एनएमसीले चारआलीमा बृहत् स्वास्थ्य शिविर गर्दै


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २५ 18:21:08

चारआली । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा सोमबार चारआलीमा बृहत् स्वास्थ्य शिविर हुने भएको छ । 

हाडजोर्नी, नसाका साथै फिजियोथेरापी सेवासहितको एकदिने निःशुल्क स्वास्थ्य शिविर चारआलीस्थित दशरथचन्द माविको प्राङ्गणमा सञ्चालन हुने स्वास्थ्य समितिका संयोजक दिलिप सुवेदीले जानकारी दिए ।
 
संस्थाले विभिन्न समयमा सञ्चालन गर्दै आएको आँखा शिविर, महिला प्रजनन सम्बन्धी सचेतनालगायतका कार्यक्रमको निरन्तरतास्वरुप सो शिविरको आयोजना गरिएको समितिका संयोजक सुवेदीले बताए । 

उनले हाडजोर्नीका साथै नसासँग सम्बन्धित विभिन्न समस्या भएकालाई शिविरमा उपलब्ध सेवाको लाभ लिन आह्वान गरेका छन् ।
 
शिविरमा रगत परीक्षण, नसा सम्बन्धी परीक्षण, फिजियोथेरापीका साथै सम्बन्धित बिरामीलाई निःशुल्क औषधि वितरण गरिने समितिका सदस्य सचिव जीवनमणि कटुवालले बताए । 

शिविरको स्थानीय व्यवस्थापन एनएमसी चारआली कार्यालयले गर्नेछ । ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने नाराका साथ आफ्नो रजत जयन्ती मनाइरहेको एनएमसीले स्वास्थ्य परीक्षणको अभियानलाई तिब्रता दिइरहेको हो । 

शिविरमा हाडजोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रदान गर्नेछ । शिविर बिहान १० बजेदेखि सञ्चालन हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस