वैशाख १ देखि आर्थिक गणना, झापामा प्रशिक्षण 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २२ 20:44:27

33461-20180405204427.jpg

भद्रपुर । नेपालमा आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । देशमा पहिलो पटक हुन लागेको आर्थिक गणनाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गरिसकिएको छ भने जिल्ला–जिल्लामा कार्यालय स्थापना गरी काम अघि बढाइएको छ ।

झापामा चैत १ गते कार्यालय स्थापना गरी गणनाका लागि पूर्वाधार व्यवस्थापनको काम अघि बढाइएको हो ।  

यसै सन्दर्भमा सर्वेक्षणका लागि झापामा छनोटमा परेका गणकहरुलाई आवश्यक प्रशिक्षण दिन शुरु गरिएको छ । बिहीबार प्रशिक्षण गोष्ठीको उद्घाटन गरिएको छ ।

भद्रपुरस्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा शुरु गरिएको तालिमको आर्थिक गणना समन्वय समिति झापाका संयोजक प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उद्घाटन गरे । 

कर्मचारी निरोज कट्टेलले सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रममा तथ्याङ्क विभागका उपसचिव शिवप्रसाद चौधरीले आर्थिक गणना कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यालय प्रमुख उषा रिजालले स्वागत गरेकी थिइन् । 

झापामा १४४ जना गणक र २१ जना सुपरीवेक्षक यो कार्यक्रमका लागि परिचालित हुनेछन् । उनीहरुलाई बेग्लाबेग्लै समूह बनाई आर्थिक गणनाका आवश्यक सूचक तथा प्रश्नावलीका विषयमा प्रशिक्षित गराइने कार्यालय प्रमुख रिजालले जानकारी दिइन् । 

प्रशिक्षणमा तथ्याङ्क निर्देशक डा. महेश सुवेदी र प्रमोदराज रेग्मी, उपसचिव चौधरी, जनकबाबु काफ्ले र कार्यालय प्रमुख उषा रिजालले सहजीकरण गर्नेछन् । तालिम पाँच दिनसम्म चल्नेछ ।

‘राष्ट्रिय आर्थिक गणना २०७५’ नाम दिइएको यस कार्यक्रममा गणकका लागि अधिकांश सरकारी कर्मचारीलाई नै काजमा खटाइएको छ भने स्थानीय तहहरुमा कार्यरत सामाजिक परिचालकहरुलाई पनि सहभागी गराइएको प्रमुख रिजालले जानकारी दिइन् ।

नयाँ वर्ष २०७५ को पहिलो दिनदेखि नै सर्वेक्षण शुरु हुने यो कार्यक्रम जेठ मसान्तसम्म चल्नेछ ।

जनगणना, कृषि गणना, औद्योगिक गणना भए पनि सम्पूर्ण गैर–कृषि क्षेत्रको आर्थिक क्रियाकलापलाई एकै समयमा समेट्ने गरी कुनै गणना नभएको अवस्थामा यो आर्थिक गणना गर्न लागिएको राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागका प्रमोदराज रेग्मीले जानकारी दिए ।

आर्थिक गणना कार्यक्रमअन्तर्गत नेपालमा क्रियाशील सबै प्रकारका उद्योग प्रतिष्ठान, व्यवसाय तथा इन्टरप्राइजहरुको आर्थिक तथ्यांक संकलन गरिनेछ । यसका लागि गणकहरु घर–घरमै र उद्योग प्रतिष्ठान तथा व्यवसायस्थलमै पुगेर विवरण संकलन तथा प्रश्नावली भर्नेछन् । 

यसका लागि गणकले रजिष्टर वा स्मार्टफोन, ट्याब्लेट उपयोग गर्ने सक्ने कार्यालय प्रमुख रिजालले जानकारी दिइन् । इलेक्ट्रोनिक ग्याजेट प्रयोग गर्ने गणकको डिभाइसमा आर्थिक गणनाको एप्स डाउनलोड गरिनेछ । 

आर्थिक गणनाअन्तर्गत कुनै एक निश्चित स्थानमा आर्थिक क्रियाकलाप गर्ने उद्देश्यले सञ्चालित साना तथा ठूला व्यवसाय एवम् प्रतिष्ठानहरुको गणना गरिने पनि उनले बताइन् ।

गुणस्तरयुक्त आर्थिक तथ्याङ्कको अभावमा सही आर्थिक नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न कठिनाइ भइरहेको महसुस गर्दै राष्ट्रिय योजना आयोगले यस्तो गणना गर्न लागेको हो । 

‘भरपर्दो र गुणस्तरीय आर्थिक तथ्याङ्कहरुको नियमित आपूर्ति हुने तथ्याङ्क प्रणालीको पूर्वाधार तयार गर्नु नितान्त आवश्यक देखिएकोले राष्ट्रिय आर्थिक गणना गर्ने कार्यक्रम सञ्चालन गरिएको’ तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले उल्लेख गरेका छन् । 

प्रतिकृया दिनुहोस