नयाँवर्ष मनाउने गज्जबको काइदा, बृद्धबृद्धालाई घरमै पुगेर उपचार सेवा


साझामञ्च, प्रकाशित मिति : २०७५ ,बैशाख , १ 18:48:50

33672-20180414184850.jpg

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले आज बिहानै पथरी बजारमा पञ्चेबाजा बजाएर नयाँवर्षलाई स्वागतसहित नगरबासीलाई शुभकामना दिएको छ ।

बिहान ४ वजेदेखि साढे ५ बजेसम्म नगरपालिका कार्यालयबाट सुरु गरी पथरीका विभिन्न चोकमा पुगेर पञ्चेबाजा टोलीले बाजा वजाएर नगरपालिका कार्यालयको तर्फबाट नगरबासीलाई नयाँवर्षको शुभकामना दिएको हो ।

नेपाली मौलिक बाजाको संरक्षण, प्रवद्र्धनका साथै नयाँवर्षको स्वागत र शुभकामनाका लागि यो फरक शैली अपनाइएको नगरप्रमुख दिलिपकुमार राईले बताए । 

हिजो साँझ बसेको नगर कार्यपालिकाको बैठकले पञ्चेबाजाले नयाँवर्षको स्वागत र शुभकामनाको कार्यक्रम राख्ने निर्णय गरेको हो ।

यसका साथै नयाँवर्षको अवसरमा नगरका ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरघरमा गएर निःशुल्क स्वास्थ्य चेकजाँचसहित उपचार गर्ने अभियान पनि आज बिहानबाट उद्घाटन् गरिएको छ । 

उद्घाटनका अवसरमा ७० जना ज्येष्ठ नागरिकले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।

गत साउनमा आएको बाढीबाट विस्थापित बनेका नगरका ४ घर परिवारका लागि जिल्ला दैवी प्रकोप राहत कोषबाट प्राप्त प्रतिपरिवार २५ हजार रुपैयाँका दरले नगरप्रमुख राईबाट रकम हस्तान्तरण पनि आजै गरिएको छ । 

नगरमा रहेका ३ वटा स्वास्थ्य चौकी र एउटा सहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीबाट घर घरमा गएर उपचार गर्नका लागि नगरपालिकाले तत्कालका लागि २ लाख रुपैयाँको उपकरण खरिद गरेको जनाइएको छ । 
 
‘ज्येष्ठ नागरिकको स्वास्थ्यसँग नगरपालिका’ कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे नगरपालिका कार्यालयले यस्तो रचनात्मक अभियान सुरु गरेको हो ।

प्रतिकृया दिनुहोस