भद्रपुरमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर


गंगा बराल, प्रकाशित मिति : २०७४ ,चैत्र , १५ 17:00:47

33283-20180329170047.jpg

भद्रपुर । भद्रपुर नगरपालिका क्षेत्रका सडक सामुदायिक कुकुरको लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बिहीबार शुरु गरिएको यो अभियान सोमबारसम्म चल्नेछ । 

कुकरको टोकाइबाट सर्नसक्ने प्राणघातक रेविज रोग फैलन नदिन कुकुरको संख्यामा कमी ल्याउन बन्ध्याकरण अभियान चलाइएको भद्रपुर नगरपालिकाले जनाएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरको बन्ध्याकरण गरी प्रजनन दर घटाउने उपाय अपनाइएको हो । 

भद्रपुर नगरपालिका पशु सेवा शाखाको आयोजना र जनावरको सुरक्षा–स्वास्थ्य र उद्धारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हिमालयन एनिमल रेस्क्यू ट्रष्ट हार्टको प्राविधिक सहयोगमा सडक सामुदायिक कुकुरको बन्ध्याकरण शुरु गरिएको जिल्ला पशु सेवा कार्यालय झापाका प्रमुख माधव दाहालले जानकारी दिए ।

बिहीबार विहान भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बन्ध्याकरण शिविरको उद्घाटन गर्दै मार्न नपाइने भएपछि सडक सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन रेविजको जोखिम न्यूनीकरण गर्न कुकुरको बन्ध्याकरण नै उत्तम विकल्प भएकोले नगरपालिकाले यो अभियानलाई निरन्तरता दिने बताए । पशु सेवा शाखा प्रमुख कुमारसिंह खत्रीले उद्घाटन कार्यक्रम सञ्चालन गरेका थिए । 

भद्रपुर नगरपालिकामा यसप्रकार कुकुरको बन्ध्याकरण शिविर आयोजना गरिएको यो तेस्रो पटक हो । यसपटक पाँच दिनमा २०० कुकुरको बन्ध्याकरण गरिने प्राविधिक सहयोग प्रदान गरेको हार्टका संस्थापक सञ्चालक निर्देशक खगेश्वर भट्टराईले जानकारी दिए । 

उनले भद्रपुर रेविजको जोखिममा रहेको नगरपालिका भएका कारण पनि यो नगरलाई प्राथमिकतामा राखिएको बताए । भट्टराईलगायत संस्थाका संस्थापक वेलायती नागरिकहरु बारबरा वेब र जिम पियर्सनसमेत १३ जनाको प्राविधिक टोली यस कार्यमा खटिएका छन् । 

दैनिक ४० वटा कुकुरको बन्ध्याकरण गरिने लक्ष्य रहेको जनाइएको छ । एउटा कुकुरको बन्ध्याकरण गर्न २० देखि ३० मिनेट समय लाग्ने उनको भनाई छ । खासगरी छाउरी कुकुरको बन्ध्याकरण गरिनेछ । 

खर्चको हिसाबले एउटा कुकुरको बन्ध्याकरण गर्दा दुई हजार रुपैयाँ पर्न जाने भट्टराई बताउँछन् । ‘मान्छेको जस्तै नै त हो प्रक्रिया, खर्चिलो पनि छ’ भट्टराई भन्छन्– ‘त्यसैले सबै व्यवस्थापन गर्न संस्थाले मात्र सक्दैन, स्थानीय तहले सहयोग पुर्याउनुपर्ने हुन्छ ।’ 

भट्टराईका अनुसार मुलुकबाट रेविज उन्मूलन गर्न कम्तीमा ७० प्रतिशत सामुदायिक कुकरलाई रेविज विरुद्धको खोप लगाएको हुनपर्दछ । विश्वमा सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान शुरु भएकोमा नेपालमा हार्टकै स्थापना भएपछि सन् २०१० बाट बध्याकरण अभियान शुरु भएको हो । 

पोखरा र चितवनमा अभियान सफल भएको जनाउँदै भट्टराईले सन् २०१० देखि २०१७ सम्ममा देशभर १४ हजारभन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको बताए । उनले स्थानीय तहले यसमा सक्रियता देखाउँदा रेविज उन्मूलनमा निकै ठूलो सहयोग पुग्ने बताए ।

प्रतिकृया दिनुहोस