प्रदेश १ को नाम किरात प्रदेश राख्न माग


अनलाइन, प्रकाशित मिति : २०७४ ,चैत्र , १५ 17:58:54

33289-20180329175854.jpg

मोरङ l किरात राई यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गरेको छ ।

बिहीबार विराटनगरमा समिति अध्यक्ष तिलक राईको नेतृत्वको टोलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीप भण्डारीलाई किरात प्रदेश नामकरणको माग गर्दै ज्ञापन पत्रसहित २५ लाख हस्ताक्षर बुझाएको छ ।

अध्यक्ष राईले आदिमकालदेखि प्रदेश १ लाई आवाद गरेको इतिहास भएको किरात कुनै जाति नभई समुदाय भएको बताए।

‘ऐतिहासिकता, सभ्यता, सांस्कृतिक, भूगोल, जनसंख्या र पहिचानको आधारमा प्रदेश १ लाई किरात प्रदेश कायम गर्नुपर्छ,’ उनले भने, ‘संसारभरिका मानिसहरु आ–आफ्नो पहिचानको लडाइँ लडिरहेको अवस्थामा अहिलेको बद्लिँदो राजनीतिक परिस्थितिमा किरात समुदायको गुमिसकेको पहिचान स्थापित गराउनु सबैको दायित्व हो र यसमा सबैको समर्थन छ त्यसैले किरात प्रदेश नामकरण गरिनुपर्छ।’

मुख्यमन्त्री राईले किरात राई यायोक्खाको माग प्रदेशसभा सदस्यहरुको हातहातमा पुर्‍याएर छलफल गर्ने प्रतिबद्धता जनाए। ‘सबै जातजाति, धर्म, समुदाय, क्षेत्रका मागलाई बहसमा ल्याएर सबैको सहमतिमा प्रदेशको साझा नाम छनौट हुन्छ,’ उनले भने, ‘प्रदेशको नामाकरणमा अझै दुई महिना लाग्न सक्छ।’

किरात राई यायोक्खा समुदायहरुले विराटनगरमा २५ लाख हस्ताक्षरका साथै आ–आफ्ना भेषभुषासमेत प्रदर्शन समेत गरेका थिए।

प्रतिकृया दिनुहोस