झापाली समाज युएईमा नयाँ नेतृत्व चयन 


सूर्य खवास, प्रकाशित मिति : २०७४ ,चैत्र , २४ 07:33:30

33498-20180407073330.jpg

युएई । एकता, सहयोग र सहकार्यको मूल नाराका साथ स्थापित झापाली समाज युएईको दोस्रो विशेष अधिवेशन नयाँ नेतृत्व चयन गर्दै ६ अप्रिलमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय कलाकार संघ युएईका महासचिव राम तामाङको प्रमुख आतिथ्यमा शुक्रबार भएको विशेष अधिवेशनमा विघटित कार्यसमितिका अध्यक्ष रोहित भण्डारीले संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए । 

यस्तै कोषाध्यक्ष सुमन भट्टराईले आर्थिक प्रतिवेदन, प्रथम उपाध्यक्ष एवम् विधान संशोधन समितिका संयोजक तेजमणि सुवेदीले संशोधित विधान सभामा टेवल गरेका थिए । 

तीनवटै प्रतिवेदनमाथि गहन छलफल गरी सुझावसहित पारित गरिएपछि आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु गरिएको थियो ।

अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि एनआरएन युएई अबुधाबीका अध्यक्ष दुर्योधन कार्कीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । सो समितिले समाजका पूर्व महासचिव अशोक चापागाईंको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । 

झापाली समाज युएईको प्रथम, द्वितिय र तृतीय उपाध्यक्षमा हरि कट्वाल, जीवनाथ नेपाल र रेणु ढकाल निर्वाचित भएका छन् । यसैगरी, महासचिवमा तेजमणि सुवेदी, कोषाध्यक्षमा बुद्धिमान बुढाथोकी, सचिवमा प्रकाश सिग्देल र अमर राई निर्वाचित भएका निर्वाचन समितिका संयोजक कार्कीले घोषणा गरेका हुन् । 

समितिका सदस्यहरुमा भिष्म भट्टराई, लीला बिमली, लोकेश कोइराला, बासुदेव चापागाईं, किशोर केसी, कृष्ण फुयाँल, कुन्दन मण्डल र मित्रलाल पोख्रेल रहेका छन् । 

संस्थाका निवर्तमान अध्यक्ष रोहितकुमार भण्डारीको सभापतित्वमा सम्पन्न अधिवेशनमा पूर्व केन्द्रीय सदस्य मित्रलाल पोख्रेलले स्वागत मन्तव्य राखेका थिए ।

झापाली समाज युएईका परिकल्पनाकार एवम् प्रवक्ता रामप्रसाद ढुङ्गेल, कोषाध्यक्ष सुमन भट्टराई तथा अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष हिमाल अधिकारीले आ–आफ्ना भनाई राख्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनको अवसरमा समाजका पूर्वकोषाध्यक्ष सुमन भट्टराईलाई रोजगारीको शिलशिलामा युएईमा रहँदा समाजको समग्र विकासमा दिएको योगदानको कदर गर्दै सम्मानसहित विदाई गरियो । 

झापाको भद्रपुरमा स्थायी घर भएका भट्टराईले ७ वर्षसम्म युएईमा रहेर रोजगार गरी आफूले बटुलेको अनुभव र क्षमतालाई नेपालमै खर्चने योजनासहित झापा जान लागेकाले उनलाई विदाई गरिएको हो । 

प्रतिकृया दिनुहोस