द्वन्द्वपीडित अनुपा राईको शरीरमा भएको बारुदको छर्रा बीएण्डसी अस्पतालले बिनाशुल्क निकालिदिने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १९ 20:51:16

33390-20180402205116.png

विर्तामोडः झापा विर्तामोडको बीएण्डसी शिक्षण अस्पतालले द्वन्द्वपीडित महिलाको निशुल्क उपचार गरिदिने घोषणा गरेको छ । सोमवार पत्रकार सम्मेलन गरी अस्पताल प्रशासनले द्वन्द्वमा घाइते भएकाहरुको उपचार निशुल्क गरिदिने घोषणा गरेको हो ।

यसअघि पनि सो अस्पतालले आर्थिक रुपमा कमजोर बिरामीको निशुल्क उपचार गरेको थियो । पहिलो पटक द्वन्द्वपीडित अनुपा राईको निशुल्क शल्यक्रिया गर्ने तयारी भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।

‘द्वन्द्वपीडित घाइतेको उपचार गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, कार्यकारी निर्देशक प्रसाईले पत्रकार सम्मेलनमा भने, घाउमा मलमपट्टी लगाउने प्रयासमा छौँ ।

यसका लागि सबैको साथ र समर्थन चाहिन्छ ।’ प्रसाईले राईको उपचारका विषयमा माओवादी केन्द्रका अध्यक्ष र उच्चस्तरीय नेतालाई पनि अवगत गराइएको र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको बताए ।

पाँचथरको हिलिहाङ गाउँपालिका–७ की ३२ वर्षीया राई द्वन्द्वकालकी घाइते हुन् । माओवादी पूर्व लडाकु राईको शरीरमा गोलीका छर्रा छन् । उपचारमा पार्टीले समेत वेवास्ता गरेको र कुनै राहत नपाएको विषयमा समाचार सार्वजनिक भएपछि बीएण्डसीले उनको उपचारका लागि चासो देखाएको हो ।

आवश्यक उपचारका लागि उनलाई झापा ल्याइएको छ । मंगलवार वरिष्ठ न्युरो सर्जन डा. पंकज नेपालले उनको शल्यक्रिया गर्दैछन् ।

डा. नेपालले राईको दाहिने मस्तिष्कमा रहेको छर्रा शल्यक्रिया गरेर निकालिने बताए । उनका अनुसार राईको घाँटी, फोक्सो र टाउकोमा गरी छ वटा छर्रा छन् ।

अहिलेलाई टाउकोमा रहेको छर्रा मात्रै निकाल्न लागिएको हो । डा. नेपालले राईको अपरेसनका लागि १० घण्टा लामो समय खर्चिनु पर्ने बताए । सामान्यतया राईको उपचारमा पाँच लाख रुपैयाँ खर्च हुन्छ । त्यो सबै खर्च अस्पतालले छुट दिने भएको हो ।

माओवादी लडाकु राई पूर्वका पाँच वटा ठूला आक्रमणमा संलग्न भइन् । तेस्रो आक्रमणका क्रममा उनलाई छर्रा लागेको हो । संखुवासभाको चैनपुरमा भएको भीडन्तमा २०५८ बैशाख १४ गते उनी घाइते भएकी थिइन् ।

आठ कक्षा पढ्दा पढ्दै १४ वर्षको उमेरमा २०५७ मा उनले बन्दुक समाइन् । आफ्नो टाउको र छातीमा बमका छर्रा रहेकाले पोल्ने, झमझमी दुख्ने र कटकटी खाने गरेको राई बताउँछिन् ।

शरीरभरी बमका छर्रा लागेर घाइते भएकी राईलाई माओवादीले मरेको भन्दै जङ्गलमा छाडेर ‘शहीद’ घोषणा गरेको थियो । सात दिनसम्म जङ्गलमा एक्लै बसेकी राई २१ दिनपछि पार्टीको सम्पर्कमा पुगेकी थिइन् । हात र कुममा रहेका छर्रा निकाले पनि आर्थिक अभावले टाउको र छातीमा रहेको छर्रा निकाल्न नसकिएको उनले बताइन् ।

साविक कुहिभिर गाविस–३, ओखलढुङ्गाकी राईले द्वन्द्वकालिन समयमा २०६० सालमा माओवादी पार्टीका कार्यकर्ता हिलिहाङ गाउँपालिका–७, पाँचथरका मनकुमार राईसँग विवाह गरेकी थिइन् ।

द्वन्द्वपछि आफ्नो उपचार र परिवारको जीविकोपार्जनका लागि श्रीमान् पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गएको उनले बताइन् । उनी हाल कक्षा सातमा अध्यननरत एक छोराको साथमा बस्दै आएकी छिन् ।

द्वन्द्वकालीन समयमा सोलुखुम्बु, काभ्रे, सङ्खुवासभा, सिन्धुली र ओखलढुङ्गामा भएका ठूला भिडन्तमा सहभागी भएकी राईले द्वन्द्वपीडितको नाममा हालसम्म आफूले कुनै राहत प्राप्त नगरेको बताइन् ।

तत्कालीन समयमा सेक्सन कमाण्डरसम्मको जिम्मेवारी सम्हालेकी राई पछिल्लो समय माओवादीको स्थानीय कार्यकर्ताका रूपमा सीमित रहेकी छन् ।

प्रतिकृया दिनुहोस