स्वास्थ्यको सूचक निद्रा


अनलाइन, प्रकाशित मिति : २०७४ ,चैत्र , १३ 13:23:21

33226-20180327132321.jpg

मानव शरीरलाई आरामको आवश्यकता पर्छ, जसका लागि नियमित सुत्न या निदाउन जरुरी हुन्छ । मानिसको स्वास्थ्यअनुसार कम वा लामो समय सुत्नुपर्ने हुन्छ । बच्चालाई अलि बढी निदाउनुपर्ने हुन्छ । उमेर बढ्दै गएपछि कम निदाउँदा पनि फरक पर्दैन । स्वस्थ मानिसले दैनिक ६ देखि ८ घन्टा निदाउन जरुरी हुन्छ, नत्र विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ ।

निद्रा नलागे

निद्रा लाग्नका लागि तपाईंले आफ्नो विगतलाई सम्झन सक्नुहुन्छ । सुत्ने समय त्यस्ता पुराना दिनको याद गर्न सक्नुहुन्छ, जसले तपाईंलाई रोमाञ्चित बनाउँछ । बाल्यकालका घटनाहरू पनि सम्झन सक्नुहुन्छ । यसो गर्दा आफू स्वप्न दुनियाँमा सयर गरेजस्तो लाग्छ । जुन सुखद निद्राको कारक बन्न सक्छ । त्यस्तै, एक सयदेखि शून्यसम्म गन्ने गतिविधि पनि गर्न सकिन्छ । यसो गर्दा दिमाग एकत्रित हुन्छ ।

सुत्ने र उठ्ने समयतालिकालाई निश्चित गर्नुपर्छ । यसो गर्दा अनावश्यक निद्रामा असर पर्दैन ।

निद्रा नपर्नुको कारण असुविधाजनक ओछ्यान पनि हुन सक्छ । असुविधाजनक ओछ्यानले शरीर दुख्ने समस्या पनि सिर्जना गर्न सक्छ । त्यसैले सुविधाजनक ओछ्यान बनाएर सुत्ने गरेमा गहिरो निद्रा पर्नुका साथै शरीरको दुखाइ पनि कम हुन सक्छ ।

निद्राका लागि कोठाको वातावरण शान्त रहन पनि जरुरी हुन्छ । त्यसका लागि तपाईंले बेडरुममा भएका सेलफोन, कम्प्युटर, ट्याब्लेट, टिभीका स्क्रिनबाट निस्कने लाइट बन्द गर्न सक्नुहुन्छ ।

यदि तपाईंलाई सडकको हल्ला, सवारीसाधनको आवाजले बाधा पु-याउने गरेको छ भने यसको विकल्पबारे पनि सोच्न सक्नुहुन्छ । यस्ता समस्याबाट छुटकारा पाउन सुत्ने समय आफूलाई मन पर्ने म्युजिक सुन्न सक्नुहुन्छ । जसले तपाईंलाई आराम प्रदान गर्नुका साथै निदाउन सहयोग पुग्छ ।

यदि प्रत्येक रात निद्राका लागि संघर्ष गर्न बाध्य हुनुहुन्छ भने एउटा काम गर्न सक्नुहुन्छ । ओछ्यान पुग्नुभन्दा पहिले चेरीको जुस पिउने गरेमा निद्रा लाग्न सक्छ । विभिन्न अनुसन्धानले भनेको छ कि चेरीमा मेलाटोनिक तत्व हुन्छ, जसले मानिसलाई निदाउन मद्दत गर्छ ।

कतिपयलाई विभिन्न एलर्जीका कारण पनि निद्रामा बाधा उत्पन्न गर्छ । कहिलेकाहीँ गर्मी वा अन्य वातावरणीय कारणले पनि निद्रा नलाग्न सक्छ । यदि यस्तो हो भने कागती काटेर ओछ्यानको छेउमा राख्न सक्नुहुन्छ । यसो गर्दा कोठालाई सुगन्धयुक्त बनाउनुका साथै स्वस्थ श्वासप्रश्वासका लागि पनि भूमिका खेल्छ । जसले आरामदायी निद्रा लाग्न सहयोग पु-याउँछ ।

सुत्नुअघि खानुस्

बेलुकीको खानासँगै एक गिलास दूध पनि खानुभयो भने तपाईंको निद्रा सुखद बन्न सक्छ । वैज्ञानिकहरूका अनुसार दूधमा भएको प्रोटिन, ट्रिप्टोफेकले शरीरमा ब्लाक्सको निर्माण गर्छ र यसले राम्रो निद्रा पर्नका लागि मद्दत गर्छ । दूधले दिमागलाई शान्त राख्ने पनि काम गर्छ ।

महका अनेक फाइदा छन् । त्यसमध्ये निद्रा पर्नका लागि महले पनि ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ । सुत्नुअघि मह खाएपछि शरीरमा एन्टिब्याक्टेरियल, एन्टिफङ्गल र एन्टिअक्सिडेसन उत्पन्न हुन्छ, जसले गहिरो निद्रा पार्न भूमिका खेल्छ ।

बदामले फ्याट, अमिनो एसिड र म्याग्नेसियम प्रदान गर्दछ । जसले निद्रालाई आनन्ददायी बनाउन भूमिका खेल्छ । सुत्नुअघि एक गिलास दूधमा बदाम मिसाएर खाएमा अझ बढी फाइदाजनक हुन्छ ।

केरामा भएको कार्बोहाइड्रेडले ट्रिप्टोफेन बनाउन सहयोग गर्छ । जुन तत्व निद्रा पर्नका लागि उपयुक्त हुन्छ । त्यसैले सुत्नुअघि केरा खाँदा फाइदाजनक हुन्छ ।

कम सुत्दा मोटोपना

धेरैलाई लाग्न सक्छ, लामो समय सुत्दा मोटाउने समस्या हुन्छ । तर, एक अनुसन्धानले यस्तो देखाएको छ कि कम सुत्दा पनि मोटाउने र तौल बढ्ने समस्या हुन्छ ।

व्यस्त दैनिकीका कारण धेरै मानिसले सुत्ने समयलाई कटौती गरिरहेका हुन्छन् । यतिसम्म कि सुताइ र शारीरिक व्यायाम नेपालीको निकै कम प्रथामिकतामा परेको हुन्छ । तर, कम सुत्दा मोटाउनुका साथसाथै खतरनाक रोगको सिकार हुनुपर्नेसमेत अनुसन्धानले देखाएको छ । कतिपय मानिसले काम सकेर छुट्टीमा लामो समय सुत्ने योजना बनाएका हुन्छन् । यस्तो बानी पनि स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

अनुसन्धानका अनुसार कम निदाउने बानीले मोटोपनका साथै इन्सुलिन बढाउने खतरा पनि बढी हुन्छ । यसले नशाको जस्तो लत लगाएर त्यसको असर मेटाबोलिक सिस्टममा पर्न सक्छ । अझ विशेषगरी महिलाले त कम सुत्ने बानी गर्नैहुँदैन । उनीहरूले न्यूनतम पनि दिनको सात घन्टा सुत्नैपर्छ । जुन महिला कम सुत्ने गर्छन्, उनीहरूलाई ज्यादा भोक लाग्ने हुन्छ ।

यस्तो अवस्थामा ग्रेलिन हर्मोनको स्तर वृद्धि हुन जान्छ । परिणामतः शरीरको तौल वृद्धि हुन पुग्छ । अनुसन्धानले भन्छ कि रातको समयमा बेचैन भएमा मानिस दुब्लाउनुको सट्टा मोटाउँछ । मोटोपनले मधुमेह र उच्च रक्तचाप, डायबिटिजजस्ता रोग निम्त्याउँछ । त्यसैले हरेक दिन समयमै सुत्ने र उठ्ने बानी बसाल्नु उत्तम हुन्छ ।

अनिद्राले डिप्रेसन

अमेरिकामा भएको एउटा अनुसन्धानले देखाएको छ कि अनिद्रा बस्दा डिप्रेसनको खतरा बढ्दै जान्छ । अमेरिकी पिट्सबर्ग विश्वविद्यालयका पिटर फ्रेन्जेनको अगुवाइमा भएको अनुसन्धानबाट अनिद्राले मानिसको दिमागमा असर पु-याउने तथ्य पत्ता लगाएको हो ।

राति अबेरसम्म जाग्राम बस्दा मनमा नकारात्मक भावनाको विकास हुने र मानिस डिप्रेसनको अवस्थासम्म पुग्ने अनुसन्धानबाट निष्कर्ष निस्केको छ ।

लामो समय अनिद्रा बस्दा मस्तिष्कमा भएको पुटामेनमा प्रभाव पर्ने गर्छ । पुटामेनले मानिसको लक्ष्यअनुरूप गतिविधि गर्ने र सिक्नका लागि भूमिका खेल्ने गर्दछ । निद्राको कमीले मस्तिष्कको सिक्ने, शान्त रहने, उत्प्रेरित हुने प्रक्रिया पनि कमजोर हुँदै जान्छ ।

प्रतिकृया दिनुहोस