अलैंची व्यवसायी महासंघलाई राष्ट्रियस्तरको पुरस्कार


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २९ 18:06:19

33628-20180412180619.jpg

बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघले राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेको छ ।

नेपालको निर्यात व्यापारमा उल्लेख्य योगदान पुर्याउँदै आएको नगदे कृषिवस्तु अलैंचीको आन्तरिक व्यवसायी तथा निर्यातकर्ताहरुले व्यवसायिक हित सम्बद्र्धनका लागि स्थापना गरेको सो महासंघलाई नेपाल उद्योग वाणिज्य महासंघले पुरस्कृत सम्मानित गरेको हो । 

नेपाल उद्योग वाणिज्य महासंघको ५२औं साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसर पारेर बुधबार राजधानीमा आयोजित समारोहमा अलैंची व्यवसायी महासंघलाई सम्मान गरिएको हो । 

महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा आयोजित साधारणसभा उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले अलैंची व्यवसायी महासंघलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई तथा कृषितर्फका उपाध्यक्ष राजकुमार कार्कीले संयुक्तरुपमा सो पुरस्कार ग्रहण गरेका हुन् ।

अलैंची व्यवसायी महासंघ नेपाल उद्योग वाणिज्य संघको वस्तुगत सदस्य हो । उसलाई वस्तुगततर्फको पुरस्कार प्रदान गरिएको हो । उद्योग व्यवसाय क्षेत्रमा भएका लगानी प्रवद्र्धनको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेवापत कदरस्वरुप उद्योग वाणिज्य महासंघले सम्मानपत्र प्रदान गरेको अलैंची व्यवसायी महासंघका अध्यक्ष भट्टराईले जानकारी दिए ।
 
महासंघले प्रत्येक वर्ष वस्तुगत संघको गतिविधि, क्रियाशीलता, संगठनात्मक संरचनाको विस्तार, व्यवसाय प्रवद्र्धनमा गरेका क्रियाकलाप, लाभग्राहीको अवस्था, राष्ट्रिय आयमा पारेको प्रभाव लगायतको मूल्याङ्कन गरी वस्तुगत सदस्यलाई पुरस्कृत गर्ने गरेको छ । 

अन्तराष्ट्रिय क्षेत्रका प्रतिष्ठित उद्योगी व्यवसायीहरुको उपस्थितिमा गरिएको सो सम्मानबाट पनि  नेपाली अलैंचीले अन्तर्राष्ट्रिय बजारमा परिचित हुने मौका पाएको र यसले निर्यात व्यापारमा थप सहयोग प्राप्त भएको अध्यक्ष भट्टराईले जानकारी दिए । सबैभन्दा बढी विदेशी मुद्रा भित्राउने निर्यातजन्य कृषिवस्तुमा अलैंची पहिलो नम्बरमा पर्दछ । 

अलैंची व्यवसायीहरुले असुरक्षा, दोहोरो करको समस्या, राजनीतिक दल र तिनका भातृ संगठनको  चन्दाको मार खेप्नु परेपछि झापाका निर्यातकर्ता लगायत अलैंची उत्पादन हुने जिल्लाका व्यवसायी तथा अगुवा कृषकहरु संगठित भई २०६४ सालमा राजेन्द्रकुमार घिमिरेको अध्यक्षतामा नेपाल अलैंची व्यवसायी संघ स्थापना गरिएको थियो । 

संघ गठन भएपछि त्यस्ता धेरै समस्या समाधान भएको, अलैंचीको निर्यात व्यवसाय प्रवद्र्धन, गुणस्तर सुधार,  किसानमा प्राविधिक ज्ञानको विस्तार, अलैंचीको आफ्नै ट्रेडमार्क दर्तालगायतका महत्वपूर्ण कार्यहरु गर्दै आएको महासंघका महासचिव ओमकृष्ण विमलीले बताए । 

यद्यपि पछिल्लो समयमा नेपाली अलैंचीको मूल्यमा उच्च गिरावट आएपछि किसान तथा व्यवसायीमा निराशा छाएको छ । 

महासंघले अलैंची उत्पादन हुने पूर्वी तथा पश्चिमी १३ वटा जिल्लामा शाखा विस्तार गरिसकेको छ भने संगठनात्मक रुपमा झण्डै एक हजार व्यवसायी गोलबद्ध भइसकेको महासंघका कोषाध्यक्ष सुवास भट्टराईले जानकारी दिएका छन् ।  
 

प्रतिकृया दिनुहोस