नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न गम्भीर छलफलः परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली


अनलाइन, प्रकाशित मिति : २०७४ ,चैत्र , २६ 13:21:27

33555-20180409132127.jpg

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतसँग भएका तीन महत्वपूर्ण समझदारीले नेपालको समृद्धितर्फको यात्रामा दुरगामी महत्व राख्ने विश्वास गरेका छन् । 

जलमार्गसहित समुद्रसम्मको पहुँच भूपरिवेष्टित राष्ट्रका लागि महत्त्वपूर्ण रहेको भन्दै उनले रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग चलाउने विषय र कृषिप्रधान मुलुक नेपालका लागि कृषिमा साझेदारीको सोच त्यत्तिकै उपयोगी हुने बताए ।
 
नेपाल र भारतबीच कार्यान्वयन र प्रतिवद्धताका खाडल रहेकोमा प्रधानमन्त्रीको नेतृत्वमा गरिएको भ्रमणमा पहिले भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइएको मन्त्री ज्ञवालीले बताए । 

‘कार्यान्वयनमा देखिएको खाडल पुर्न सक्नुपर्छ । त्यसमा हामीले परिवर्तन गरेका छौं । भारतले साना–साना कुरामा प्रतिवद्धता जनाउने तर कार्यान्वयन नगर्ने अवस्थाले झन् असमझदारी बढाउने विषयलाई हामीले छलफलमा उठायौं’ परराष्ट्रमन्त्री ज्ञवालीले बताए । 

नेपाल–भारतबीच रहेका दुई दर्जनभन्दा बढी संयन्त्रलाई क्रियाशिल बनाएर काम अघि बढाइने उनको भनाई छ । दुवै देशमा स्थायी र शक्तिशाली सरकार निर्माण भएका बेला अब कार्यान्वयन नहुने समस्या नहरने उनको विश्वास छ ।

मन्त्री ज्ञवालीले नेपाल र भारतबीच रहेको व्यापार घाटा कम गर्नेबारेमा गम्भीर छलफल भएको पनि बताए । नेपालको जीडीपीको एक तिहाइ बराबर व्यापार घाटा रहेको र त्यसको पनि ८० प्रतिशत भारतसँग रहेको अवस्थामा नेपालले यस्तो अवस्थालाई अन्त्य गर्न चाहेको विषय उठाइएको उनको तर्क छ । 

नेपालको आन्तरिक मामिलामा कसैसँग नगर्ने नीति सरकारको रहेको भन्दै भारत भ्रमणका क्रममा त्यस्ता विषयमा छलफल नभएको बताए । 

‘हामीले नेपालको आन्तरिक विषयमा भारतसँंग मात्र होइन, कसैसँंग पनि छलफल नगर्ने नीति लिएका छौ । प्रधानमन्त्री ओलीलाई खुलेर गरेको स्वागतले पनि भारतको रिजर्भेसन नरहेको प्रस्ट हुन्छ’ ज्ञवालीले भनेका छन् । 

कुनै पनि मुलुकसँंग छलफल गर्दा एकअर्काको दुईपक्षीय विषयमा अन्य मुलुकको प्रसंग र सम्बन्ध नजोड्ने सरकारको नीति रहेको भन्दै भारत भ्रमणका क्रममा चीनको विषय आउने सवाल नै रहेको बताए । 

‘नेपालको भारतसँग र नेपालको चीनसँगको सम्बन्ध विलकुल फरक हुन् । त्यसलाई जोड्न, तुलना गर्न चाहँदैनौं । त्यसमा कतिपयले जोड–घटाउ गर्लान्, आफ्नो दृष्टिकोण राख्लान् । नेपालको स्वतन्त्र परराष्ट्र नीति छ । कुनै पनि देशसँग अर्को देशको तुलना त के कुरासमेत गर्दैनौं’ परराष्ट्रमन्त्री ज्ञवालीले भने । 

प्रतिकृया दिनुहोस