाती सहनशीलता कायम राख्ने गल्ती गरिराख्छन् ! बस्, आजलाई यति नै ।

(झापाको भद्रपुर निवासी लेखक नकुलकाजी नेपालका अग्रज पत्रकार हुन् ।) 
 

प्रतिकृया दिनुहोस