चकलेटी हिरो अनमोललाई भेट्न घरबाट भाग्दै भारतीय युवतीहरु


अनलाइन, प्रकाशित मिति : २०७५ ,बैशाख , २ 19:02:52

33695-20180415190252.jpg

काठमाडौं l कलाकार बन्ने धुनमा नेपालका धेरैले बलिउड स्टारहरुलाई भेट्न घर छाडेको अनुभव हामीले सुन्दै आएका छौं । अहिलेका कतिपय नेपाली कलाकार भारतीय चर्चित कलाकारहरुलाई भेट्न घर छोडेर हिंडेको कहानी उनीहरुकै मुखबाट समेत सुन्दै आएका छौं । तर, अहिले नेपाली मात्र होइन भारतीयहरु पनि नेपाली सेलिब्रेटी भेट्न नेपाल आउन थालेको रहस्य खुलेको छ ।

नायक अनमोल केसीलाई भेट्न भन्दै घरबाट भागेर आएका चार जना भारतीय बालिका काठमाडौंमा भेटिएपछि अब भारतीयहरु पनि नेपाली कलाकारलाई भेट्न घरबाट भाग्ने गर्दा रहेछन् भन्ने पुष्टि भएको छ । भारतबाट भागेर आएका १४ वर्षमुनिका ४ जना किशोरीलाई माइती नेपालले काठमाडौंको कोटेश्वरबाट उद्धार गरेको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिएका छन् । अनमोल केसीलाई भेट्न घरबाट भागेर काठमाडौं आएपछि अलपत्र परेका उनीहरुको भारत कालिङपोङमा रहेका परिवारलाई खबर गरिएको छ ।

भारतीय किशोरीका परिवारले कालिम्पोङको एक गैरसरकारी संस्थामा सम्पर्क गरेको र त्यो संस्थाले काठमाडौंको माइती नेपालमा विहान सम्पर्क गरेपछि किशोरीको उद्धार गरिएको छ । उद्धार गरिएका किशोरीलाई माइती नेपालमा नै राखिएको छ । उनीहरुको बारेमा जानकारी लिएर घर फर्काइने माइती नेपालका निर्देशक खड्काले बताए । भागेर नेपाल आएका उनीहरुले नायक अनमोल केसीलाई भेट्ने रहरले घर छोडेको बताएका छन् ।

नेपाली चलचित्र र नेपाली नायक नायिका नेपाली भाषी भारतीयहरुबिच निकै नै लोकप्रिय हुन्छन् । चलचित्रकै प्रभावमा परेर किशोरीहरु नायक अलामोललाई भेट्न नेपाल आएको अनुमान छ । अनमोलले अभिनय गरेका गाजलु, ड्रिम्स, होस्टल, जेरीलगायतका चलचित्र चर्चित छन् । उनको पछिल्लो चलचित्र कृले नेपाली भाषीको बाहुल्यता रहेको भारतीय बजारमा पनि राम्रो बजार पाएको थियो ।

प्रतिकृया दिनुहोस