चैत मसान्तभित्र प्रदेश १ सरकारले बजेट ल्याउने


अनलाइन, प्रकाशित मिति : २०७४ ,चैत्र , २० 14:19:27

33409-20180403141927.jpg

तेह्रथुम l प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले चैत मसान्तभित्र प्रदेश सरकारले बजेट ल्याउने बताएका छन् । त्यसका लागि अहिले बजेट निर्माणको काम चलिरहेको उनले बताए ।  

प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रका समस्यालाई सम्बोधन गर्ने गरी बजेट निर्माण भैरहेको राईले बताए।

चालु आवको ३ महिनामा खर्च गर्ने गरी प्रदेश सरकारले १ अर्ब २ करोड रुपैंयाको सीमा भित्र रहेर बजेट ल्याउने मुख्यमन्त्री राईले बताए। आवश्यकता र योजना माग धेरै भएको र बजेट सीमा थोरै भएकाले सबै योजनामा बजेट पुर्‍याउन समस्या भएको उनको भनाई छ।

मुख्यमन्त्री राई तेह्रथुमलाई पुर्ण साक्षर जिल्ला घोषणा गर्न म्याङलुङ आएका हुन्। जिल्लामा ९६ प्रतिशत जनसंख्या साक्षर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

प्रदेश सरकारले ७ सय ६२ मेघावाट क्षमताको तमोर जलाशययुक्त आयोजनालाई बहुउद्देशीय आयोजनाको रुपमा विकास गर्न प्रक्रिया अघि बढाएको बताएकाे बताउदै हवाई मैदान नभएका जिल्लामा सम्भाव्यता अध्ययन गर्न समेत प्रदेश सरकार लागेको उनले बताए।

मुख्यमन्त्री राईले प्रदेश सरकारले पुर्णता नपाउनुमा गठबन्धन दलभित्र कुनै समस्या नभएको दाबी गरे।

स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिदै राईले कर्मचारीहरुको पुरानो केन्द्रीकृत सोच र मानसिकताका कारण जनताका काम गर्न समस्या भएको बताए। उनले जिल्लाका कार्यालय प्रमुखहरुलाई समेत निर्देशन दिएका थिए। संघियता कार्यान्वयनमा कर्मचारीको ठुलो हात हुने भन्दै उनले जनताका सेवामा लाग्न कर्मचारीलाई निर्देशन दिए।

प्रतिकृया दिनुहोस