झापाका लोकेश खतिवडा घर फर्कदै


सूर्य खवास, प्रकाशित मिति : २०७४ ,चैत्र , २४ 08:00:58

33500-20180407080058.jpg

युएई । विगत लामो समयदेखि ब्लड मनी तिर्न नसकेर युएईको भूमि छाड्न नपाएर कष्टसाध्य जीवन व्यतित गरिरहेका झापाको अर्जुनधारा नगरपालिका ९ का लोकेश खतिवडा नेपाली राजदूताबासको सकारात्मक प्रयास पछि घर फर्कन पाउने भएका छन् ।

युएईका लागि नेपाली राजदूताबासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल सहितको टोली र अबुधावी अदालतका प्रमुख न्यायाधीशबीच भएको भेटपछि यस्तो परिणाम निस्किएको दूताबासका अधिकारीले जनाएका छन् । 

नेपाली दूताबासको लामो प्रयासमा स्थानीय रोजगार बीमा कम्पनीले ब्लड मनी वापतको ३ लाख २० हजार २०० दिराम (करिब १ करोड नेपाली रूपैयाँ) अदालतमा बुझाएकोले खतिवडाको अदालती काम कारबाही सकिएको जनाइएको छ । 

‘अब  खतिवडालाई नेपाल फर्काउन केही प्रशासनिक प्रक्रियाहरू पूरा गर्नुपर्नेछ’ नेपाली दूताबासका अधिकारीले भनेका छन्, ‘सो प्रक्रिया पूरा भएपछि खतिवडा छिट्टै नेपाल फर्किनु हुनेछ ।’

अबुधाबीको डेजर्ट मेन ट्रान्सपोर्टिङ कम्पनीमा कार्यरत रहेको अवस्थामा सन् २०१४ जुन ८ तारिखका दिन खतिवडाले चलाएको मोटर दूर्घटना हुँदा गाडीमा सवार एक भारतीय नागरिकको मृत्यु भएको थियो । 

सोही अभियोगमा अबुधाबी अदालतले सन् २०१७ मा खतिवडा र बीमा कम्पनीका विरूद्व उल्लेखित रकम तिनुपर्ने फैसला सुनाएको थियो ।

विवाह गरेको दुई महिनामै आमा र श्रीमतीलाई छाडेर आर्थिक उपार्जनका लागि युएई आएका खतिवडा सो दूर्घटनाका कारण शारीरिक रुपमा अशक्त भएर कष्टपूर्ण जीवन बाँचिरहेका छन् । बीमा कम्पनीले मृतकको परिवारलाई उपलब्ध गराउनु पर्ने रकम उपलब्ध नगराएका कारण खतिवडाले कष्ट व्यहोर्नु परेको हो ।

जीवनयापन पनि कष्टकर बन्दै गएको अवस्थामा नेपाली राजदूताबास, एनआरएनलगायत युएईमा क्रियाशील सामाजिक संघ–संस्था र सञ्चारकर्मीहरुले समाचार सम्प्रेषण गरेर मुद्दालाई उठाउन पहल गरेको फलस्वरुप खतिवडा घर फर्कने  वातावरण बनेको हो ।

प्रतिकृया दिनुहोस