समृद्धिको सपना र पर्यटन व्यवसाय


रामचन्द्र उप्रेती, प्रकाशित मिति : २०७४ ,चैत्र , २७ 18:09:06

33584-20180410180906.jpg

नेपालका सबै तहका सरकारको अहिले मुख्य चासो बनेको छ– विकास र समृद्धि जनचाहनालाई कसरी पुरा गर्ने ? केन्द्र सरकारले देश बनाउने, प्रदेश सरकारले प्रदेशलाई समृद्ध बनाउने र स्थानीय सरकारले आ–आफ्नो तहलाई कसरी विकास गर्ने भन्ने हुटहुटी स्वभाविक हो । 

निर्वाचित सरकारहरु विगतमा जस्तो भ्रष्ट हुनबाट जोगिए भने देशले चाडै काँचुली फेर्ने आशा जनताले गरेका छन् । समृद्धिको मार्गमा अवरोध भनेका  भ्रष्ट मानसिकताका नेता, भ्रष्ट र कामचोर कर्मचारी, डन, सत्ताको नजिकमा बसेर शक्तिशालीहरुको चाकडी गर्दै अवैध धन आर्जन गर्न पल्केकाहरु हुन । यो अवरोधलाई समृद्धिको मार्गबाट पन्छाउन सबै तहका सरकारले सकेभने समृद्धि र विकासका कुराको अर्थ हुन्छ, नत्र जुन जोगी आएपनि कानै चिरेको भन्ने भनाई चरितार्थ हुनेछ ।

अहिलेका जनप्रतिनिधि सरकारलाई समयले ठूलो अवसर दिएको छ । यदि लोभलालच र डरबाट पर हटेर केही गर्ने दृढ इच्छा अहिलेका प्रतिनिधिले राखेमा सिक्न र निर्णय लिन अलिकति प्रयास गर्नुपर्छ, धेरैले साथ दिन्छन् । इतिहासमा सबैलाई यस्तो अवसर आउँदैन । विगतमा पनि सरकार थिए तर त्यो केन्द्रमा मात्रै थियो । फेरि अहिलेको जस्तो अनुकुल वातावरण थिएन । 

देशका लागि केही गरौं भन्नेहरुले पनि स्थापित भ्रष्टहरुको जालोमा बेरिएर निकम्मा हुनुपर्ने अवस्था थियो । तर अहिले प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधिलाई बोलाएर नजिकबाट हेर्दा पनि तपाईहरुमा दाग नदेखियोस् भन्नुले र सचिवसहित उच्चपदस्थ कर्मचारीलाई कुनै पनि बहानामा काम रोकिनु हुदैन, ३५ प्रतिशत मात्रै काम हुनु भनेको काम नहुनु हो भनेर दिएको निर्देशनले केही हुन्छ भन्ने आशा पलाएको छ ।

अहिले विकास र समृद्धिको लागि धेरै सरकारहरुले पर्यटनलाई महत्व दिने, धेरैभन्दा धेरै पर्यटकीय स्थानको विकास र प्रवद्र्धन गर्ने, पर्यटकलाई आकर्षित गर्नेजस्ता विषय उठाएका छन् । यो एकदमै स्वभाविक हो । आजको दुनियाँमा विकास र समृद्धिको एउटा आधार वा श्रोत पर्यटक हुन् । पर्यटन व्यवसाय हो । पर्यटक आउँदा पैसा आउँछ । पर्यटकले कतिपय अवस्थामा प्रवेश वापतको सेवा शुल्कदेखि फर्केर नगएसम्म विभिन्न अवस्थामा निरन्तर पैसा खर्च गर्छन् । यो खर्चेको पैसा आम्दानी हो । यस्तो आम्दानीले धेरैको रोजगारी श्रृजना गर्छ । आय बढाउँछ । बस्तु र सेवाको खपत हुन्छ ।

नेपालको हकमा विदेशी पर्यटक जतिबढी संख्यामा भित्र्याउन र बसाई लम्व्याउन सकियो, देशलाई त्यति नै बढी आम्दानी हुन्छ । अहिले मुलुकमा भएको ठूलो व्यापार घाटा धान्ने भनेको रेमिट्यान्सको आम्दानी र दोश्रो पर्यटकले तिरेको पैसा हो । देशमा विदेशी पर्यटकबाट मात्र होइन, आन्तरिक पर्यटकबाट समेत प्रशस्त लाभ लिन सकिन्छ । 

त्यसैले हरेक प्रदेश र स्थानीय सरकारले विदेशी र स्वदेशी पर्यटक आआफ्नो क्षेत्रमा बढीभन्दा बढी भित्र्याएर विकास र समृद्धिको चाहना पूरा गर्न जोड दिएको पाइन्छ । यो भनाईलाई सार्थक बनाउन के के गर्नुपर्छ भन्ने बारेमा भने धेरै गृहकार्य भएको देखिएको छैन । त्यसैले धेरैभन्दा धेरै पर्यटकलाई आफ्नो क्षेत्रमा भित्र्याउने, बसाई लम्व्याउने र आम्दानी बढाउने हो भने यसबारेमा ठोस कार्य गर्न आवश्यक छ ।

स्थानीय तह र प्रदेशको चुनाव भएपछि निर्वाचित प्रतिनिधिलाई मिडियाले आफ्नो क्षेत्रको विकासको योजना के छ भनेर सोधेको प्रश्नमा लगभग सबैले कृषि र पर्यटनलाई जोड दिने बताएका थिए । दृष्टिकोणको हिसाबले यो बेठीक होइन । कृषि र पर्यटनको विकास गरेर धेरै रोजगारीको सृजना र आम्दानी गर्न सकिन्छ । मैले कतै पढेको याद छ– धर्म र पर्यटनको आधार ब्याख्या हो । 

जसरी धर्ममा प्रमाणको कुराभन्दा आकर्षक व्याख्याको महत्व ज्यादा हुन्छ, त्यसरी नै पर्यटकलाई आकर्षित गर्न व्याख्याको जरुरी हुन्छ । धर्मको व्याख्याको आधार इश्वर (फरकफरक नाममा नै सही) हुन् र मानिसमा इश्वरप्रति आस्था जगाउन सक्नु व्याख्यको उद्देश्य हुनेगर्छ । पर्यटकलाई आकर्षित गर्न बस्तुमा आधारित व्याख्याको जरुरत पर्छ । त्यस्तो व्याख्याले पर्यटकको मनमा शान्तिको आभाष हुन सकोस्, उत्सुकता जगाउन र आनन्दको अनुभूति हुन सकोस् । सारमा भन्दा पर्यटक खुसी हुन सक्ने आधार होस् ।

दक्षिण एसियामा धार्मिक पर्यटकको ठूलो सम्भावना छ । नेपालमा यसको सम्भावना झन् धेरै छ । भगवान गौतम बुद्धको जन्मस्थल र पशुपतिनाथको मन्दिर हाम्रा लागि अमूल्य उपहार हुन्, धार्मिक पर्यटकलाई आकर्षित गर्नका लागि । त्यस्तै पूर्वको पाथीभरा देवीको मन्दिर, मध्यमा मनकामना देवीको मन्दिर, स्वर्गद्वारीलगायत यस्ता धेरै धार्मिक स्थान ठाउँठाउँमा छन्, जहाँ दैनिक नै हजारौं मानिस पुग्ने गर्छन् । 

धार्मिक पर्यटकबाहेक पनि घुमफिरमा निस्कने पर्यटकलाई आकर्षित गर्ने खालका प्रकृतिक छटाले भरिएका दृश्यावलोकनका लागि मनोरम स्थानहरुको नेपालमा खासै अभाव छैन । त्यसमा पनि फरक फरक संस्कृति, जीवनी, संस्कार, जीवनशैलीले मानिसलाई आकर्षित गरिरहेको हुन्छ ।    

पर्यटन विकासका लागि पर्यटकसँग गरिने व्यवहार, पर्यटकको सुरक्षा र सुविधा एकदमै महत्वपूर्ण विषय हो । हामीसँग पर्यटकलाई आकर्षण गर्ने धेरै विषयबस्तु भएर पनि व्यवहार, सुरक्षा र सुविधाको उपयुक्त अवस्था नहुँदा पर्यटकबाट धेरै लाभ लिन सकेका छैनौं । आफ्नो क्षेत्रमा पर्यटक धेरै आउन् र खर्च गरुन् भन्ने चाहनेले पर्यटकको सरोकारका यी तीन विषयमा मात्रै ध्यान दिनसके निकै फाइदा हुन्छ । 

पर्यटक भनेको विदेशबाट आउने मानिस मात्रै होइनन् । अझ खैरो छाला भएकालाई मात्रै पर्यटक बुझ्ने पुरानो मानसिकता पनि छ । आजको समयमा पल्लो गाउँका मानिस हाम्रो गाउँमा आएर एकछाक खाना खाए र साँझमा फर्केर गए भने पनि तिनलाई पर्यटक मान्नुपर्छ । त्यो एक छाक खाना खाँदा पनि गाउँको आम्दानी बढेको छ र आम्दानी बढ्नुमा ती आउने मानिसले गरेको खर्चले अर्थ राखेको हुन्छ, जसरी हामी घरनजिकैको छिमेकीलाई सेवा र समान बेचेर आफ्नो आम्दानी बढाउँछौं । 

यसमा छिमेकीको पनि काम चल्ने र हाम्रो पनि आम्दानी हुन्छ । यो पनि त्यस्तै व्यवसाय हो । पर्यटकले आफ्नो ठाउँमा आएर जेमा जतिजति खर्च गर्छन् सबै आम्दानी हो । त्यस्तो आम्दानीलाई हामी कति टिकाउँछौं र कति बाहिर पठाउँछौं त्यो हामीमै भरपर्ने हो । जस्तै पर्यटकको खानामा प्रयोग भएका बस्तु अन्न, सब्जी, दाल, मासु, दूध, पानी, फलफूल लगायतका समान हाम्रै उत्पादन हुन् भने हामीले धेरै फाइदा लिन सक्छौं, होइन भने थोरै । 

सबैभन्दा ठूलो कुरा पर्यटकको सुरक्षा र पर्यटकसँग स्थानीयले गर्ने व्यवहारले महत्व राख्दछ । पर्यटकले आफूजाने स्थानमा कतिको सुरक्षित महसुस गर्न सक्छन् ? सुरक्षित अनुभूति नहुने स्थानमा जतिसुकै आकर्षक स्थान र विषय भएपनि मानिस जान चाहँदैनन् । ज्यान जोखिममा पारेर कसैले पनि खुसी मनाउन सक्दैनन् । घुम्न हिँडेका पर्यटकको लक्ष्य भनेको खुसी र आनन्दको अनुभूति गर्नु हो । सुरक्षा प्रदान गर्ने पहिलो दायित्व राज्यको हो । 

स्थानीय सरकारको हो । सुरक्षाको राम्रो व्यवस्था नगरी पर्यटकलाई आकर्षित गर्न सकिँदैन । सँगसँगै पर्यटकलाई सेवा दिने व्यवसायमा संलग्न मानिसले पर्यटकसँग कस्तो व्यवहार गर्छन् ? उनीहरुले गर्ने व्यवहारबाट पर्यटक कति सन्तुष्ट हुन्छन् ? पर्यटकलाई कतिको न्याय गरिएको हुन्छ ? यो अर्को एकदमै महत्वको कुरा हो । पर्यटकलाई झुक्याएर, ढाँटेर, अप्ठ्यारोमा पारेर एकपटक, दुईपटक केही थोरै मानिसले अलि बढी फाइदा लिन सक्लान् । 

तर पर्यटकले आफू ठगिएको महसुस गरेर फर्केभने त्यसको दीर्घकालिन नतिजा के पर्छ ? यो बारेमा गम्भिर भएर सोच्न सके र व्यवहारमा निरन्तर परिवर्तन गरेर आउने पर्यटकलाई खुसी पार्न सकेमात्र यस्तो व्यवसायबाट दिगो फाइदा लिन सकिन्छ । अहिले हामीले सच्याउनु र सुधार गर्नुपर्ने विषय भनेको हामीले पर्यटकसँग गर्ने व्यवहार हो । पर्यटकको सुरक्षामा ध्यान दिनु पर्ने कुरामा हो ।

विश्व साइकल यात्री पुस्कर शाहले अफ्रिका भ्रमणका बारेमा लेखेका छन्– त्यहाँ पाइला पाइलामा पर्यटकलाई ठग्ने गरिन्छ । उनले केही उदाहरण पेश गरेका छन्, जस्तै ट्याक्सीमा बस्दा उनले भाडा सोधे र भाडा तय गरेर यात्रा गरे,  तर भाडा दिने बेलामा बढी भाडा मागियो । उनले तय भएको भाडा सम्झाए । ट्याक्सीवालाले त्यो त ट्याक्सीको भाडा हो, थप तेलको पैसा दिनुपर्छ भनेर यात्रुसँग धेरै पैसा लिए ।

अर्को पटक ट्याक्सी चढ्दा भाडा सोधे । तेलको दाम पनि लिन्छौ कि भनेर पनि सोधे । लिन्न भन्यो । ट्याक्सीमा यात्रा गरे । पैसा तिर्ने बेलामा थप पैसा माग्यो । किन धेरै मागेको भन्दा सिटमा बसेको पैसा बेग्लै लाग्छ भन्यो रे ।

बसमा लामो रुटमा यात्रा गर्ने यात्रीलाई बसवालाले लगेर खाना खाने र नास्ता गर्ने ठाउँमा खुलेआम बेचिदिन्छन् । एक सय नपर्ने खानालाई दुईसय पचास लिन्छन् । त्यो पनि निकै घटिया स्तरको खाना हुन्छ । त्यहाँ यात्रुलाई गर्ने व्यवहार यति बिझाउने हुन्छ कि हत्तपत्त बिर्सन सकिँदैन । त्यसैले अहिले लामो यात्रा गर्ने धेरैले आपmू बेचिएका होटलमा खानखान मन गर्दैनन् । विकल्प खोज्छन् । के यस्ता बेथितिबाट पर्यटकलाई स्थानीय सरकारले बचाउला ? सुधार गर्ला ? 

दार्जिलिड, पुरानो पर्यटकीय गन्तव्य हो । धेरैलाई लाग्छ जीवनमा एकपटक दार्जिलिड पुगौं । तर पछिल्लो केही वर्षदेखि पर्यटकको आकर्षण दार्जिलिडमा भन्दा सिक्किममा बढेको पाइन्छ । त्यसको एउटा महत्वपूर्ण कारण भनेको सिक्किम सरकारले पर्यटकलाई गर्ने व्यवहार हो । त्यहाँ कुनैपनि पर्यटकलाई सेवा दिने व्यक्तिले ठगेको, ढाँटेको, दुर्व्यवहार गरेको पाइएमा सम्वन्धित मानिसलाई तुरुन्तै दण्डित गरिन्छ । 

त्यसैले पर्यटकलाई कसैले पनि छल्ने, ढाँट्ने, झुक्याउने आँट गर्दैनन् । तर दार्जिलिङमा यो समस्या छ भनिन्छ । हाम्रो केन्द्र, प्रदेश र स्थानीय सरकार पर्यटकलाई झुक्याउने, ढाँट्ने, ठग्ने, दुर्व्यवहार गर्ने, पर्यटकसँग अनुचित फाइदा लिनेलाई ठाउँँका ठाउँ कारवाही गरेर वा प्रशिक्षित गरेर सुधार्न प्रयास गर्छ र पर्यटकलाई आश्वस्त पार्न सक्छ ? यस सम्वन्धमा सरकारको के कार्यक्रम छ ? जहाँ पर्यटक ठगिन्छन् त्यहाँ छोटो अवधिका लागि केही धुर्तले फाइदा अवश्य लिन्छन् तर दीर्घकालिनरुपमा त्यो स्थानले पर्यटक गुमाउँछ । 

पर्यटकले उपभोग गर्ने सेवा सुविधाको अवस्था कस्तो छ ? यो अर्को महत्वपूर्ण विषय हो । पर्यटकले सेवा उपभोग गरेवापत खर्च गर्ने हो । पर्यटकले गर्ने खर्च स्थानीयको आम्दानी हो । सरकारको आम्दानी हो । यदि सबै कुरा भएर पनि पर्यटकले उपभोग गर्ने सेवा र बस्तु धेरै छैनन् भने पर्यटकले चाहेर पनि खर्च गर्ने ठाउँ हुँदैन । खर्च गरेनन् भने हामीले सोचेको आम्दानी हुँदैन । त्यसैले धेरै निर्वाचित प्रतिनिधिले पर्यटनको विकास गरेर समृद्धि ल्याउँछौं भने पनि यो दिशामा ठोस कर्म गरेर सुरक्षा, व्यवहार र सुविधामा सुधार गर्न सकिएन भने फाइदा लिन सकिँदैन । 

प्रतिकृया दिनुहोस