एनएमसीले गर्यो वृहत् स्वास्थ्य शिविर 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २७ 16:53:14

33582-20180410165314.jpg

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत स्वास्थ्य समितिको आयोजनामा सोमबार चारआलीमा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

शिविरमा हाडजोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर आनन्दराज खनाल नेतृत्वको चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा फिजियोथेरापी सेवासमेत निःशुल्क प्रदान गरिएको थियो ।

चारआलीस्थित दशरथचन्द माविमा सम्पन्न शिविरमा दुहागढी, धाइजन, चारआली, धुलाबारीलगायतका क्षेत्रबाट सयौंजनाले सेवा लिएका थिए ।

 
संस्थाले विभिन्न समयमा सञ्चालन गर्दै आएको आँखा शिविर, महिला प्रजनन सम्बन्धी सचेतनालगायतका कार्यक्रमको निरन्तरता स्वरुप सो शिविरको आयोजना गरिएको समितिका संयोजक दिलिप सुवेदीले जानकारी दिए ।

उनले हाडजोर्नीका साथै नसासँग सम्बन्धित विभिन्न समस्या भएका बिरामीहरुले शिविरमा उपलब्ध सेवाको लाभ लिएको बताए । 

शिविरमा रगत परीक्षण, नसा सम्बन्धी परीक्षण, फिजियोथेरापीका साथै सम्बन्धित बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो । 

‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने नाराका साथ आफ्नो रजत जयन्ती मनाइरहेको एनएमसीले स्वास्थ्य शिविर अभियानलाई तिब्रता दिइरहेको छ ।

एनएमसी चारआली कार्यालयको स्थानीय व्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।

शिविर उद्घाटन समारोहमा एनएमसीका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको वर्तमान अवस्था र सामाजिक कार्यमा भइरहेको अग्रसरताका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । 

संस्थाको सञ्चालक समितिका सदस्य माधबचन्द्र प्याकुरेलको अध्यक्षतामा भएको शिविर उद्घाटन शत्रमा विभागीय संयोजक दिलिप सुवेदी, डाक्टर आनन्दराज खनाललगायतले शिविरको महत्वबारे प्रष्ट्याएका थिए ।

शिविर उद्घाटन समारोहको सञ्चालन चारआली कार्यालयका प्रमुख तेजकुमारी घिमिरेले गरेकी थिइन् । 
 

प्रतिकृया दिनुहोस