समृद्ध भद्रपुरका लागि एकताको खाँचोः नगरप्रमुख श्रेष्ठ


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २७ 14:16:03

33579-20180410141603.jpg

भद्रपुर ।     भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले समृद्ध भद्रपुर बनाउन सबै तह र क्षेत्रका बासिन्दाबीच एकताको खाँचो रहेको बताएका छन् ।

प्रेस क्लब भद्रपुरले आज आयोजना गरेको नगर जनप्रतिनिधिहरुको स्वागत सम्मान तथा नगर विकासमा पे्रस क्लबको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले सुस्तरुपमा रहेको भद्रपुरलाई चलायमान बनाउन स्थानीय सरोकारवाला बीचमा एकता आवश्यक रहेको बताएका हुन् ।

शासकीय अधिकार विकेन्द्रीकरणका चरणमा रहेको वर्तमानमा स्थानीय सरकार संवैधानिकरुपमा बलियो देखिए पनि व्यवहारिक रुपमा अधिकार सम्पन्न भइनसकेको भन्दै श्रेष्ठले सिंहदरबारको अधिकार स्थानीय तहमा स्थापित गर्न जाति, धर्म, वर्ग, दलभन्दा माथि उठेर समृद्धिको यात्रामा सबैको सहयोग आवश्यक रहेको बताए । 

उनले पूर्वको इतिहास बनाएको भद्रपुर नगरपालिका विपन्न होइन सम्पन्न नगर बनाउन आफू प्रतिबद्ध भएर लाग्ने बचनसमेत दिए । नागरिकको सेवामा विनाशर्त लागिपरेको जनाउँदै श्रेष्ठले विभिन्न दवावका कारण नगरको सन्तुलित कार्यमा उल्झन आइरहेको समेत प्रष्ट पारे ।

क्लबका अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीनारायण श्रेष्ठ, वडानम्बर २ का अध्यक्ष भिमबहादुर सुब्बा, ३ का अध्यक्ष कमला थुलुङ, ५ का अध्यक्ष बन्धु कार्की, ६ का अध्यक्ष पे्रमबहादुर बरुवाल, ८ का अध्यक्ष गौरव सुब्बा मनोजले धारणा राख्दै बृहद भद्रपुरको विकासमा सञ्चार जगत पूलका रुपमा उभिनु पर्ने धारणा राखे । 

कार्यक्रमको औचित्यमाथि क्लबका सल्लाहकार चिन्तामणि दाहालले प्रकाश पारेका थिए । 

कार्यक्रममा सञ्चारको वर्तमान अवस्था बारे सल्लाहकार माधव विद्रोही तथा गोपाल गिरीले आफ्ना धारणा राखेका थिए भने सञ्चालन महासचिव उत्तम नेपालले गरेका थिए ।

प्रतिकृया दिनुहोस