मोबाइल सेवामा ‘भर्चुअल नेटवर्क अपरेटर’ भित्र्याउने तयारी


अनलाइन, प्रकाशित मिति : २०७४ ,चैत्र , २४ 12:15:49

33501-20180407121549.png

काठमाडौं । नेपालमा पनि मोबाइल ‘भर्चुअल’ नेटवर्क अपरेटर कम्पनी भित्रिने भएका छन् । मोबाइल सेवालाई प्रभावकारी बनाउने गरी सरकारले निर्देशिकाको मस्यौदा तयार गरेको छ ।

ठूला विदेशी कम्पनी पनि आउन सक्ने गरी तयार भएको मस्यौदा नेपाल दूरसञ्चार प्राधिकरणको बोर्डबाट पास भएर सरकारसमक्ष पेश हुनेछ । सरकारले स्वीकृति दिएसँगै नेपालमा भर्चुअल मोबाइल सेवा प्रदायकहरु भित्रिन सक्छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अहिले सञ्चालनमा रहेका दूरसञ्चार सेवा प्रदायकको फ्रिक्वेन्सी र नेटवर्क प्रयोग गर्ने गरी भर्चुअल सेवा प्रदायक भित्र्याउन लागेको हो ।

यसरी आउने कम्पनीले अहिले मोबाइल सेवा प्रदान गरिरहेका कम्पनीकै पूर्वाधार प्रयोग गरेर नयाँ रुपमा सेवा दिनेछन् । भर्चुअल सेवाप्रदायकलाई छुट्टै फ्रिक्वेन्सी दिएर नेटवर्क खडा गर्न अनुमति नदिइने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

हालका सेवा प्रदायकको फ्रिक्वेन्सी र नेटवर्क प्रयोग गरे पनि कम्पनी स्वतन्त्र स्वरुपको हुनेछ । उसले आफ्नो सेवालाई छुट्टै रुपमा चलाउँछ । सेवा प्रदायक र भर्चुअल सेवा प्रदायक व्यवसायिक सम्झौता दोहोरो हितमा आधारित हुनेछ ।

भर्चुअल कम्पनीले अहिले मोबाइल सेवा दिन अनुमति लिएका नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएल र हेलो नेपालकै फ्रिक्वेन्सी र नेटवर्क तथा पूर्वाधार प्रयोग गर्न सक्नेछन् । अहिले मोबइल सेवा दिइरहेका कम्पनीकै पूर्वाधार प्रयोग गर्नेगरी यस्ता कम्पनी आउनेछन् । अहिले प्रस्तावित व्यवस्थामा बिलिङ प्रणाली भर्चुचल नेटवर्क अपरेटरको आफ्नै हुने भनिएको छ ।

यस्ता अपरेटरले भ्वाइस, एसएमएस र डाटा सेवा दिन सक्छन् । एकै नेटवर्कमा पनि फरक सेवा दिन सकिने भएकाले यसलाई विशेष मानिएको छ ।  युरोपमा निकै प्रचलनमा रहेको यस्तो अभ्यासलाई पहिलो पटक नेपालमा प्रयोग गर्न प्राधिकरणले प्रक्रिया अघि बढाएको छ ।

‘प्रस्तावित निर्देशिका अहिले बोर्डमा छलफलका क्रममा छ । बोर्डबाट पास भएर सरकारले स्वीकृत गरेपछि मोबाइल भर्चुअल सेवा दिने कम्पनीहरु आउने बाटो खुल्छ,’ प्रवक्ता अर्यालले भने ।

प्राधिकरणले प्रस्ताव गरेको निर्देशिकामा अहिलेका सेवा प्रदायसाग व्यवसायिक सम्झौता गरेर जति पनि भर्चुअल कम्पनीहरु आउन सक्ने व्यवस्था गरिएको छ । यसले सेवामा सहजता र गुणस्तरीयता पनि ल्याउने अपेक्षा सरकारको छ ।

मोबाइल सेवा प्रदायक कम्पनीबीच भर्चुअल कम्पनी अएपछि सेवा विस्तार र गुणस्तरीयता कायम गर्ने सवालमा स्वस्थ किसिमको प्रतिस्पर्धा सिर्जना हुने अपेक्षा गरिएको अर्यालले बताए ।

दूरसञ्चार ऐनको व्यवस्थाअनुसार नै भर्चुअल अपरेटरको लागि अनुमतिपत्र जारी गरिने प्राधिकरणले जनाएको छ । ऐनअनुसार प्राधिकरणको सिफारिसमा सरकारले सेवा प्रदायकलाई अनुमतिपत्र जारी गर्छ । यस्ता अपरेटरलाई लाइसेन्स दिँदा र नवीकरण गर्दा कति शुल्क लिने भन्ने विषय प्रस्तावित निर्देशिकामा नै गरिएको छ ।

निर्देशिकाले सेवा प्रदायकले सम्पादन गर्नुपर्ने सेवा, शर्त र सीमाहरुको किटान गरेको छ । सरकारले तोकेको नियममा बसेर मोबाइल भर्चुअल नेटर्वक अपरेटरले सेवा दिनेछ । यो व्यवस्था पनि अहिले सेवा विस्तरमा कठिनाइ भोगिरहेका सेवा प्रदायकलाई विशेष लाभ मिल्नेछ । यसका कारण मुख्य सेवा प्रदायक कम्पनी एनसेल र टेलिकम कम्पनीलाई पनि नेटवर्क विस्तार र सेवा सुधारमा दबाव पर्नेछ ।

भर्चुअल नेटकवर्क अपरेटरसँग व्यवसायिक रुपमा जोडिएर काम गर्दा उनीहरुलाई आर्थिक लाभ पनि हुनेछ । तर, मोबाइल सेवा प्रदायकले यो व्यवस्थालाई कसरी लिन्छन् भन्ने हेर्न भने बाँकी छ ।

प्राधिकरणले नर्देशिका तयार गर्ने क्रममा अहिलेका सेवा प्रदायकहरुसँग छलफल पनि गरेको छ । मुख्य सेवा प्रदायहरु भर्चुअल नेटवर्कबाट सेवा थाल्दा आफ्नो बजार खोसिनेमा सशंकित भने देखिएका छन् ।

तर, बजारमा प्रतिस्पर्धा हुँदा त्यसको लाभ भने सेवाग्राहीले उठाउन सक्नेछन् । नयाँ सेवा प्रदायक आउँदा आफ्नै बिजनेश प्लान ल्याउने भएकाले त्यसले सेवाग्राहीलाई लाभ दिने विश्वास सरकारको छ ।

प्रतिकृया दिनुहोस