एमाले–माओवादी एकीकरण : एक पार्टी, दुई अध्यक्ष 


अनलाइन, प्रकाशित मिति : २०७४ ,चैत्र , २५ 14:11:36

33535-20180408141136.png

काठमाडौं l लामो समयको वहस र छलफलपछि नेकपा एमाले र माओवादी केन्द्रबीच दुई अध्यक्ष रहने गरी पार्टी एकीकरणको अन्तिम तयारी भएको छ । नेपाली राजनीतिमा नयाँ प्रयोगका साथ एमाले–माओवादी मर्ज भएर सिङ्गो एउटा पार्टी र दुई अध्यक्ष हुने भएका छन् । यसरी बन्ने नेपाल कम्युनिष्ट पार्टीलाई दुई अध्यक्षले राजनीतिक दिशा दिने भएका छन् ।

अब चाँडै नै एकीकृत पार्टीमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै एकीकृत पार्टीको अध्यक्ष हुँदैछन् । आलोपालो अध्यक्षता गर्ने गरी उनीहरू अध्यक्ष बन्दैछन् । एकीकृत पार्टीका लागि तयार पारिएको ‘नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधान २०७५’ मा पार्टीको आगामी एकता महाधिवेशनसम्म दुई अध्यक्ष रहने र आलोपालो अध्यक्षता गर्ने उल्लेख छ ।

विधानमा महाधिवेशन अगाडिसम्म पार्टीमा दुई अध्यक्ष रहने र अध्यक्षता गर्ने व्यक्ति अर्को अध्यक्षको भन्दा बरियतामा पहिलो हुने व्यवस्था छ । तर पार्टीको आधिकारिक निर्देशन र पत्राचारमा भने दुवै अध्यक्षको हस्ताक्षर हुनेछ । एउटा पार्टीमा दुई वटा अध्यक्ष हुने भएपछि कार्यक्षेत्र र अधिकारको विषय जटिल हुने सम्भावना भन्ने देखिएको छ ।

यी हुन् अध्यक्षका अधिकार

एमाले र माओवादीले अन्तरिम विधानमा दुई अध्यक्षको काम कर्तव्य उल्लेख गरिएको छ । यसको उद्देश्य भविष्यमा विवाद सिर्जना नहोस् भन्नाका लागि हो । विधानमा पार्टी अध्यक्षका आठ वटा काम तोकिएको छ ।
अन्तरिम विधानको धारा १८ मा रहेको केन्द्रीय कमिटी शीर्षकको बुँदा नम्बर ‘च’ मा पार्टी अध्यक्षको अधिकार र कर्तव्यको व्यवस्था गरिएको पार्टी एकता संयोजन समितिका पदाधिकारीले जानकारी दिएका छन् ।

विधानमा अनुसार पार्टी अध्यक्षले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठकको अध्यक्षता गर्ने, पार्टीका प्रमुख नेताको रूपमा समग्र पार्टीको नेतृत्व गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यस्तै पार्टीका नीति तथा केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका निर्णयहरूको कार्यान्वयन गर्ने गराउने, पार्टी विधानको कार्यान्वयन गर्ने गराउने, केन्द्रीय कमिटीको तर्फबाट राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीले तोकेका अन्य कार्यहरू समेत अध्यक्षले गर्नेछन् । यस्तै हरेक निर्णयमा दुबै अध्यक्षले हस्ताक्षर गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

मृत्युपछि पनि सदस्यता

एमाले माओवादी एकताबाट बन्ने कम्युनिष्ट पार्टीले मृत्युपछि पनि पार्टी सदस्यता दिन सक्ने व्यवस्था गरेको छ । अन्तरिम विधानको धारा १० ख मा मानार्थ सदस्य अन्तर्गत कम्युनिष्ट तथा लोकतान्त्रिक र सामाजिक आन्दोलनमा विशिष्ट भूमिका खेलेका र राष्ट्र तथा समाजको सेवामा समर्पित रहेको अवस्थामा मृत्यु भएका व्यक्तिलाई स्थानीय कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले मृत्युपरान्त पनि मानार्थ सदस्ता प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।
यस्तै मानार्थ सदस्यका लागि कम्युनिष्ट, लोकतान्त्रिक र सामाजिक आन्दोलनको विशिष्ट भूमिका खेलेको र राष्ट्र तथा समाजका लागि विशेष योेगदान गरेका विशिष्ट व्यक्तिहरूलाई केन्द्रीय कमिटीले मानार्थ सदस्यता प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रस्तावित नेपाल कम्युनिष्ट पार्टीको अन्तरिम विधानको धारा ७ मा ३ किसिमका पार्टी सदस्यसम्बन्धी व्यवस्था गरिएको छ ।
१) नम्बरमा सदस्यको व्यवस्था गरिएको छ ।

२) नम्बरमा संगठित सदस्यको व्यवस्था गरिएको छ ।

३) नम्बरमा मानार्थ सदस्यको व्यवस्था गरिएको छ ।
धारा ८ मा सदस्यको योग्यता कायम गरिएको छ ।

१८ वर्ष पूरा भएको नेपाली नागरिक, नैतिकवान र स्वच्छ चरित्र भएको, मानसिक सन्तुलन नगुमेको, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, पार्टीबाट सञ्चालित आन्दोलन र कार्यक्रमहरूमा सहयोगी रहेको, पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान मान्न तत्पर, उत्पादनमूलक श्रममा संलग्न हुन र सामाजिक आर्थिक रूपान्तरणमा क्रियाशील हुन तत्पर हुनुपर्ने पार्टी सदस्यको योग्यता तोकिएको विधानमा उल्लेख छ ।

माथि उल्लेख गरिएको योग्यता पुगेको व्यक्तिले आफू रहेको वडा कमिटीमा आवेदन दिनुपर्ने हुन्छ । यसरी आवेदन प्राप्त भएपछि वडा कमिटीले शुल्क लिएर सदस्यता दिई व्यक्तिगत विवरणसहितको अभिलेख राख्नेछ र उक्त अभिलेख जिल्ला कमिटीमा पनि पठाउनेछ । जिल्ला कमिटीले पनि विवरणको अभिलेख राख्ने र संख्यात्मक विवरण प्रदेश कमिटी तथा केन्द्रीय संगठन विभागमा पठाउने छ ।

यस्ता छन् सदस्यको अधिकार

पार्टी सदस्यहरूले कुनै पनि जनसंगठन वा संयन्त्रमा संगठित भई काम गर्न सक्नेछ, पार्टीका दस्तावेजहरू प्राप्त गरी अध्ययन गर्ने, वडा कमिटीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सहभागी हुने, तोकिएको समयमा सदस्यता नवीकरण गर्ने रहेको छ ।

धारा ८ मा भएको योग्यता पुगेको, पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिप्रति प्रतिबद्ध तथा विधानलाई निःशर्त स्वीकार गरी कार्यान्वयन गर्न तत्पर, कम्युनिस्ट आचारण र नैतिकताको पालना गर्न, सार्वजनिक जवाफदेहिता बहन गर्न र पारदर्शी जीवनशैली अपनाउन प्रतिबद्ध, पार्टी सदस्य भएर जनसङ्गठन वा संयन्त्रमा सङ्गठित भर्ई कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

माथि उल्लेखित योग्यता पुगेका व्यक्तिले दुई जना संगठित सदस्यको सिफारिससहित आफू रहेको वडाको वडा कमिटीमा आवेदन दिने, वडा कमिटीले छानविन गरी नगर वा गाउँ कमिटीमार्फत जिल्ला कमिटीमा पठाउने, जिल्ला कमिटीले तोकिएको शुल्क लिई संगठित सदस्यता प्रदान गर्ने र अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने, प्रदेश कमिटीले आवश्यक छानविन गरी अनुमोदन गरी सदस्यता नम्बर राख्न र अभिलेख राख्न केन्द्रीय संगठन विभागमा पठाउने, केन्द्रीय संगठन विभागले अभिलेखमा राखी सदस्यता नम्बर दिने प्रदेश कमिटी मार्फत सम्बन्धित मातहतका कमिटीमा पठाउने व्यवस्था गरेको छ ।

गैरकम्युनिष्ट पार्टीबाट प्रवेश गरेका व्यक्तिलाई जिल्ला कमिटी वा प्रदेश कमिटी वा केन्द्रीय संगठन विभागको सिफारिसमा केन्द्रीय कमिटीले संगठित सदस्यता प्रदान गर्ने व्यवस्था गरिएको छ । सदस्यतासम्बन्धी विवाद वा समस्या उत्पन्न भएमा जुन कमिटीले सदस्यता दिएको हो, सोही कमिटीले निर्णय गर्ने व्यवस्था गरिएको छ ।


संगठित सदस्यहरूको काम, कर्तव्य र अधिकार

पार्टीको सदस्यभन्दा संगठित सदस्यहरूका लागि काम कर्तव्य र अधिकार धेरै दिइएको छ । पार्टीको कमिटी वा आयोग वा परिषद् वा विभाग वा संयन्त्र वा जनसंगठनमा संगठित भई काम गर्ने ।

पार्टीको बैठक, अधिवेशन र महाधिवेशनमा चुन्ने, चुनिने तथा नीति निर्णयमा मतदान गर्ने र सम्बन्धित कमिटीमा आफ्नो मत जाहेर गर्ने, पार्टीबाट जारी गरिएका निर्देशन, निर्णय र दस्तावेजहरू प्राप्त गर्ने, अध्ययन गर्ने र तिनको पालना र कार्यान्वयन गर्ने, पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिको दृढतापूर्वक अनुशरण गर्दै आफ्नो जिम्मेवारी पूरा गर्ने, पार्टीका कार्यक्रमहरू, उत्पादनशील कार्य तथा विकास निर्माण लगायतका जनसरोकारका सामाजिक कृयाकलापमा सक्रिय रहने, रुढीवाद, अन्धविश्वास, सामाजिक विकृति, उत्पीडन र विभेदका विरुद्ध उभिने, पार्टी अनुशासन पालना गर्दै पार्टीको एकता, गोपनियता, हित र प्रतिष्ठालाई जोगाइराख्न क्रियाशील रहने, आफूमाथि कार्वाही भयो र चित्त बुझेन भने माथिल्लो कमिटीमा पुनरावलोकन गर्नसक्ने व्यवस्था गरिएको छ ।

यसरी हुन्छ सदस्यता समाप्ती

नेकपाको अन्तरिम विधानको धारा ११ मा पार्टी सदस्यताको समाप्तिको व्यवस्था गरिएको छ, जस अनुसार स्वेच्छाले सदस्यता परित्याग गरेमा, संगठित सदस्य विनाअनुमति लगातार १ वर्षभन्दा बढी समय निस्क्रिय रहेमा, पार्टीले अनुशासनको कार्वाही गरी सदस्यबाट निष्काशित गरेमा, तोकिएको समयमा सदस्यता नवीकरण नगराएमा, मानार्थ सदस्यहरूले तदअनुरूपको आचारण, व्यवहार नगरेमा र सदस्यको मृत्यु भएमा सदस्यताको समाप्ति हुने व्यवस्था गरिएको छ ।

रामबहादुर थापा संयोजक रहेको कार्यदलले नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधान २०७५ तयार पारेको हो । कार्यदलमा एमाले नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुवीर महासेठ र माओवादी केन्द्रबाट गिरिराजमणी पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस