'माओवादीसँग पचास-पचास प्रतिशतमा एकताको सहमति भएको छैन' : खनाल


एजेन्सी, प्रकाशित मिति : २०७५ ,बैशाख , २ 18:13:20

33691-20180415181320.jpg

विराटनगर l पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्र सँग ५०-५० प्रतिशत भागबण्डामा एकता गर्ने कुनै सहमति नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै खनालले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने स्पष्ट पारे । बाँकी कुरा सबै सञ्चारमाध्यमको हल्लामात्रै भएको उनले जिकिर गरे । 

वरिष्ठ नेता खनालले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरु संगठनमा आपसी समझदारी चयन गर्ने बताए ।

उनले दुवै पार्टीबीचको आपसी एकता प्रक्रिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी वैशाख ९ गते पार्टी एकीकरणको मितिसमेत नसर्ने प्रष्ट पारे । 'दलको एकीकरण सम्बन्धमा राजनीतिक र सांगठनिक प्रतिवेदन तयार रहेको छ', खनालले भने, 'प्रतिवेदन जनयुद्ध सम्बन्धमा सकारात्मक रहेको छ ।'

एक प्रश्नको जवाफमा उनले सचिव सरुवाबारे कोही पनि कहिले पूर्ण सन्तुष्टि नहुने बताउँदै असन्तुष्टबाट नै राम्रो कामको शुरुवात हुने दाबी गरे । 

'वाम गठबन्धनको सरकार भर्खरै निर्माण भएको छ', उनले भने, 'जनताले अनुभूति गर्ने विकास र मुलुकको आर्थिक समृद्धिमा सरकारले द्रुत गतिमा काम गर्छ ।' 

 

प्रतिकृया दिनुहोस