प्रदेशस्तरीय तरुणको प्रशिक्षण सुरु


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २६ 14:48:15

33557-20180409144815.jpg

बिर्तामोड l नेपाली काङग्रेसको भातृ संस्था तरुण दलका नेताहरुले पार्टीका कारण संगठन कमजोर बनेको आरोप लगाएका छन् ।

बिर्तामोडमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेताले पार्टीले बेवास्ता गरेको कारण तरुण दलका कार्यकर्ताहरु राज्यको निशानामा परेको आरोप लगाए ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको चेतनाको भार तरुण भएको बताएका छन् । समयको परिवर्तित व्यवस्थालाई हाँक्नका लागि तरुण परिवर्तित हुनुपर्ने उनको तर्क छ । उनले आफ्नो इच्छाशक्तिको प्रयोग गर्न सके तरुण नै देशको मुख्य शक्ति भएको दाबी गरे ।

नेपाल तरुण दल प्रदेश नम्बर–१ स्तरीय तरुण प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सिटौलाले राम्रो कामलाई निरन्तरता र कमजोरीलाई सच्याएर जान सक्ने नीति तरुण दलले बनाउनु पर्नेमा जोड दिए । हरेक तरुण नेता आफू परिर्वतन हुन आवश्यक रहेको बताउँदै, सधैँ नेतृत्व तहको प्रशंसा मात्र नगरेर भएका कमजोरीलाई सच्याउन निर्देश दिन सक्ने तरुण आजको आवश्यकता भएको सिटौलाले जनाए । तरुण दलका झापा अध्यक्ष गोपाल तामाङ्गले राज्यले तरुण युवाको संरक्षण गर्न नसकेको आरोप लगाए ।

उनले युवापक्ति कमजोर भएका कारण पार्टीको जग हल्लिन थालेको बताए । पार्टीले निर्वाचनमा भोगेको पराजय पनि युवापक्तिमा आएको निराशा प्रमुख कारण भएको बताए ।

तरुण दलका सुनसरी अध्यक्ष सिजन गुरुङले तरुण दल पार्टीको खम्बा भएपनि नेताहरुको बेवास्ताको कारण राज्यले आफुहरुलाइ प्रमुख निशाना बनाएको आरोप लगाए ।

‘एउटा घरको खम्बा कमजोर भयो भने घर ध्वस्त हुन्छ, गुरुङले भने –‘पार्टीका नेताले यो कुरा नबुझेका कारण संगठन कमजोर बन्दैछ ।’ तरुण दल नामको खम्बा लड्ने अवस्थामा पुगेको टिप्पणी उनले गरे । गुरुङले तरुण दलको राज्य स्तरीय समिति निर्माण गरेर संघर्षमा उत्रिनु अहिलेको आवश्यकता भएको बताए ।

तरुण दलका पुर्व सचिव जन्मजय तिम्सिनाले पार्टीले संगठन निर्माण नगरेका कारण अहिले तरुण दल कमजोर बनेको आरोप लगाए । पार्टीका केन्द्रिय सदस्य उदयशमसेर राणाले पार्टीले मातृसंस्था संरक्षण गर्न नसकेको कारण कमजोर भएको बताए ।

नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष गुरुराज घिमिरेले तरुण दलको सदस्यता दिने बेलामा नेताहरु अनुदार हुँदा संगठन कमजोर भएको तर्क गरे । उनले आफुलाई सदस्यता नदिनका लागि गाँउ अधिवेसन स्थगित गराएको भन्दै युवाहरुलाई संगठनमा आउन रोक्ने प्रवृति नेपाली काङग्रेस र भातृ संगठनमा हावी भएको बताए । उनले तरुण दलको सदस्य बिस्तार गर्दै १२ लाख बढी पु¥याउन सुझाव दिए ।

तरुण दलको झापा जिल्लाका पुर्व संयोजक तथा पार्टीका केन्द्रिय सदस्य केशबकुमार बुढाथोकीले अब युवाहरुले बृद्ध नेताहरुको ज्यु हजुरी गर्न नहुने बताए । उनले नेताहरु अभिभावकको भूमिकामा बस्नुपर्ने भन्दै युवाले पार्टीमा हस्तक्षेप गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य सरिता प्रसाई, महेन्द्र यादव, सुरेन्द्र पाण्डे, शुसिला ढकाल लगायतले तरुण दलको शसक्तिकरणमा जोड दिएका थिए । प्रशिक्षणमा १ नम्बर प्रदेशका लगभग २ सय युवा सहभागि रहेका छन् ।

उत्तर चापागाँई, मिनेन्द्र रिजाल र बिनोद कायस्थले प्रशिक्षण दिने कार्यक्रम रहेको तरुण दल झापाका अध्यक्ष गोपाल तामाङले जानकारी दिए । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले बिरुवामा पानी हालेर गरेका थिए ।

प्रतिकृया दिनुहोस