आत्मनिर्भर महिला साकोसमा सदस्य शिक्षा तालिम 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २५ 10:19:59

33530-20180408101959.jpg

बिर्तामोड । सहकारीमा सदस्यलाई सहकारी सम्बन्धी तालिमसँगै जीवनोपयोगी शिक्षा प्रदान गरेर सदस्यलाई सबल बनाउनु पर्दछ भन्ने अन्तर्राष्ट्रिय सिद्धान्तलाई आत्मसात गर्दै यहाँको एउटा सहकारीले शनिबार कार्यक्रम सम्पन्न गरेको छ । 

बिर्तामोड नगरपालिका क्षेत्रमा बसोबास रहेका ५६० जना महिलाले सदस्यता लिएको आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाले आधाभन्दा बढी शेयर सदस्यको उपस्थितिमा यस्तो कार्यक्रम गरेको हो । 

बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं अध्यक्ष रहेको आत्मनिर्भर सहकारी संस्थाका सदस्यहरुलाई भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठले नयाँ संविधानमा महिलाका अधिकार विषयमा सहजीकरण गरेकी हुन् ।

संस्थाको वार्षिक कार्ययोजना अनुसार आयोजित कार्यक्रममा डिभिजन सहकारी कार्यालय भद्रपुरका सहकारी निरीक्षक डिल्ली दाहालले सहकारीका मूल्य मान्यता सिद्धान्तका बारेमा अवगत गराएका छन् । 

उनले स्थानीय तहमा सहकारीको अभिलेख हस्तान्तरण भइसकेको अवस्थामा अब आत्मनिर्भर सहकारीले बिर्तामोड नगरपालिकाबाटै यस सम्बन्धी सेवा पाउने पनि जानकारी गराए ।

संस्थाका सचिव पुष्पा दाहालले सञ्चालन गरेको सहकारी शिक्षा तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले गरेका थिए ।

संस्थामा अहिले ३० लाख रुपैयाँ हाराहारी शेयर रकम र ५० लाख रुपैयाँ बराबरको निक्षेप कारोबार भइरहेको संस्थाका व्यवस्थापक इन्दिरा खनालले बताइन् ।

प्रतिकृया दिनुहोस