प्रवासी भुजेल समाज युएईको छैटौं वार्षिकोत्सव भव्य
साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १७ 10:31:31
युएई । प्रवासी भुजेल समाज सेवा समिति युएईको छैटौं वार्षिकोत्सव ३० मार्चका दिन आबुधाबीमा सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ युएईका महिला विभाग प्रमुख मनकुमारी सुनवारको प्रमुख आतिथ्यमा केक काटेर गरेकी हुन् ।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार यामबहादुर घर्तीले समाजले आजसम्म गरेका कामरुको बारेमा चर्चा गर्दै आगामी दिनमा अझ प्रभावाकारीरुपले काम गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।
अर्का वक्ता समाजका संस्थापक अध्यक्ष सूर्यबहादुर खवासले भुजेलहरुको आफ्नै संस्कार, संस्कृति, भाषा र मौलिक पहिचानको बारेमा चर्चा गर्दै आउने पुस्तालाई सही पहिचान हस्तान्तरण गर्न सकेनौ भने आउने पुस्ताले माफ नगर्ने बताए।
हाम्रो समाजमा आफूलाई उच्च वर्ग ठान्नेहरुले हाम्रो पहिचान विस १९८१ पछिको हो भन्ने भ्रम सृजना गरी शोषण गर्दै आएको हुँदा अब पनि सचेत नहुने हो भने हाम्रो समुदाय अझै ५० वर्ष पछि धकेलिने बताउदै आफ्नो इतिहास र पहिचानको बारेमा स्पष्ट हुनु पर्नेमा जोड दिए ।
प्रमुख अतिथि सुनवारले आदिवासी जनजातिहरुको पहिचान स्थापित गर्न सबै जातीय समाजसँग हातेमालो गर्दै अघि बढ्ने बताउँदै आगामी दिनहरुमा आफ्नो पहिचानको लडाईमा खरो उत्रन सकोस् भन्दै शुभकामना व्यक्त गरिन् ।
समाजका अध्यक्ष सूर्यबहादुर भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा आमन्त्रित विभिन्न व्यक्तित्वहरुले आफ्ना धारणा राखेका थिए ।
औपचारिक कार्यक्रम पश्चात स्थानीय भुजेल कलाकारहरुको प्रस्तुतिमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।