शहरको पैसा गाउँगाउँमा पुर्याउँदै एनएमसी डेरी 


रामचन्द्र उप्रेती, प्रकाशित मिति : २०७५ ,बैशाख , ३ 05:39:01

33697-20180416053901.jpg

हाम्रा धेरै सदस्य गाउँमा बस्ने किसान छन् । किसानलाई सदस्य बनाएर व्यवसायिक एवम् स्वरोजगार बन्न प्रेरित गर्न चाहन्यौं । त्यसका लागि संस्थालाई एउटा शसक्त माध्यमको जरुरी थियो । हामीले निर्णय गर्यौं डेरी उद्योग एकदमै उपयुक्त माध्यम बन्न सक्छ । त्यसैले हामीले डेरी उद्योगमा जोखिम मोलेर हाम फाल्यौं ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी), झापाको पूर्ण स्वामित्वमा रहेको एनएमसी डेरी उद्योग सञ्चालमा आएको तीन वर्ष पूरा भएर २०७५ वैशाख २ गतेदेखि चौथो वर्षमा प्रवेश गरेको छ । डेरी उद्योग सञ्चालन गर्ने निर्णय गर्दा यो उद्योगबाट संस्थालाई धेरै नाफा होला अर्थात् धेरै कमाइएला भन्ने अपेक्षा थिएन । तर, उद्योग निरन्तर घाटामा जानु हुँदैन किनकि सधैं घाटामा उद्योग चलाउन सम्भव थिएन र छैन पनि । 

त्यसैले सञ्चालनमा आएको पहिलो र दोश्रो वर्ष घाटामा जाने, तेश्रो वर्षदेखि सञ्चालन खर्च धानेर केही बचत गर्ने अवस्थामा पुग्नुपर्छ भन्ने हाम्रो लक्ष्य थियो । त्यसपछि घाटा बिना नै सञ्चालन गर्न सकियो र यसको सामान्य विस्तार र स्तरोन्नति गर्ने पैसा उद्योगले दिन सक्यो भने सन्तोष मान्नु पर्छ भन्ने अवस्थामा थियौं । किनकि यो व्यवसायमा किसान, उपभोक्ता र बिक्रेतालाई न्याय गरेर नेपाल सरकारले तोकेका सबै मापदण्ड पूरा गरी शुद्ध र गुणस्तरीय डेरी उत्पादन गरेर तुरुन्तै नाफामा जाने व्यवसाय थिएन र होइन भन्नेमा हामी पूर्ण जानकार थियौं र छौं ।

त्यसैकारणले हुनुपर्छ निजीक्षेत्रले यस्तो उद्योगमा लगानी गरेर जोखिम मोल्ने आँट गरेन । जसले गरे तिनले पनि डेरी उद्योगको नियमको पूर्ण पालना गरेर उद्योग सञ्चान गरेको र मापदण्ड अनुरुपका डेरीका उत्पादन बजारमा ल्याएको पाइएन । शून्य बराबरको सरकारी नियमनको  फाइदा यिनले उठाइरहेका छन् । सरकारको पूर्ण स्वामित्व रहेको डिडिसीसम्म पनि बेलाबखत कार्वाहीमा परेको सुनिन्छ । 

निकै ठूलो लगानी गरेर नाफा राम्ररी गर्न नसक्ने व्यवसायमा किन एनएमसीले हात हाल्यो त भन्ने लाग्न सक्छ । यो बारेमा एनएमसी प्रष्ट थियो र छ । एनएमसीका सदस्यलाई कसरी व्यवसायमा जोड्न सकिन्छ ? कसरी उत्पादनमा जोड्न सकिन्छ ? भन्ने बारेमा चिन्तन गर्दा गाउँमा बसेर धेरैले सजिलै गर्न सक्ने र गरेको व्यवसाय पशुपालन र दूध उत्पादन हो । त्यहाँ केही समस्या थिए र छन् । यदि अलिकति सहयोग र सहजीकरण गरेर किसानलाई विधि र प्रविधिसँग जोड्ने एवम् उनको उत्पादनको बजार सुनिश्चित गर्ने हो भने दूधको व्यवसायिक उत्पादनमा किसानलाई जोड्न सकिने ठानेका थियौं । यदि किसानलाई व्यवसायिक रुपमा दूध उत्पादनको काममा जोड्न सक्दा धेरै किसान सदस्यले घरमै बसेर स्वरोजगार बन्न सक्ने, दूधको उत्पादन र सदस्यको आम्दानी बढ्ने, दूधको आपूर्ति सहज हुने, किसानको क्षमताको विकास हुनेजस्ता अनेकौ फाइदा थिए र छन् । 

हामीले किसानका समस्याको पहिचान गरेका थियौं । त्यसैले किसानलाई सहयोग र सहजीकरण गर्न चाहन्थ्यौं । हाम्रा धेरै सदस्य गाउँमा बस्ने किसान छन् । किसानलाई सदस्य बनाएर व्यवसायिक एवम् स्वरोजगार बन्न प्रेरित गर्न चाहन्यौं । त्यसका लागि संस्थालाई एउटा शसक्त माध्यमको जरुरी थियो । हामीले निर्णय गर्यौं डेरी उद्योग एकदमै उपयुक्त माध्यम बन्न सक्छ । त्यसैले हामीले डेरी उद्योगमा जोखिम मोलेर हाम फाल्यौं । 

किसानले उत्पादन गरेको दूध सञ्जाल (नेटवर्क)को अभावमा बजारसम्म पुग्न सकेको छैन । बजारमा बस्नेले शुद्ध र स्वच्छ दूध र दूधजन्य परिकार किनेर खान पाएका छैनन् । उत्पादकको पहुँच उद्योग र उपभोक्तासम्म हुन नसक्दा विचौलियाको भर पर्नुपर्ने बाध्यता छ । विचौलियाले गर्ने कारोबारको आकार सानो भएका कारण व्यवसायमा टिक्नका लागि बढी नाफा र मिसावट गर्ने गरेको सुनिन्छ । सरकार रमिते छ । बजारमा नियमन शून्य छ । त्यसैले उपभोक्ताले पैसा तिरेर कस्तो दूध खाँदैछु भन्ने थाहा पाउन सकेका छैनन् । दूध पोषणको स्रोत हुनुपर्ने हो तर बजारमा नियमन नहुँने गरेकाले र जोसुकैले विना मापदण्ड खुल्ला दूध बिक्री वितरण गर्ने गरेकाले कतिपय अवस्थामा दूध रोगको स्रोत बनेको अवस्था छ । 

देश अहिले पनि दूधमा आत्मनिर्भर हुन सकेको छैन । डब्लुएचओको मापदण्ड अनुसार स्वस्थ्य रहन प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूधको सेवन आवश्यक छ । विकसित मुलुकका नागरिकले गर्ने उपभोग २०० लिटरभन्दा पनि पढी छ । हाम्रो देशमा प्रतिव्यक्ति प्रतिवर्ष ६७ लिटर मात्रै खपत गर्ने गरेको तथ्याङ्क छ । जबकि देशभित्रको उत्पादन योभन्दा पनि कम छ । त्यसैले दूध र दूधजन्य परिकार विदेशबाट निरन्तर आयात भइरहेको छ । यसरी हेर्दा अहिले नै दूधको खपत निकै न्यून छ । यतिका लागि पनि हामीसँग उत्पादन छैन । भएको उत्पादन बजारसम्म पुग्ने नेटवर्क नभएर किसानको उत्पादन नबिक्ने तर मुलुकका उद्योगले बाहिरी मुलुकबाट धुलो दूध र भारतबाट झोल दूधसमेत ल्याएर कारखाना चलाउने गरेको अवस्था छ ।

शहर बजारतिर बस्ने मानिसको आयस्रोतमा बृद्धि भएर होस् वा दूधप्रतिको मोह बढेर प्रतिव्यक्ति खपत बढ्यो नै भनेपनि यहाँका किसानले त्यसको फाइदा पाउने सम्भावना न्युन छ । किनकी यहाँको पहिलो समस्या भनेको उत्पादक किसानको पहुँच उद्योगको नेटवर्कसम्म हुँदैन । र, उद्योगको नेटवर्क पनि गाउँगाउँसम्म छैन । यो समस्याको समाधान गर्न गाउँगाउँसम्म चिस्यान केन्द्र स्थापना गरेर पहिला नेटवर्क निर्माण गर्न सकिन्छ । चिस्यान केन्द्रसम्म पुग्ने बाटो, बिजुली हुनुपर्छ । यो समस्या हल गर्न सबै तहका सरकारको पहल र सहयोग आवश्यक हुन्छ । यस्ता चिस्यान केन्द्र स्थापना गर्न स्थानीय सहकारी र निजी व्यवसायीले काम गर्नुपर्छ । यो त्यति कठिन काम होइन । 

दोस्रो समस्या भनेको नेपाली किसानले उत्पादन गरेको दूधको उत्पादन लागत निकै उच्च छ । त्यसैले किसानले सधैं दूधको मूल्य बढाउन माग गर्ने गर्छन् । यदि किसानको आवाजको सम्बोधन गर्न दूधको मूुल्य बढाउँदै जाने हो भने यसको लाभ नेपाली किसानले पाउने छैनन् । किनकी छिमेकी मुलुक र अन्तर्राष्ट्रिय बजारमा कच्चा दूधको उत्पादन हाम्रोभन्दा निकै कम छ । जस्तो उत्पादन लागत प्रतिलिटर भारतमा नेपाली रुपैयाँ १७–१८, चीनमा १०–१२, युरोपमा २२–२३ र नेपालमा ४५–४६ भएको मोटामोटी तथ्याङ्क छ । यस्तो अवस्थामा नेपाली किसानलाई दूधको उत्पादन लागत कम गर्न सहयोग गर्नुको विकल्प छैन । उत्पादन मात्रै होइन बजारमा टिक्न सक्ने मूल्यमा उत्पादन गर्न किसानलाई सहयोग पनि गर्नुपर्छ । 

कच्चा दूधको उत्पादन लागत बढ्नुका कारण के के हुन् ? त्यो विषयमा किसानलाई जानकारी गराएर सरकारी पक्षले सहयोग गर्नुपर्छ । किसानले पनि उत्पादन लागत कम गर्न प्रयास गर्नुपर्छ । एनएमसी डेरी उद्योग आफ्ना किसान सदस्यलाई यस विषयमा सहयोग गर्ने र किसानको पहुँचमा नेटवर्क तयार गर्न लागिपरेको छ । यसको सकारात्मक संकेत पनि देखिन थालेको छ । 

जस्तो गएका वर्षहरु २०७२ र २०७३ सालमा एनएमसी डेरी उद्योगलाई सधैंजसो दूधको अभाव भएको थियो । अझ खपतको मुख्य सिजन भदौ, असोज, कात्तिक, मंसीर, माघ, फागुनमा दूधको सधैं अभाव हुने गथ्र्यो । तर, २०७४ को सबै महिना दूध बढी भएको छ । बजारमा खपत पनि बढेको छ । तर पनि दूध धेरै नै भएको छ । यसको कारण झापामा एनएमसी डेरी शुरु हुनुभन्दा पहिला बजारमा दूधको मूल्य निकै न्यून हुनु, बिक्री हुने कुराको सुनिश्चित नहुुनु, बिक्री भएपनि पैसा समयमा नआउने, बिहानको दूध बिक्री भएपनि बेलुकाको दूध बिक्री नहुने, नजिकै दूध बिक्रीगर्ने चिस्यान केन्द्रको अभावजस्ता समस्या थिए । एनएमसीले सञ्जाल (नेटवर्क) विस्तार गर्यो र पछिल्लो समयमा दूधको माग र आपूर्ति बढेको छ । 

२०७२ को शुरुमा जम्मा तीन स्थानको चिस्यान केन्द्रबाटमात्र दूध संकलन गरिन्थ्यो । अन्यत्र चिस्यान केन्द्र नै थिएन । भएका पनि चालु हालतमा थिएनन् । तर एनएमसीले यो अवधिमा सञ्जाल बिस्तारमा गरेको प्रयासका कारण अहिले २९ चिस्यान केन्द्रबाट दूध संकलन गर्न सकेको छ । अब त किसान आपैmं सहकारी बनाएर चिस्यान केन्द्र बनाउन थालेका छन् । अर्कोतिर दूध बिक्री हुने, बिक्री गर्न पाइने र समयमा पैसा पाइने भएपछि धमाधम उत्पादन बढाउन लागेका छन् । उद्योगलाई पहिले दूध नपाएर मुस्किल थियो, अहिले दूधको व्यवस्थापन गर्न नसकेर मुस्किल भएको छ । केही स्थानका चिस्यान केन्द्र र सहकारीले त दूधको मूल्य केही कम गरेर भएपनि सबै दूध किनिदिन अनुरोध गरेका छन् । यो वर्षभरि कहिल्यै दूधको अभाव भएन । एनएमसी डेरी उद्योगको कारण शहरको पैसा गाउँमा जान थालेको छ । 

अहिले दैनिक १६–१७ हजार लिटर दूध संकलन हँुदैछ । दूध योभन्दा बढी संकलन हुने अवस्था छ तर उद्योगले धान्न नसक्ने भएका कारण संकलन केन्द्रहरुलाई अधिकतम सीमा तोकेर दूध नबढाउन भनिएको छ । बढी भएको भए नउठाउने गरिएको छ । यो उद्योगको बाध्यता हो । अहिले स्थानीय बजारमा उद्योगले करिब ११ हजार लिटर दूधको खपत गराउन सकेको छ । दैनिकरुपमा बढी भएको ५–६ हजार लिटर दूध हेटौंडा र पोखरामा दैनिक ४ हजार लिटर र अरुबढी भएको दूध चितवन डेरी र काठमाडौका डेरीमा पठाउने गरिएको छ । 

स्थानीय बजारमा खपत नभएको बढी दूध जहाँजहाँ पठाए पनि लागत मूल्य नै पाउन मुस्किल हुन्छ । किनकि संकलन, ढुवानी, चिसो पार्ने, पास्चराइज गर्नेजस्ता कारण लागत बढ्ने तर बिक्री गर्ने मूल्य विशेष गरी ढुवानीका कारण सस्तोमा बेच्नुपर्ने बाध्यता हुन्छ । अझ समयमा पैसा भुक्तानी नहुने समस्या पनि कतैकतै हुनेगर्छ ।

एनएमसीले झापा, मोरङ र सुनसरीमा बजार विस्तार गरिरहेको छ । अहिले झापा बाहेक पनि सुनसरीको इटहरी, खनार, धरान, झुम्का, इनरुवासम्म पुगेका छौं । मोरङको विराटचोक, बेलबारी,  दुहबी र बिराटनगरसम्म पुगेका छौं । उपभोक्ता र बिक्रेता दिनानुदिन बढिरहेकै छन् । तर, उत्पादन त्योभन्दा धेरैले बृद्धि भएको छ । हामी चाहन्छौं, किसानको उत्साहमा कमी हुन नपाओस् । मिल्क होलिडे गर्न नपरोस् । हामी यसका लागि हदैसम्मको प्रयास गरिरहेका छौं ।

एनएमसीले कृषि समिति नै बनाएर दूधको उत्पादन लागत कम गर्न किसानलाई सघाइरहेको छ । चोकर दानाको सट्टा घाँसको खेतीमा जोड दिने, घाँस पनि पोसिलो र सिजनको घाँँसमा जोड दिने, पशुको स्वास्थ्य, पशुको बीमा, नश्ल सुधार, गोठको अवस्थाको सुधार, पशुको आहारमा सुधार, सहुलियत व्याजदरमा बिनाधितो कर्जाको सुविधा उपलब्ध गराउँदै आएका छौं । यस्तै किसानलाई अवलोकन भ्रमण, गोबर मलबाट गड्यौले मल उत्पादन गर्न तालिम दिने, उत्पादित मल खरिद गरिदिने, समय–समयमा पशु विशेषज्ञसँगको छलफल, पशु स्वास्थ्य शिविर, दूधको शुद्धता र स्वच्छता आदिको तालिम, किसानको पहुँचमा चिस्यान केन्द्र आदिजस्ता कार्यक्रम सञ्चालन गरेका कारण यो सुखद नतिजा देखिएको छ । अबको समय उत्पादनमा दिनेभन्दा पनि बजारमा कसरी खपत बढाउन सकिन्छ ? दूधका थरिथरि परिकार कसरी बनाउन सकिन्छ ? उपभोक्तको रोजाइमा कसरी पुर्याउने ? उपभोक्तालाई सचेत बनाउने र शुद्ध र स्वच्छ दूधको बढीभन्दा बढी उपभोग गर्न प्रेरित गर्नेजस्ता काम अबको प्राथमिकता भएको छ । 

एनएमसी डेरीका तीन वर्षलाई हेर्दा वित्तीय हिसाबले संस्था सुरक्षित भए पनि डेरी उद्योग नाफा मै गयो भन्न मिल्ने अवस्था छैन । तर डेरी उद्योगले ३५ सय किसान सदस्यको जीवनमा सकारात्मक प्रभाव छाड्न सफल हुँदै गएको छ । त्यसैगरी बजारका उपभोक्ताले गुणस्तरीय डेरीजन्य उत्पादन र दूध किनेर उपभोग गर्न पाएका छन् । प्रत्यक्षरुपमा ७५ जनाले र अप्रत्यक्ष रुपमा निकै धेरैलाई रोजगारी दिन सकेको छ । काम गर्ने र सीप सिक्ने मानिसको क्षमतामा विकास भएको छ । एनएमसी डेरी उद्योग धेरै सहकारीकर्मी, डेरी व्यवसायी, खाद्य विधाका विद्यार्थी र पर्यटकका लागि सिकाई र हेराईको गन्तव्य बन्दै गएको छ । 

(लेखक उप्रेती एनएमसीका अध्यक्ष तथा डेरी व्यवसाय समितिका संयोजक हुन् ।)
 

प्रतिकृया दिनुहोस