माँ लक्ष्मीमा ९ वर्षदेखि निरन्तर रक्तदान


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २४ 19:55:39

33510-20180407195539.jpg

बिर्तामोड । यहाँस्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज मुक्तिचोकको दुर्गा मन्दिर परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २८ पिन्ट रगत संकलन भएको छ । 

संस्था स्थापना भएको वर्षदेखि नै लगातार चैत महिनालाई रक्तदान महिनाका रुपमा माँ लक्ष्मीले कार्यान्वयन गर्दै आएको अध्यक्ष रामप्रित शर्माले बताए । 

संस्थाको उद्घाटन नै रक्तदान कार्यक्रम गरेर सामाजिक योगदानबाट शुरु गरिएकाले हरेक वर्ष यस्तो कार्यलाई निरन्तरता दिइएको अध्यक्ष शर्माको भनाई छ । 

योसमेत गरेर ९ वर्षदेखि रक्तदान गरिँदै आएको छ । ३ महिला र २५ जना पुरुषले आज रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रमको प्राविधिक सहयोग उपशाखा बिर्तामोडको रहेको थियो । 

उद्घाटन समारोहमा आफ्नो मन्तब्य राख्दै सभापति ढकालले पुराणमा जिन्सी वा नगद दान गर्नुभन्दा रक्तदान कार्यक्रममा सहभागी भएर रगत दान गर्दा बढी पुण्यार्जन गरिने तर्क गरे । 

उनले रगत दान गर्नु भनेको अरुको जीवन बचाउनु हो भन्ने सोचेर पुण्य कमाउन पनि रक्तदान गर्नु राम्रो हुने सन्देश दिए । 

संस्थाका सचिव देवेन्द्रकुमार सिंहले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रितहरुलाई उपाध्यक्ष घनश्याम चौधरीले शाब्दिक स्वागत गरेका थिए ।

रक्तदान कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलाराम कार्की तथा छठ पूजा समिति बिर्तामोडका पूर्व अध्यक्ष प्रेमचन्द्र चौधरीले पनि आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस